औषधिमा एसएसबीको अवरोध

0
836

पार्थ मण्डल
भद्रपुर । नेपाल–भारत सीमा विवाद बल्झिरहेको बेला झापाको भद्रपुर–गलगलिया नाकामा तैनाथ भारतीय सीमा सुरक्षा बल ४१ नम्बर बटालियन (एसएसबी)ले नेपाली नागरिकलाई फेरि दुःख दिन थालेका छन् ।

भारतीय एसएसबीले अति आवश्यक सामानमाथि आफूखुसी रोक लगाएपछि नेपाली नागरिकले कोरोना भाइरसको महामारीको बेला थप हैरानी बेहोर्नु परेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण बिगत पाँच महिनादेखि नेपाल–भारत सीमा नाका बन्द छ । सीमा नाकाबाट कुनै पनि व्यक्तिलाई आवतजावत गर्न दिइएको छैन । तर, भारतबाट नेपाल भित्र्याउने सरसामान भने भन्सार तिरेर ल्याउन दिइएको छ ।

भन्सार तिरेर सरसामान ल्याउन दिने भारतीय एसएसबीले अतिआवश्यक सामान औषधि, कागजपत्र, पैसा ल्याउन र लैजान भने रोक लगाएको छ । बिगत एक साताअघिसम्म दुवै देशका सुरक्षाकर्मीको सहकार्यमा नेपाली नागरिकले औषधि, कागजपत्र ल्याउन र पठाउन पाइरहेका थिए । जबदेखि भारतीय एसएसबीको भातगाँउ इञ्चार्ज इन्स्पेक्टर रवि कुमारको सरुवा भयो र नयाँ इञ्चार्ज असिस्टेन्ट कमाण्डर हरजित रे आए उनकै आदेशमा सीमामा तैनाथ एसएसबीले औषधिमाथि रोक लगाएको बताइएको छ । यसबाट औषधि सेवन गरिरहेका नेपालीहरु पीडित बनेका छन् ।

सीमाका बजार क्षेत्रका अधिकांश नेपाली नागरिक भारतीय औषधिमा निर्भर छन् । चिकित्सकले विरामीका लागि सिफारिस गरिएको कतिपय औषधि नेपालमा नपाउँदा यस्तो समस्या उत्पन्न भएको हो । त्यसलाई मध्यनजर गरी नेपाल र भारतका सुरक्षाकर्मीले औषधि ल्याउन वातावरण बनाएका थिए । तर, एसएसबीका एसी हरिजत रे आएपछि उनले नेपालका सुरक्षाकर्मीको कुरा पनि सुन्न चाहँदैनन् । उनले माथिको आदेश भन्दै नेपाली नागरिकलाई सीमाबाटै औषधि नदिई फर्काइरहेका छन् । औषधि लिन शुक्रवार दिउँसो सीमा नाका पुगेका नेपाली नागरिक गौतम सोनारलाई एसएसबीले फर्काइदिएका छन् । भारतीय चिनजानका व्यक्ति औषधि लिएर सीमा नजिकै आइपुगे पनि उनले औषधि लिन नपाएको दुखेसो पोखे । उनले भने– अहिलेसम्म हामीले औषधि पाइरहेका थियांै, खै आज एसएसबीलाई के भयो हुँदैन भन्दै पठाइदियो । उनी मात्र होइन अहिले भारतबाट मगाउने औषधि अधिकांश नेपाली नागरिकले पाउन सकेका छैनन् । यस विषयमा प्रदेश सांसद ओमप्रकाश सरावगीले पनि चासो देखाएका छन् ।

नेपाल–भारत मैत्री संघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका सरावगीले एसएसबीले औषधि ल्याउन किन रोक लगाएको भन्दै उनले वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीलाई पनि सोधपुछ गरेका थिए । एसएसबीले एक्कासी औषधि ल्याउन रोक लगाएको हो– वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक पुरीले भने– अस्तिसम्म औषधि ल्याउन दिइरहेको थियो । यस विषयमा एसएसबीका एसी हरजित रेसँग कुरा गर्दा उनले स्पष्ट कुरा भन्न चाहेनन् ।’

नेपाल भारतको सन्धि विपरीत एसएसबीले आफूखुशी औषधिमाथि रोक लगाउनु नेपाली नागरिकलाई दुःख दिन खोजेको स्थानीयबासीहरु बताउँछन् । एक स्थानीयले भने– ‘औषधि एउटा बहाना मात्र हो, केही दिनअघि मरिमराउमा भारतबाट आउन खोजेका व्यक्तिलाई नेपाली सुरक्षाकमीले प्रवेश गर्न नदिएपछि त्यसैको निहुँ पारेर एसएसबीले नेपाली जनतालाई सास्ती दिएको हो ।’ ‘एसएसबीले नियम कानून मिचेर नेपाली नागरिकमाथि अन्याय गर्न थालेको हो’– उनले थपे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here