सामाजिक सुरक्षाभत्ता दुरुपयोग हुन नदिन साकेलाको अभियान

0
884

खोटाङ,

साकेला गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता वितरणमा यसअघि हुँदै आएको अनियमितता रोक्न अभियान शुरु गरेको छ । मृत्यु भएका, बसाइँ सरेका, दोहोरो सुविधा लिएका वा अन्य व्यक्तिको नाममा गलत कागजात तयार गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको पाएपछि यसअघि हुँदै आएको अनियमितता रोक्न गाउँपालिकाले अभियान शुरु गरेको हो ।

यसअघिसम्म नक्कली कागजात बनाएर सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता गरेको पाइएपछि त्यसलाई रोक्न अभियान थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताउनुभयो । “मृत्यु भइसकेका व्यक्तिको नाममा, एउटै व्यक्तिको नाम दोहोर्याएर, एउटै नागरिकता नम्बर देखाएर र एउटै जन्म मिति उल्लेख गरेर सामाजिक सुरक्षाभत्ता दुरुपयोग गरेको पाइयो”, उहाँले भन्नुभयो, “आगामी दिनमा यस्तो हुन नदिन दावी विरोधका लागि १५ दिने सूचना जारी गरिएको छ ।”

गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमार्फत पाँच वटै वडाका सामाजिक सुरक्षाभत्ता पाउने एक हजार २१४ व्यक्तिको नामावली सार्वजनिक गरेको छ । दावी विरोधका लागि वडा नम्बर–१ बाँझेच्यानडाँडाका ३५५ जना, वडा नम्बर–२ रतन्छाका २९८ जना, वडा नम्बर–३ खिदिमाका १२७ जना, वडा नम्बर–४ मात्तिमका २५९ जना र वडा नम्बर–५ मात्तिमका १७५ जनाको नामावली सार्वजनिक गरिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईले जानकारी दिनुभयो ।

प्रथम चौमासिकमा (साउन–कातिक) कुल रु एक करोड १९ लाख ३६ हजार सामाजिक सुरक्षाभत्ता निकासा गरिएको गाउँपालिकाले जनाएको छ । अघिल्लो चौमासिकमा रु एक करोड ६५ लाख सामाजिक सुरक्षा भत्ता वितरण भएकामा ‘नक्कली व्यक्ति’को नाम कटाउन थालेपछि यो चौमासिकमा रु एक करोड १९ लाख ३६ हजारमा झरेको लेखा शाखाका प्रमुख उत्तम आचार्यले बताउनुभयो ।

दावी विरोधपछि सामाजिक सुरक्षाभत्ता पाउने वास्तविक व्यक्तिको निक्र्योल हुने र सामाजिक सुरक्षाभत्ताको मात्रा थप घट्ने सम्भावना रहेको गाउँपालिकाले जनाएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा त्रुटि देखिएपछि लगत कटाउँदा वडा नम्बर–१ बाँझेच्यानडाँडामा ४४ लाख वितरण हुने गरेकामा रु ३६ लाख ५७ हजारमा झारिएको छ ।

यस्तै वडा नम्बर–४ मात्तिममा रु ४२ लाख वितरण हुने गरेकामा हाल रु २१ लाख २० हजार, वडा नम्बर–५ मात्तिममा रु ३७ लाख वितरण हुने गरेकामा हाल रु १९ लाखमा झारिएको छ । अन्य वडाको तुलनामा वडा नम्बर–२ रतन्छा र वडा नम्बर–३ खिदिमामा मात्र सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको नामावली यकिन देखिएको पञ्जीकरण शाखा प्रमुख राईले जानकारी दिनुभएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा सामाजिक सुरक्षाभत्ताको नाममा लाखौँ रकम दुरुपयोग हुँदै आएको स्रोतको दाबी छ । यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको थियो ।

स्थानीय बासिन्दाले दिएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त गाउँपालिकाको कागजात नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै कार्यालयमा उजुरी परेपछि अख्तियारले कागजात नियन्त्रणमा लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here