निःशुल्क सिलिण्डर पाउँदा शान्ति सामुदायिक वनका विपन्न उपभोक्ताहरु दंग

0
473

अमित खम्बू / अर्जुनधारा ।

प्रचण्ड गर्मीमा पनि झापाको अर्जुनधारा–२स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहको कार्यालय परिसरमा बिहीबार भेटिएका केशरबहादुर आछामे(८६) हर्षित मुद्रामा देखिन्थे ।

पाँच जना परिवारका मूल अभिभावक उनी हर्षित मुद्रामा देखिनुको एउटै कारण भने समूहले विपन्न उपभोक्ताहरुको लागि गरिबी न्यूनिकरण कार्यक्रममार्फत् उनलाई निःशुल्करुपमा प्रदान गरेको एक थान एलपी ग्याँससहितको सिलिण्डर ।

बुढ्यौलीका कारण राम्रोसँग कुराहरु सुन्न नसकेको उनले समूहले सञ्चालन गरेको उक्त कार्यक्रम भने राम्रो भएको प्रतिक्रिया दिए । केशरबहादुरसँगै अर्की उपभोक्ता फूलमाया रम्तेल(६८)कोे पनि समूहबाट ग्याँससहितको सिलिण्डर पाँउदा खुशीको सीमा थिएन । छ जनाको परिवार रहेको उनी भन्छिन्–“दाउरा काट्न पनि सक्दिन बोक्न पनि सक्दिन,‘अब ग्याँस भएपछी त सिकेर चलाउन सक्छु नि ।”

त्यसैगरी अर्की उपभोक्ता कल्पना सुवेदी(३९) वर्षाको समयमा नदीमा आउने बाढीका कारण जंगलबाट दाउरा ल्याउन जोखिम रहेको अवस्थामा ग्याँसको प्रयोग उत्तम विकल्प भएको बताउँछन् ।वनमा सहजरुपमा दाउरा नपाइने र निम्न आर्थिक अवस्था भएका उपभोक्ताहरुलाई लक्षित गरि समूहले सञ्चालन गरेको उक्त कार्यक्रमको उनले प्रशंसा गरेकी थिइन् ।

विगतमा वनमा दाउरा लिन जाँदाको अप्ठ्यारो अवस्थालाई ग्याँस प्राप्त भएपछी राम्रो भएको उमा मग्राती(२४)ले बताइन् । दाउराको अत्याधिक प्रयोगका कारण वनमा हुन सक्ने विभिन्न जोखिमलाई न्यूनिकरण गर्ने उद्धेश्यले गत आर्थिक वर्षदेखि सुरु गरिएको सो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने समूहका अध्यक्ष तुलसीप्रसाद खतिवडाले बताए ।

“अहिले प्राथमिकताको आधारमा विपन्न उपभोक्ताहरु छनौट गरि सुरु गरेका छौं,‘ पछी सबै उपभोक्ताहरुलाई प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।”–उनले भने । गत आर्थिक वर्षमा गरिबी न्यूनिकरण कार्यक्रममार्फत् ३६ जनालाई सिलिण्डर प्रदान गर्दै सुरु गरिएको उक्त कार्यक्रमको लागि उपभोक्ता छनौट गर्न अघि र सिलिण्डर प्रदान गरेपछी पनि समूहले अनुगमन गर्ने गरेको समूहका वरिष्ठ उपाध्यक्ष रुपनारायण समालले जानकारी दिए ।

त्यसैगरी समूहले आगामी दिनमा सिलिण्डर पाउने तर आवश्यक चुला भने खरिद गर्न नसक्ने अति विपन्न उपभोक्ताको पहिचान गरि चुला पनि प्रदान गर्ने लक्ष्य समूहको रहेको वरिष्ठ उपाध्यक्ष समालले बताए ।

समूहको अध्यक्ष खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा दुई वटा स्थानबाट एक सय जना उपभोक्तालाई तीन लाख १५ हजार रुपैयाँ बराबरको सिलिण्डर वितरण गरिएको थियो । कोभिड–१९को जोखिमबाट जोगिन कार्यक्रम स्थलमा सहभागीहरुलाई मास्क र ह्यान्ड सेनिटाइजरको प्रयोगसँगै भौतिक दुरी कायम गराइएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रघुनाथ खनालले सिलिण्डर प्राप्त गर्नेहरुमध्येका ज्येष्ठ उपभोक्ता केशरबहादुर आछामेलाई सिलिण्डर हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

वरिष्ठ उपाध्यक्ष समालले औचित्यसहित स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर सभा सदस्य राजेन्द्र वाग्ले, सल्लाहकारहरु गोविन्द प्रधान, नरबहादुर साँवा र पूण्यप्रसाद ओझा, सशस्त्र प्रहरी बल खुदुनावरी वेस प्रमुख सई सन्तोष अधिकारीलगायतले उनीहरुलाई सिलिण्डर हस्तान्तरण गरेका थिए । कार्यक्रमको सञ्चालन समूहका सचिव मनकुमारी सञ्जेल र सहसचिव हेमराज आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here