नेकपामा जनवादी केन्द्रीयता सम्झाउने आचारसंहिता

0
1514


सत्तासीन नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी आदर्श र लेनिनवादी संगठनात्मक सिद्धान्तमा विश्वास गर्छ । माक्र्सवादी लेनिनवादी मार्गदर्शनमा आबद्ध संसारभरका कम्युनिस्टहरु आदर्श र अनुशासनलाई कम्युनिस्ट पार्टीको कार्यकर्ता र नेता हुनका लागि अनिवार्य आधारका रूपमा लिन्छन् । सर्वसाधारण तथा सचेत मानिसहरू पनि नैतिकता र अनुशासन भनेको कम्युनिस्टलाई मात्र लागू हुने र अन्यका लागि होलो खुकुलो हुने झैं कुरा गर्छन् । नियतवश वा अञ्जानमै कुनै कमजोरी भएमा कम्युनिस्ट पार्टीको सदस्य कडा आलोचना र प्रश्नको सामना गर्ने अवस्थामा पुग्छ र उसको पार्टी जीवन समाप्त हुन सक्छ ।

अनुशासनको डण्डाले तीन–चार दशकदेखि कै भए पनि पार्टीमा गरेको लगानी र शिक्षा आर्जन छोडेर, व्यापार व्यवसाय, इलम छोडेर पूर्णकालीन कार्यकर्ता भएर गरेको समर्पण र त्याग निमेषभरमा समाप्त हुन्छ । विश्व कम्युनिस्ट आन्दोलन र नेपालका कम्युनिस्ट पार्टीभित्र पटक–पटक आर्थिक अनियमितता, नैतिक विचलन र अनुशासन उल्लंघनका प्रश्न उठाइएका छन् । पार्टीभित्र उठाइने यी र यस्ता अनुशासन र आदर्श नमानेका कुरा आन्तरिक खिचातानी र अस्वस्थ प्रतिस्पर्धाका विषय बनेका सयौं उदाहरण छन् । नेपालमा पनि महिलासँग जोडेर गरिएका विषय वा राजनीतिक विषय जे भए पनि कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले कारवाही भोग्नुपरेको तीतो सत्य घाम झैं छर्लङ्ग छ ।

अनुशासनका डण्डाले नछोएका थोरै नेताहरु मात्र छन् नेपालको कम्युनिष्ट आन्दोलनमा । इमानदार र सादगी छवि बनाएका मोहन वैद्य, बौद्धिक छवि बनाएका डा. बाबुराम भट्टराई, पार्टी संगठन र कार्यकर्ता परिचालनमा कुशल मानिने रामबहादुर थापा (बादल), नेकपा (माले) निर्माणमा सबैभन्दा बढी दुःख गर्ने सीपी मैनाली, पुराना र सबैका गुरु मानिने मोहनविक्रम सिंह, २०४६ सालको पहिलो जनआन्दोलनमा वा मोर्चाका तर्फबाट सतहमा रहेर महत्वपूर्ण भूमिका खेल्ने राधाकृष्ण मैनाली लगायतलाई कुनै न कुनै कसुरमा आ–आफ्ना पार्टीहरुले कारवाही गरेका थिए । कम्युनिष्ट पार्टी बाहेक अन्य पार्टीमा पनि अनुशासनका कारवाही नभएका होइनन् ।

नेपाली कांग्रेसले आफ्नै पार्टी सभापति मातृकाप्रसाद कोइरालालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरेको थियो । नेकपा एमालेको पूर्व रुप नेकपा (माले) पनि अनुशासन पालनामा निकै कडा मानिन्थ्यो । नेकपा (माले)को २०४६ साल भदौमा चौथो राष्ट्रिय महाधिवेशनपछि माओवाद÷माओ विचारधारालाई पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट हटाउने र बहुदलीयतालाई स्वीकार्ने काम गरेपछि अनुशासन र स्वतन्त्रतामा सहजता आएको महसुस गरिएको थियो । बीचमा जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादको आलोकमा कम्युनिष्ट हुनु भनेको व्यक्तिगत स्वतन्त्रताको उपभोग गर्ने र सामुहिक रुपमा स्वतन्त्रता अभिव्यक्त नहुने भ्रान्त धारणाबाट कम्युनिष्ट कार्यकर्ताहरु अभिषप्त हुन पुगे । वास्तवमा समाजबाट अलग्गै र ऐतिहासिक प्रवाहबाट पृथक व्यक्तिगत स्वतन्त्रता हुँदैन र सामन्तवादी र पुँजीवादी दर्शनको नचाएरै परिएको परोक्ष चेपाइमा समाजका अगुवाका रुपमा रहेका कम्युनिष्ट पार्टीका कार्यकर्ता र नेताहरु परे । कार्यकर्ताले आफूलाई जनताबाट अलग र बढी जान्नेसुन्ने ठाने ।

त्यसैगरी कम्युनिष्ट पार्टीका नेताहरुले आफूलाई कार्यकर्ताभन्दा फरक र जनताभन्दा धेरै सचेत, व्यावहारिक र नेतृत्वमा सर्वश्रेष्ठ माने । लगभग दुईतिहाइको संसदको समर्थनसहितको कम्युनिस्ट सरकार छ नेपालमा यतिबेला । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता–कार्यकर्ता अबदेखि पार्टीको कडा अनुशासनमा बस्नुपर्ने गरी आचारसंहिता आएको छ । नेकपाभित्र पार्टी अनुशासन पालना नभएको भन्दै चर्को आलोचना भइरहेका बेला नेकपाले नेता–कार्यकर्ता लक्षित आचारसंहिता बनाएर लागू गर्न लागेको हो । हालै मात्र जारी नेकपाको पार्टी आचारसंहितामा आफ्ना नेता–कार्यकर्तालाई अनुशासनमा बाँध्न पार्टी कमिटीहरु मार्फत आन्तरिक निर्देशन जारी गर्दै आचारसंहिता कार्यान्वयनमा जोड दिएको छ ।

हाल नेकपाका आठ लाख पार्टी सदस्य रहेका छन् । पार्टी सदस्यता विस्तारको योजना अघि सारेको नेकपाले प्रति सदस्य अरु थप चार जना बनाएर ३२ लाख सदस्य पु¥याउने योजना अघि सारेको छ । त्यस्तै आचारसंहिता कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी सबै पार्टी कमिटीहरुको भएको र आचारसंहितामा कुनै पनि पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानूनलाई निःशर्त पालना गर्ने र कानून बमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्ने भनिएको थियो । त्यसैगरी नेकपाले आफ्ना पार्टी सदस्यहरु जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने र आफूले गरेको श्रमबाट आर्जित कमाइबाटै राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने भनिएको छ । ‘पार्टीलाई आफ्नो कमाइबाट नियमित रुपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्छ’ नेकपाको आचारसंहितामा उल्लेख छ ।

अहिले सरकार नेकपाकै छ । सरकारमा बस्नेले सरकारी खर्चमा मितव्ययिता ल्याउनु पर्ने, सरकारी सम्पत्तिको दुरूपयोग गर्न नहुने र जनपक्षीय काम गर्नुपर्ने आचारसंहिताको मर्म छ । दैनिक भट्ठीमा पस्ने, उम्मेदवारी चयनमा रकम असुल्ने, विभिन्न बहानामा चन्दा लिने, सुरक्षाका नाममा सरकारी रकमबाट प्रहरी राख्न नपाउने, बिलासिता र जिमिन्दारी नेता हुन नहुने, अपराधमा न्यायालयमा विचाराधीन मुद्दा हुँदाहुँदै उच्च तहमा नियुक्ति नगर्ने, बिलासिता गाडी त्याग गर्ने, सरकारी सुबिधा लिनेलाई पार्टीको पदीय जिम्मेवारी नदिने जस्ता आचरण सुधारको नियम लागू गर्न पनि यो आचारसंहिताले सहयोग पु¥याउनेछ ।

जनताको सेवा गर, जनताबाट लेऊ र जनतालाई नै देऊ, अनुमति बिना जनताबाट सियोसम्म पनि नलेऊ लगायतका चिनियाँ नेता माओत्सतुङका ‘रातो किताब’का नियम र अनुशासनका आदर्शबाट हुर्केका नेपालका कम्युनिस्टका लागि न यो आचारसंहिता जारी गर्नु अप्रत्याशित हो न पालना गर्न अनिच्छा देखाउने र सार्वजनिक रुपमा यसकाविरुद्धमा कसैको विमति नै आउला । तर, प्रश्न के हो भने के यो आचारसंहिता लागू होला ? के यो आचारसंहिता माथिल्लो तहसम्म पहुँच नभएका तल्ला तहका कार्यकर्तालाई मात्र हो कि साँच्चै पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य नेताका हकमा पनि लागू हुन्छ ? यो आचारसंहिता दीर्घकालीन महत्वको छ र यो पुरानो पनि हुँदैन । तर, केही समयपछि यसको प्रभाव हराउँदै जाने र इतिहासको गतिमा कतै विलिन हुने त होइन ? अबको मूल प्रश्न कार्यान्वयनको हो ।

यतिबेला फेरि नेकपामा नेता र नेतृत्वलाई रेडियो, टीभी, पत्रपत्रिका अनलाइन जस्ता आमसञ्चारका माध्यममा र फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब जस्ता सामाजिक सूचना सञ्जालमा आलोचना गर्न नपाइने उर्दी गरिएको छ । अहिलेसम्म संसारभरका कम्युनिष्टहरुले गरेका अभ्यासका आधारमा विश्लेषण गर्ने हो यो फरमान स्वभाविक र सामान्य लाग्छ । तर, बिहान र बेलुका अलग–अलग बोली बोल्ने नेताहरुको गुण कार्यकर्तामा सरेको कुरामा दुईमत छैन । ध्वंशात्मक आलोचना अत्यन्तै गलत र विनाशकारी हुन्छ । तर, सृजनात्मक आलोचना त सबैले स्वीकार गर्नु श्रेयस्कर नै हुन्छ । संसारमा कोही पनि मानिस वा कुनै पनि निर्णय आलोचनामुक्त हुन सक्दैन, किनभने संसारका गतिविधिलाई हेर्ने सबैको एउटै दर्शन र धारणा हुँदैन । कार्यकर्ता पनि जिम्मेवार हुन जरुरी हुन्छ । जोसुकै कार्यकर्ताले कहिलेकाहीँ नेतृत्वको काम गर्नुपर्ने हुन सक्छ र उनले यो काम गरिरहेको हुनु धेरै सम्भव छ । तसर्थ, नेतृत्वको काम सबै स्तरका नेतृत्वदायी कार्यकर्ताहरुसित सम्बन्धित काम हो ।

प्रत्येकले गर्ने कामको किसिममा मात्र भिन्नता छ, तर नेता र अनुयायीहरुको माझमा कुनै भिन्नता छैन, कार्यकर्ता र गैर–कार्यकर्ताको माझमा त झन् कम भिन्नता पाइन्छ । ती कार्यकर्ता जसले माथिल्लो तहको नेतृत्वको जिम्मेदारी प्रत्यक्ष रुपमा बहन गरिरहेका छैनन्, तर पनि उनीहरु वास्तवमा नेता हुन् । नेतृत्वदायी कार्यकर्ताहरुले आफूले गर्ने प्रत्येक काममा पार्टीको दृष्टिकोणलाई आधार बनाउनुपर्छ । दरो माक्र्सवादी–लेनिनवादी विश्व–दृष्टिकोण र जीवनबारे क्रान्तिकारी दृष्टिकोण, सिद्धान्तप्रति निष्ठा, जनताको तागतमा आस्था, अध्ययन प्रति समर्पण, दरो जुझारु भावना, अनुशासनको उच्च भावना आदि गुणहरुलाई नेतृत्वका गुणका रुपमा कम्युनिष्टहरुले मान्छन् ।

नेता र नेतृत्वले खास समयमा खास ठाउँका विशेषताहरुलाई पत्ता लाएर, स्थितिको मूल्यांकन गर्नुपर्छ र सम्भव परिवर्तनहरुको पूर्व जानकारी राख्नुपर्छ । उनीहरुले यो सबैलाई पार्टीको सामान्य अभिभारासित सम्बन्धित पार्नुपर्छ र खास अवधिका लागि अभिभारा र नीति निर्धारित गर्नुपर्छ । सो नीति अनुरुप उनीहरुले विद्यमान स्थितिसित मिल्दा नारा र कार्यनीति बनाउनुपर्छ । अनि उनीहरुले यथार्थवादी योजना तथा निर्देशनहरुको तर्जुमा गर्नुपर्छ । उनीहरुले वास्तविक स्थितिको गहन अनुसन्धान र अध्ययन गरेर यी सारा कामहरु गर्नुपर्छ र परिणामलाई पार्टी विचार र सिद्धान्तहरुसित गाँस्नुपर्छ । नेताहरुले जनसाधारणसित घनिष्ठ सम्बन्ध कायम गर्नुपर्छ र नेता र जनसाधारण दुबैबाट प्राप्त गरिएको अनुभवलाई संयोजित गरिनुपर्छ । यसरी मात्र सही नेतृत्व हुन सक्छ । सत्तारूढ नेकपा यतिबेला योजना सुनाउने होइन राम्रा नीति–नियम, कानून र योजना बनाउने र जनताको साथ लिएर ती सबै योजना लागू गर्ने ठाउँमा छ । तसर्थ, यो नियम आम कार्यकर्तालाई मात्र नभएर नेता र नेतृत्वलाई पनि लाग्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here