रुख कटानमा मेरो संलग्नता छैन्–प्रदेश सांसद प्रधान

0
905

अर्जुनधारा ।

गएको सोमबार झापाको अर्जुनधारा–११स्थित सुखानी शहीद स्मृति उद्यान परिसरमा सिसौ प्रजातीको तीन वटा रुख काटिएको घटनामा आफ्नो संलग्नता रहेको भेटिए जस्तोसुकै कार्वाही भोग्न आफू तयार रहेको प्रदेश सांसद् वृख प्रधानले बताए ।

उद्यान व्यवस्थापन समितिको बैठक कक्षमा आइतबार आयोजित पत्रकार भेटघाटमा घटना बारे जानकारी गराउने क्रममा सांसद् प्रधानले सो कुरा बताएका हुन् ।

घटनाको विषयमा सत्यतथ्य र विना प्रमाण आफ्नो भनाई समेत नबुझी एकपक्षीय र व्यवसायिक मर्यादालाई पालना नगरी केही मिडियाहरुले आफूमाथि लाञ्छना लगाएको विषयप्रति उनको गम्भिर ध्यानाकर्षण भएको पत्रकार भेटघाटमा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उद्यान परिसरमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा सुकेको रुखहरुका कारण हुनसक्ने क्षतीलाई जोगाउन उद्यान व्यवस्थापन समितिको बैठकमा एजेण्डाकोरुपमा प्रवेश गरेको रुख काट्ने विषयमा मौखिक सहमति भएको हुँदा समितिले उक्त रुखहरु काटेको उनले प्रष्ट पारे ।

घटनालाई अतिरञ्जित बनाएर कोभिड–१९ विरुद्धको लडाईं जित्ने अभियानलाई विषयान्तर गर्न चाहने र नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले केही गर्न सकेन भनेर दुष्प्रचार गर्ने मनसायका साथ उक्त विषयलाई उछालिएको जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी समाजकै ध्यान खिच्ने गरी अफवाह फैलाउँदै आफ्नो चरित्र हत्या गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कार्वाही गर्न प्रशासन समक्ष माग गर्दै उनले यस्तो विषयमा राजनीतिक प्रतिशोध नसाँध्न सबैसँग अनुरोध गरेका छन् ।

यता सुखानी शहीद स्मृति उद्यान व्यवस्थापन समितिका अनुसार परिसरभित्र रहेका सुकेका रुखहरु कटान गर्ने विषयमा अनौपचारीक छलफल भइरहेको अवस्थामा वर्षासँगै आएको हावाहुरीले सुकेको रुखका कारण कछुवा उद्धार तथा संरक्षण केन्द्रलाई क्षतीबाट जोगाउन तत्काल तीन वटा रुख काटिएको जनाएको छ ।

त्यस्तै समितिको गत असोज ८ गते बसेको उद्यान व्यवस्थापन समितिको बैठकले कछुवा उद्धार तथा संरक्षण केन्द्रमा जोखिम अवस्थामा रहेको अन्य सुकेको सिसौ प्रजातीको रुखहरु कटान गर्न आवश्यक प्रक्रिया पूरा गरि पहल गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here