पुष्पा लिम्बू / अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० कालीझोडा प्रबेश गर्ने प्रगति सामुदायिक वन हाताभित्र पर्ने यो बाटो अव सेल्फी जोनमा परीणत हुने भएको छ ।
पूर्व–पश्चिम राजमार्ग देखि उत्तरपट्टि जंगल हुँदै वन कार्यालयसम्म करिव एक किलोमिटर सडकखण्ड सेल्फी जोन का रुपमा बिकास हुने भएको हो । यसका लागि बाटोको छेउमा सोमबार १० वटा फलामको बेञ्च राखिएको छ ।

चाँडै बाटोको छेउमा बिभिन्न किसिमका फुल फुल्ने रुखका बिरुवा लगाइने स्थानीय खगेन्द्र सुबेदी बताउँछन् । त्यस्तै सुन्दर देखिने उक्त सडक, कालीका युथमा आवद्ध युवाहरुको सक्रियतामा भईरहने सरसफाई पछि अझ मनमोहक देखिएको छ ।
केहि समयअघि यहाँका स्थानीयले घरबाट निस्कने नसड्ने किसिमका फोहोरहरु जंगल लिएर फाल्ने गर्दथे । तर, युवाहरुले फोहोर फाल्न नपाईने बोर्ड टाँसी निगरानी बढाएपछि उक्त गतिबिधि नियन्त्रणमा आएको स्थानीय युवा दिपेन्द्र अछामीको भनाई छ ।

उक्त सडक भएर आवतजावत गर्ने मानीसहरु एकैछिन रोकिएर थकाई मार्ने गर्दछन् भने मेचीनगर ,अर्जुनधारा, बिर्तामोड लगायतका स्थानका मानिसहरु आएर सेल्फी खिच्ने , टिकटक , भिडियो बनाईरहेको दृश्यहरु देख्न सकिने स्थानीयको भनाई छ ।































