पिङ, सैसैला र सुरेली खेल्दाको क्षण

0
1417

पाँचथर जिल्ला ओयाम ढाँडबारीको, पूर्वतिर–खरबारी भीर, पश्चिम– सिंहमा बेसी, उत्तर–बडहरे गाउँ, दक्षिण– पँधेरे धारो भएको खेत नजिक रहेको ढाँडबारी भन्ने बित्तिकै ओयामका कान्छा मुखिया जयनारायण पोखरेका अन्तरेछोरा, (ढाँडबारी पण्डित) खडानन्द पोखरेलले ढाँडढँुड भिरालो सम्याएर बनाएको बारी नै ढाँडबारी रहेछ । त्यही भूमिमा उहाँले आफंै ढुङ्गाको पर्खाल लगाएर बनाएको फुसको छानो भएको तीनतले रङ्गिचङ्गि घर । अनि नजिकै त्यस्तै आउना–पाउना बस्ने–सुत्ने दुईतले मतान, त्यसदेखि पर्तिर गाईवस्तु बाँध्ने लामो व्यवस्थित ग्वाली । हो त्यही ग्वाली िभित्र आमाले (घाँसको भारी बिसाउँदै गर्दा) गर्भको सात महिनामा वि.सं. २००७ जेष्ठ ३१ गते साँझ झमक्क पर्दा मलाई जन्माएको अरे । सानोमा मलाई आमाले भनेको सुनेको हुँ ।

मभन्दा अघिका पाँच जना र मदेखि पछिका तीनजना म समेत पाँच छोरा र चार छोरी जम्मा नौ सन्तानलाई यसरी नै जन्म दिएर लालन–पालन गर्ने प्रचलन रहेछ । तर, कुनै दबाई मुलो डाक्टर चाहिँदैन थियो अरे । मलाई जन्मदिने मेरी आमा तुलसाको जन्म चाहिँ एकतिनका काँशीनाथ–हरिमाया खतिवडाकी कान्छी छोरीको रुपमा वि.सं. १९७७ भदौ ३ गते नागपञ्चमीका दिन भएको रहेछ । त्यो पनि आमाबाट नै थाहा पाएको हुँ । हामी जन्मँदा आमा सुत्केरीछँदा दिनको दुई माना खारेको तातो घीउ तन्तनी पिउनु हुन्थ्यो रे । यो कुरा चाहिँ मेरी हजुरआमाले बढ्यामा, ठूल्यामाहरुसँगको भेटमा कुरा गर्दा म पाँच बर्षको हँुदा सुनेको थिए । म जन्मेको १५–१६ दिनपछि त आमाले १६ हातको खाँडीको पटुका कम्मरमा कसेर घर नजिक ढाँडबारी खेतमा गएर सुत्केरी ज्यान ठूलो कोदालो लिएर मकै गोड्न र मेलापात गर्न जाने गर्नुहुन्थ्यो रे ।
नवजात शिशुले चाहिँ हजुरआमाको लाम्टो चुसेर कोक्रामा सैसैला खेल्नु पर्दोरहेछ । बेलुका आमा आएर दूध चुसाउँदा दुई मानाभन्दा बढ्ता दूध आउथ्यो अरे । बिहान–बेलुका पेटलाग्दो दूध चुस्न पाएपछि के चाहियो र । नानीको चाकर हजुरआमाले गर्ने चलन रहेछ । चामल राता हुञ्जेल भुटेर सिलौटामा पिसेको पीठो माटाको कसुडीमा पानी थोरै अनि गाईको घीउ धेरै राखेर अग्यानाको भुङ्ग्रोमा घीउसरी पारेर धेरैबेर फत्काएर अली–अली नुन छरेको लिटो दिनमा तीनपल्ट खुवाएपछि म नानी छँदा शान्त भएर हजुरआमाको लाम्टो चुस्दै चुप लागेर सुतिरहने गर्थे अरे । राति त आमाले सुताउने तर हजुरआमासँग सुत्न नपाएर रातभर रोइरहने गर्थेँ अरे । हजुरआमासँग सुत्न पाए खान नपाए पनि सन्तोष मान्ने । आमाभन्दा बढी माया दिने र राम्रा–राम्रा अर्ति उपदेशहरु सुनाइरहने हाम्री हजुरआमा मनमायालाई आज यहाँ शब्दश्रद्धा अर्पण गर्छु । अहिले म ७० बर्षको हुँदा कोक्रामा छँदाका सुनेका कुरा लिपिबद्ध गर्दैछु । मेरी आमा यही २०७७ नागपञ्चमीमा १०० बर्ष पूरा गरेर १०१ बर्ष लाग्दै गर्दा आफू हिँडेको बाटो पहिल्याउन लाग्दैछु । हजुरआमा परलोक भएको ५० बर्ष भयो । आमा गएको पनि १७ बर्ष र बुबाले छाडेको ११ बर्ष लाग्यो । सबैमा शिर झुकाएर श्रद्धाभाव अर्पण गर्दछु ।

त्यो ढाँडबारीको घरमा पूजाआजा, तिथिश्राद्ध, तीर्थब्रत भइरहन्थ्यो । त्यो बेलामा हामी केटाकेटीहरुको ठूलै जमघट हुन्थ्यो । म पनि चार–पाँच बर्षको थिएँ होला । साथीसंगी, आफन्तसँग भेट हुँदा घर पछाडि मूल सडकमा गएर धुलो खेलेको याद छ । हजुरबा जयनारायणले उहिल्यै रोपेको त्यो ठूलो बरको तेर्सा हाँगामा चढेर सैसैला र पिङ् पनि खेल्थ्यौं  । घर नजिक खरभीरको पहरामा सुरेली र बाटामा झुम्म्राको गोल खेल्दा त्यसबेला जति मज्जा हुन्थ्यो, त्यो बिर्सेको छैन । आफ्नी ठूली बहिनी, फुपूकी नातिनी, बड्यामाकी नातिनी, फुपूका र दिदीका छोराछोरी, आफ्ना दाजु र दिदीहरु, त्यो बेलाका मेरा साथी थिए । पूजा, श्राद्ध सकेपछि हामी खेलेकै ठाउँमा गएर ठूल्दिदीले बोलाउने गर्नुहुन्थ्यो । हामी एकहुल भएर घर आउथ्यौं । केटाकेटी कमिलाको ताँती झैं ठूलो आँगनमा वरिपरी लाइन लागेर गुन्द्रीमा बस्थौँ । ८४ ब्यञ्जन खाने परिकारहरु, दालभात, घीउ, फुरौला, सिकर्नी, रोटी, खीर जस्ता के–के हो के–के टपरीमा खान्थ्यौं । त्यो कुरा सत्तरी बर्षमा पनि झल्झली सम्झना आइरहन्छ । अनि घरमाथि तुलसाको मोठनेर सुन्तलाको बोटमा लटरम्मै पाकेका सुन्तला । ग्वाली पछाडि पाकेका दारिम र नस्पाती, घरमुनि कुलाका डिलका पाकेका गोगुन र घरपर्तिर पाकेका वर जस्ता नाना प्रकारका फलफूलहरु अति स्वादिष्ठ हुन्थे । पेट लाग्दो खाइन्थ्यो । ओयामको डाँडामा नौरथा लागेपछि जब नगरा बज्न थाल्छ अब दशैं आयो भन्ने संकेत हुन्थ्यो । त्यो बेला कति खुशी लाग्थ्यो, अब दही, दूध र केरा, चिउरा भुडी फुटुन्जेल खानेबेला आयो भनेर । हुन पनि आमाले दारको ठेकीमा जमाएको त्यो ढिका–ढिका परेको बाक्लो दही अनि ढिकीमा कुटेका चेप्टा पातला अनदि धानका चिउरा । ठूला मनीपुरे बटुकाभरी पारेर चिनीसरी हामी केटाकेटीहरु भेला पारेर सबैलाई दिनुहुन्थ्यो र भन्नुहुन्थ्यो– आज प्रतिपदामा एकखेप, भोलि द्वितीयामा दुईखेप गरेर क्रमशः दशमीमा दशखेप खानुपर्छ, अनि मात्र तिमीहरुलाई दशैं आउँछ ।

नयाँ नाना लाउन पाएपछि त झन् हामीलाई दशैं आउँथ्यो । त्यतिमात्र कहाँ हो र ! नौरथा लागेपछि आमा, दाजु, भाउजूहरु र ओल्लापल्ला गाउँका ठूलाहरु डोका, ढाँकर, थुन्से बोकेर लसुनेको रातोमाटो, तारेबुङ्को कमेरो र पल्लापटि भीरको कालीमाटी ओसारेर घर श्रृंगार्दा र गाउँका मूलसडकमा लिङ्गेपिङ् हालेर बाटाघाटा, गल्लीहरु, फाँडफँुड गरेर खनेका नयाँ बाटामा दशैंको टीका, जमरा लाएर हिँड्दा र पिङ खेल्दा त झनै दशैं रमाइलो हुथ्यो । म सम्झन्छु त्यो बेला हिउँद महिनामा जाडोले लुग्लुग काम्दै गर्दा अग्यानाका वरिपरी बसेर आगो दन्कुटी लगाएर ताप्न बसेका परिवारमा भए जति सबैको दिमाग जाँच्न ठूलाहरुले सुत्रान्ताक्षरी, श्लोकान्ताक्षरी, शब्दान्ताक्षरी गर्दा क–कसको कस्तो क्षमता रहेछ भनेर घरमुलीले जाँच गरेको पत्तै पाइन्नँथ्यो । नजानिँदो पाराले ज्ञान हासिल गरिथ्यो यस्ता ज्ञानबर्धक कुरा सबैका घरमा नभए पनि हाम्रो घरमा बेलाबखत यस्ता अन्ताक्षरी चल्ने गथ्र्याे । कारण हाम्रा पिता खडानन्द पाँचथर मै नाम कहलिएको पण्डित हुनुहुन्थ्यो । गाउँमा प्रायः ढाँडबारी पण्डित बा भनेर बोलाउने गर्थे ।

पिता पण्डित खडानन्दले आफ्नै ढाँडबारीको भर्खर धान काटेको खेतको ठूलो गरामा चित्राले बारेर भकारीले छाएको हिउँदे पाठशाला चलाउनु हुन्थ्यो । पथेरे सुब्बाका छोरा, कारबारीका छोरा, कुलामुनिका सुब्बाका छोरा अनि बडहरेका दाजुहरु, कैंजलेका कोइराला र काफ्ले परिवार, सुवेदी दाइहरु पल्लापटिका खँदाल भाञ्जा र हाम्रा दाजुहरु चदारा जेठाका छोरा आदि सबै जातजातिका ठूलासाना गाउँभरिका विद्यार्थी भेला पारेर हिउँदे पाठशालामा निःशुल्क पढाउँदा त्यो कटेरामा पराल ओच्छ्याएर भुइँमा बस्ने कसैलै कालोपाटी र खरी, कसैले भालुबाँसको ठ्याङ् पछाडिको झुस माटो दलेर झार्ने र गाजलको वा काँक्रा, फर्सीका पात माडेर बनाएको मसी, बाँसको कलम मसिदानीमा चोबेर लेख्तै गर्ने ठूलाहरु र काठको फलेकमा मसिनो धुलेमाटो हालेको त्यो फलेकमा हातले फिँजाएर बाँसको डिकले क, ख, अ, आ लेख्दै–मेट्तै गर्ने स–साना नानीहरुसँग मिसिन पुगेको दिन थियो २०१३ सालको बसन्त पञ्चमी ।

बिहान नौ बजेको साइत गरेर मलाई पनि पाठशाला पु¥याइएछ । म अलिक छुच्चो केटो थिएँ रे । बुबालाई हेप्ने, बुबाको केटा कुट्ने बाँसको सिर्कनो खोसेर पढ्न बसेका दाजुहरु, भाञ्जाहरुलाई जथाभावी कुट्न थालेपछि आजित भएर मलाई त्यहाँ पढाउन नसकेर निक्कै तल साधु काफ्ले गुरुबाले ढुंङ्गेल पण्डितको लप्सीको रुखमुनिको खलेगरामा लगेर मलाई सख्खर, मिश्री दिएर क, ख पढ्न सिकाएको बेलाको धुलौटो कति प्रिय थियो । अहिले ती दिन सम्झिँदा मलाई लाज र डर पनि एकैसाथ मडारिएर आउँछ । त्यहाँ कुनै कटेरो थिएन । घाममा गुन्द्री ओच्छ्याएर जथाभावी बस्थ्यौं । ती साधु काफ्ले गुरुबाले चाहिँ कसैलाई कुटेको देखिएन । सबैलाई साह्रै माया गर्ने तर हातमा छडी चाहिँ लिएको हुन्थ्यो । हुन त एक हिउँदमा साउँ अक्षर धुलौटामा लेख्न र पढ्न सक्ने भएपछि स्याबासी स्वरुपमा काठको माथि गोलो समाउने ठाउँ भएको, ध्वाँसाले पोतेर कालो पारेर मस्याएको, माथि गोलाकारमा छेडेर सानो अर्घेलीको डोरी छिराएर बोक्न सजिलो पारेको पाटी थियो । यो कालोपाटीमा खरीले क, ख हार मिलाएर लेख्न र पढ्न सक्थेँ । अनि अर्कापट्टि चाहिँ अ, आ, इ, ई लेख्न पढ्न जान्ने भएपछि क, का, कि, की लेखपढ गरेको याद छ । त्यहाँ प्रायः ढुङ्गेल गाउँका बिद्यार्थी थिए । बासुदेव र रोमनाथ मेरा प्रिय साथी थिए । त्यो बेला मलाई ढाँडबारी पण्डि बाको छोरो कान्छो (ढाँडबारी कान्छो) भनेर सबैले चिन्न थाले र सबैले माया गर्न थाले ।

यता बुबाले चलाएको पाठशाला हिउँद–हिउँदमा चार महिने मात्र रहेछ । पछि कटेरो भत्काएर जोतेर मकै छर्ने बेला भएछ । बुबाले एकजना थर्पूका घनश्याम नामका तिम्सिना पण्डितलाई ल्याएर घरको मतानमाथि पाठशाला चालू गर्नुभयो । वर्षायाममा र अर्को हिउँदमा घरदेखि तल महाजन्नीको डिही घरमा पाठशाला स¥यो । त्यतिबेला चण्डी र अलि–अलि कौमुदी पनि शुरुको मङ्गलाचरण– नत्वा सरस्वती देबीं… रट्दथेँ, त्यहाँ धेरै बिद्यार्थी भयौं । मेरो साह्रै मिल्ने साथी डाँडाघरको लक्ष्मी, बडहरेको कुमार, भतिजाहरु र दिदीका छोरा भानिजहरु थिए । फराकिलो लामो खले गरो थियो, त्यहाँ आ–आफ्ना झुम्राका गोलको फुटबल बनाएर खुब खेल्दथ्यौं त्यो बेलाको मज्जा म कहिल्यै बिर्सन सक्दिनँ ।
(पोखरेल त्रिफला राष्ट्रिय पुस्तकालयका केन्द्रीय अध्यक्ष हुन् ।)
तचषबबि मबचउबलद्दछ२ नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here