सरकार गम्भीर बन

0
1107

राजधानी काठमाडौंमा अहिलेसम्मकै सर्वाधिक संक्रमित थपिनु देशकै लागि अत्यन्त चिन्ताको विषय हो । उपत्यकाका तीनवटा जिल्लामा शुक्रबार मात्रै कूल संक्रमितको साठ्ठी प्रतिशत थपिएका छन् । कोरोना भाइरस संक्रमणको यस्तो उच्च दर बढ्नुका पछि कमजोर व्यवस्थापन जिम्मेवार रहेको विज्ञहरुले बताएका छन् । विज्ञहरुले अझै पनि व्यवस्थापन ठीक ढंगले नगर्ने हो भने कोरोना नियन्त्रण बाहिर जाने चेतावनी दिएका छन् । उनीहरुले पीसीआर व्यापक गर्दै कन्ट्याक टे«सिङ र क्वारेन्टाइनलाई प्रभावकारी बनाउन स्थानीय सरकार, जनप्रतिनिधि लगायत सरकारको मुख्य प्राथमिकता रहनुपर्ने औंल्याएका पनि छन् ।

शुक्रबार मात्रै सक्रिय संक्रमितको संख्या एक्काइस हजारभन्दा माथि थियो । सरकारले सक्रिय संख्या पच्चीस हजार नाघे बन्दाबन्दीमा जानुपर्ने चेतावनी दिएको छ । त्यसबेला भएका स्वास्थ्य सेवा, जनशक्ति, अस्पताल अपुग हुनेछन् । त्यसको परिणाम साँच्चिकै महामारी हुनेछ, जस्तो कि अहिले अस्पताल नै नपुगी संक्रमणका कारण मृत्यु हुनेको क्रम बढ्न थालेको छ । यही समय अर्थात् अबको दुई हप्ताभित्रै नेपालीको महान पर्व दशैं आउने छ । त्यसबेला टीका थाप्ने उद्देश्यले मानव गतिविधि बढ्न जानेछ । संक्रमण उच्च रहेको उपत्यकामा झण्डै अस्सी प्रतिशत मानिस दशैं मनाउन घर फिर्छन् । उनीहरुले घर आउँदा स्थानीयलाई संक्रमण सार्ने र फिर्दा राजधानीमा सार्ने जोखिम हुनसक्छ । यस्तो परिस्थितिलाई रोक्न सरकारका तर्फबाट कुनै रणनीति नदेखिनुले कोरोना हाम्रा लागि घातक बनिने निश्चित छ ।

कोरोना काल बनेर प्रत्येक व्यक्तिको छाया जस्तै बनिएको छ । तर, हाम्रा आनीबानीमा परिवर्तन देखिएको छैन । कोरोना पूर्व झैं भएका छन् मानिसका हिँडडुल, चाडपर्व, भेला, गोष्ठी र चाडपर्वहरु निर्वाध, निसंकोच र निश्चित हुन थालेका छन् । त्यसमाथि काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका कारण ग्रामीण तथा देशका अन्य ठाउँहरुमा संक्रमण विस्तार हुनेछ । लामो समयको बन्दाबन्दीपछि खुकुलो भएको परिवेशको परिणामले उपत्यकामा जसरी संक्रमण बढायो त्यही अवस्था उपत्यका बाहिर हुनेतर्फ सरकार सचेत हुनैपर्छ । पीसीआर परीक्षण व्यापक, निःशुल्क गर्दै संक्रमण देखिएकालाई आइसोलेसन मै राखेर निगरानीसहितको प्रभावकारी अनुगमन सरकारका तर्फबाट गरिनुपर्छ । अन्यथा कोरोनाले दिने पीडा अनन्तसम्म महशुस गर्नुपर्नेछ बाँच्नेहरुले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here