पाँचथर,
पाँचथरका स्थानीय तहले कोभिड–१९ विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण शुरु गरेका छन् । सङ्घीय सरकारको निर्देशनानुसार यहाँका फिदिम नगरपालिका तथा याङवरक, हिलिहाङ, कुम्मायक र फाल्गुनन्द गाउँपालिकाले कोभिड विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् ।

शैक्षिक संस्थामा रहेका क्वारेन्टिनको स्थानान्तरणका लागि उपयुक्त भवन नभेटिएपछि पाँचथरको याङवरक गाउँपालिका६ स्थित परेवाडाँडामा प्रयोगमा नरहेको घरलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्नका लागि विहीबार निरीक्षण गर्दैै जनप्रतिनिधि र सुरक्षा अधिकारी । जिल्ला (कोभिड१९) सङकट व्यवस्थापन केन्द्रको निर्णयानुसार यहाँका शैक्षिक संस्थामा रहेका क्वारेन्टिनलाई स्थानान्तरण गर्ने काम शुरु भएको छ । तर कतिपय स्थानीय तहमा उपयुक्त भवन अभाव हुनेगरेको छ । विदेश र उच्च सङक्रमण भएको क्षेत्रबाट आएकालाई क्वारेन्टिनमा राखिने भएको छ । तस्बीर – रबीन्द्र काफ्ले
जिल्ला सदरमुकामसमेत रहेको फिदिम नगरपालिकाले यहाँका तीन वटा अस्पताल तथा फिदिमस्थित अगुवा स्रोत केन्द्रको भवनमा आइसोलेसन सञ्चालन गरिरहेको छ । सदरमुकाम बाहिरका अन्य स्थानीय तहले समेत चाड पर्वसँगै कोभिड–१९ सङ्क्रमण फैलने आँकलन गर्दै विशेष अस्पताल र आइसोलेसन केन्द्र निर्माण थालेका हुन् । स्थानीय तहमा चिकित्सक नियुक्तिको प्रक्रियासमेत शुरु भएको बताइएको छ ।
हिलिहाङ गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा १० श्ययाको आइसोलेसन र जोरपोखरीस्थित सामुदायिक भवनमा २० श्ययाको क्वारेन्टिन निर्माण थालिएको छ । गाउँपालिका अध्यक्ष भुवानीप्रसाद लिङ्देनका अनुसार यसअघि क्वारेन्टिनको रुपमा रहेको स्वास्थ्य केन्द्रलाई आइसोलेसनमा परिणत गर्ने कार्य शुरु भएको हो । यस्तै गाउँपालिकाभित्रका तीन वटा विद्यालयमा रहेका क्वारेन्टिनलाई हिलिहाङ–५ स्थित सामुदायिक भवनमा स्थानान्तरणका लागि संरचना निर्माण भइरहेको छ । हिलिहाङको क्वारेन्टिनलाई फालेलुङ गाउँपालिकाले समेत प्रयोग गर्ने भएको छ । उत्तरी याङवरक गाउँपालिकाले याङवरक–४ थर्पू बजार नजिकै रहेको सामुदायिक भवनलाई कोभिड विशेष अस्पतालका रुपमा निर्माण थालेको छ । “एक सातामा अस्पताल निर्माणको कार्य पूरा हुन्छ”, गाउँपालिकाकी उपाध्यक्ष कमलकुमारी योङहाङले भन्नुभयो, “चिकित्सक नियुक्तिको प्रक्रिया पनि अगाडि बढिसकेको छ ।
” गाउँपालिकाले विद्यालयमा रहेका क्वारेन्टिन हटाउन उपयुक्त स्थानको खोजी गरिरहेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो । प्रशस्त संरचना नरहेकाले व्यक्तिका घरभाडामा लिएर भए पनि क्वारेन्टिन निर्माण अघि बढाइने योजना रहेको घिमिरेको भनाइ छ । दक्षिणी कुम्मायक गाउँपालिकाले कुम्मायक–१ स्थित यासोक स्वास्थ्यचौकीलाई कोभिड–१९ विशेष अस्पतालका रुपमा संरचना निर्माण थालेको छ । गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले तत्कालका लागि पाँच श्ययाको अस्पताल निर्माण थालिएको बताउनुभयो ।
गाउँपालिकाले क्वारेन्टिनको उपयुक्त प्रबन्धसमेत गर्ने उहाँको भनाइ छ । यस्तै फाल्गुनन्द गाउँपालिकाले फाल्गुनन्द–४ राँके बजारस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा आठ श्ययाको आइसोलेसन निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङका अनुसार राँकेमै छुट्टै क्वारेन्टिनको समेत प्रवन्ध गरी शैक्षिक संस्थाबाट क्वारेन्टिन हटाइसकिएको छ । दक्षिणी तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा भने विशेष अस्पताल र आइसोलेसन निर्माण चुनौतीपूर्ण भएको छ । “यहाँ सङ्क्रमितलाई राखिए भौगोलिक विकटता र यातायात नचल्ने हुँदा उचित उपचारको प्रवन्ध गर्न कठीन पर्ने देखियो”, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाले भन्नुभयो, “गम्भीर समस्या भए उपचारमा लैजान नसकिने हुँदा अन्यत्रै राख्ने कि भन्ने छलफल भइरहेको छ ।” जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले विदेशबाट र कोभिड–१९ को उच्च सङ्क्रमणबाट रहेका स्थानबाट आएकालाई राख्न छुट्टै क्वारेन्टिन निर्माण गर्ने, शैक्षिक संस्थामा रहेका क्वारेन्टिन हटाउन निर्माण गरेअनुसार स्थानीय तहहरुमा क्वारेन्टिन, आइसोलेसन र अस्थायी अस्पताल निर्माण थालिएको हो ।
यस क्रममा जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मासहित सुरक्षा अधिकारी र जनप्रतिनिधिको टोलीले बिहीबार हिलिहाङ र याङवरकमा निर्माणाधीन क्वारेन्टिन, आइसोलेसन र अस्थायी अस्पतालको अनुगमन गरेको छ । समितिको निर्णयानुसार फिदिमस्थित फिदिम माध्यमिक विद्यालय र पाँचथर बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनलाई फिदिम–४ स्थित कृषि सामग्री संस्थानको प्रयोगविहीन भवनमा स्थानान्तरण गरिने भएको छ ।
यस्तै आयोजना तथा परियोजनामा आउने विदेशी कामदार, विदेशबाट आउने र कोभिड–१९ को उच्च सङ्क्रमण रहेका क्षेत्रबाट आउनेको तथ्याङ्क र पूर्ण विवरण राख्ने तथा शङ्कास्पद बिरामी भेटिए क्वारेन्टिनमा राख्ने प्रबन्ध गर्ने कार्यसमेत शुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो । –––




























