सुखानी शहीद सहादत स्थलको विकासका लागि प्रतिबद्धता

0
1452

विमल दहाल / माई।

दक्षिणी इलामको माई नगरपालिका–४ मा रहेको सुखानी शहीद सहादत स्थलको विकासका लागि सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन् । विकासको कार्यमा ओझेलमा परेको इलामको सुखानीलाई भौतिक तथा पर्यटकीय क्षेत्रका रुपमा थप विकासका लागि सरोकारवालाहरुले प्रतिबद्धता जनाएका हुन् ।

युवा संघ नेपाल र सुखानी शहीद सहादत स्थल समितिकोे संयोजनमा भेला भएका सरोकारवालाहरुले २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायती शासकहरुले झापा कारागारबाट इलाम जेल सार्ने क्रममा हत्या गरिएका पाँच शहीदहरु नेत्र घिमिरे, रामनाथ दहाल, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र बिरेन राजवंशीको सहादत स्थललाई ऐतिहासिक क्षेत्रका रुपमा विकास गर्न प्रतिबद्धता जनाएका हुन् ।

इलामका प्रदेश सांसद काजीमान कागतेको प्रमुख आतिथ्यमा भएको अन्तरक्रियामा माई नगरपालिकाका प्रमुख दीपककुमार थेवे, उपप्रमुख बिष्णुमाया आचार्य लगायतको सहभागिता रहेको थियोे । सुखानी इलामको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र हो, तर इलामको क्षेत्र भए पनि झापाले सुखानीको नाममा अन्यत्रै विकास गर्ने गरेको स्थानीयको आरोप छ ।
‘सुखानी हाम्रो क्षेत्र हो, तर पहुँच भएका नेता कार्यकर्ताले सुखानीको नाममा अन्यत्र विकासका नाममा खर्च गर्ने गरेकाले सुखानी ओझेलमा परेको छ’ –युवा संघ नेपाल माईका अध्यक्ष कुमार लिम्बूले भने । सुखानी शहीद सहादत स्थल विकास समितिका अध्यक्ष महेन्द्र बुढाथोकीले शहीदको मुख्य सहादत स्थलमा थप विकास गर्न नसकेकोमा चिन्ता ब्यक्त गरे । आएको योजनाहरु समेत झापाले अन्यत्रै खर्च गर्ने गरेकाले सुखानीको विकास गर्न सोचे जस्तो नसकिएको बुढाथोकीले जानकारी दिए । सुखानी शहीद प्रतिष्ठानका नाममा झापाको अर्जुनधारा सालबाडीमा पर्यटकीय क्षेत्रका रुपमा ठूलो फड्को मारीसकेको छ । तर, सुखानी सहादत स्थल इलाममा भने हालसम्म विकासको आधारभूत कार्य हुन सकेको छैन ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसद काजीमान कागतेले स्थानीयको जिज्ञासा अनुसार सुखानीलाई विकास गर्ने गरी प्रदेशमा कुरा गरिने र माईकै जनतालाई विकासमा सहभागी गराइने प्रतिबद्धता व्यक्त गरे । सुखानीका जनताले गरेका प्रस्तावलाई पूरा गर्न आफू लागीपर्ने सांसद कागतेले बताए ।

माईका प्रमुख दीपककुमार थेबेले सुखानीको विकासका लागि आएका नौ वटा प्रस्तावहरु पूरा गर्ने प्रतिबद्धता गरे । प्रमुख थेवेले सुखानी सहादत स्थलको पूर्वाधार विकासका लागि चाडै डिपीआर गरिने, भूमि व्यवस्थापन आयोग मार्फत सुखानी लगायत माईका १२ बर्षदेखि जमिन उपभोग गर्दै आइरहेका बासिन्दालाई धनीपूर्जा प्रदान गर्न शुरु गरिने, सुखानीखोला लगायत भू–क्षय रहेका स्थानमा तटबन्ध गरिने, खानेपानीलाई व्यवस्थित गर्ने, सुखानीमा मोबाइल नेटवर्कका लागि कार्य गर्ने र सुखानी खोलामा पुलको व्यवस्थापन गर्ने लगायतका कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै उपप्रमुख बिष्णुमाया आचार्यले सुखानी शहीद सहादत स्थल समितिले ल्याएका सबै प्रस्ताव जायज रहेकाले माईको विकासको आधार सुखानीलाई मानेर काम गरिने बताइन् । कार्यक्रममा नेकपा माईका सचिव हेम लायो मगर, माई–४ का वडाध्यक्ष सूर्यप्रसाद दुलाल लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here