उपभोक्ता हित संरक्षण मञ्चद्वारा सरकारको ध्यानाकर्षण

0
880

बिर्तामोड।

बजारमा कृत्रिम अभाव, कृत्रिम मूल्य निर्घारण, गुणस्तरहीन वस्तु र सेवाको उत्पादन, आयात तथा विक्री वितरण भइरहेको भन्दै उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश नम्वर १ले सरकारको ध्यानाकर्षण गराएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनामार्फत प्रधानमन्त्रीलाई मञ्चका अध्यक्ष ओमभक्त सेढाई र सदस्य यामनाथ विमलीले ध्यानाकर्षण पत्र पठाएका हुन् ।

ध्यानाकर्षण पत्रमा नापतौलमा ठगी, तरकारी, खाद्यान्न जस्ता वस्तुमा विषादी र अखाद्य वस्तुको प्रयोग, भ्रमपूर्ण विज्ञापन, सिन्डिकेट, कार्टेलिङ्ग, कालो बजारी, एकाधिकारपूर्ण, निषेधित तथा अनुचित व्यापारिक क्रियाकलापहरु व्याप्त भई बजारमा अस्तव्यस्तता र दण्डहीनता कायम रहेको भनिएको छ ।

गुनासो गर्ने उपभोक्ताको सुरक्षा नहुनु, कमजोर गुनासो व्यवस्थापन र बजारमा प्रभावकारी नियमित अनुगमन हुन नसक्दा समग्रमा बजारमा सुशासनको अवस्था नितान्त कमजोर रहेको भन्दै स्वच्छ बजार र उपभोक्ता हित संरक्षणका क्षेत्रमा नेपाल सरकारबाट हाल भइरहेका प्रयासहरु अपर्याप्त रहेको ध्यानाकर्षणमा उल्लेख छ ।

१६ बुँदे ध्यानाकर्षण पत्रमा कोभिड–१९को कहरले सवैभन्दा बढी प्रभावित हुन पुगेको नेपाली बजार र सवैभन्दा बढी ठगी, शोषण र उत्पीडनको शिकार बन्नु परिरहेको उपभोक्तावर्गको हित संरक्षण लागि सरकार थप जिम्मेवार र संवेदनशील बन्नुपर्नेतर्फ सचेत रहन सरकारलाई आग्रह गरिएको छ ।

उपभोक्ता हित संरक्षण र स्वच्छ बजारको स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहमा क्रियाशील उपभोक्ता संस्थाहरुको क्षमता विकास गरी उपभोक्ता संस्थाहरु सरकार र कुनै अधिकारीका बिरोधी होइनन्, सरकारका अवैतनिक सहयोगी र लोकतन्त्र र समाजबादी राज्य व्यवस्थाका लागि आवश्यक सुन्दर पक्ष हुन् भन्ने बुझाइमा एकरुपता ल्याउन माग गरिएको छ ।

त्यस्तै भ्रमपूर्ण विज्ञापनको प्रचार, प्रशारण तथा प्रकाशनबाट उपभोक्ताहरुमाथि ब्यापक रुपले ठगी भइरहेकोले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा १४ बमोजिम तत्काल विज्ञापन वोर्डको गठन गर्न समेत माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here