र त म दृष्टिविहीन हुँ

0
1405

तिमी जता हेर्छौं त्यता मात्र देख्छौ
तर, म चारैतिर देख्छु
तिमी कालोलाई सेतो देख्छौ सेतोलाई कालो बनाउँछौ
म जस्ताको त्यस्तै देख्छु त्यसैले त म दृष्टिविहीन हुँ ।

पानीमा तिमी सुन देख्छौ म फगत पानी देख्छु
लालसा बढ्छ त्यसमा तिम्रो तिमी आँखाले देख्छौ
त्यसैले तिमीमा अहंकार छ
र त तिमी पित्तललाई सुन बनाउन सक्छौ
प्रशासनलाई झुक्याएर नगद कुम्ल्याउन सक्छौ
साथी तिमी आँखा देख्छौ र त त्यसो गर्छौ
म जस्ताको त्यस्तै देख्छु त्यसैले त म दृष्टिविहीन हुँ ।

काममा तिमी पैसा–पैसा देख्छौ
पैसाको पहाड बनाएर त्यसमाथि नाच्न चाहन्छौ
ए ! आँखा देख्ने मान्छेहरु
तिमी सुन्दरतामा कामुक बनेर नारी अस्मितामाथि नाङ्गो
नाच नाच्न सक्छौ
तिमी आँखा देख्छौ त्यसैले त त्यसो गर्छौ
म त्यस्तो देख्दिनँ त्यसैले त म दृष्टिविहीन हुँ ।

सेवामा तिमी नोटैनोट देख्छौ
झुपडी र गरिबीमा तिमी खोटैखोट देख्छौ
समाजसेवा तिम्रो बहाना भए पनि
त्यहाँ तिम्रा स्वार्थी नङ्ग्राहरुले भित्रसम्म खोतलेर
भेटे जति केही छोड्दैनौ किनकि तिमी आँखा देख्छौ
म सेवामा आर्तनाद मनहरुमा मलम लगाएर
शान्तिको सास फेर्न चाहन्छु, र त म दृष्टिविहीन हुँ ।

झुक्याएर तिमी नेता बन्छौ
हामी तिम्रो पछि–पछि लाग्ने सधैँ छाया बनिरहन्छौ
तिम्रा ती भाषणहरुलाई साच्चिकै सम्झेर ध्यानले सुनिरहन्छौ
तिमी ढाँटी रहन्छौं माथि पुगेपछि सोझा जनताको निन्दा गरिरहन्छौ
हामी तिम्रा निन्दनीय बचनहरु शिरोधार्य गर्न विवश छौ
त्यसैले त तिमी आँखा देख्छौ र यी सब गर्न सक्छौ
म यस्ता छलकपट केही जान्दिनँ र त म दृष्टिविहीन हुँ ।

नीति–नियम तिमी आफ्नो अनुकूल बनाउँछौ
किनकि त्यहाँ तिमी छौ
आफूलाई जसरी सजिलो हुन्छ, त्यो त्यस्तै बनाउँछौ
त्यसैमा टेकेर तिमीमाथि झन्–झन् माथि धेरै माथि पुग्छौ
र, तल हेर्छौ अनि भन्छौ– विचरा जनताहरु
मलाई कहिल्यै भेट्न सक्दैनन्, किनकि उनीहरु धेरै तल छन्
राष्ट्रको इज्जत बढाइदिने जनता सम्मान र विभुषण प्राप्त गर्ने
नेता हाम्रो देशको नीति
बाचुञ्जेल राष्ट्रसेवकलाई गाली गर्छन् मरेपछि झण्डा ओडाएर
राष्ट्र धुन बजाउँछन् अनि भन्छन्– राज्यले सम्मान गरेको छ
यी सबै तिमी आँखा देख्नुको अहंकारले गर्छौं किनकि तिमी आँखा देख्छौ
म त्यस्तो कतै नदेखेरै होला म दृष्टिविहीन हुँ ।

तिमी माटोमाथि राजनीतिको गन्ध सुघ्छौ
भूगोल–भूगोलबीचमा तिमी राष्ट्रियताको स्वार्थ देख्छौ
विखण्डनमा तिमी संघीयताका खोक्रा नारा बाँड्छौ
भोक, रोग र गरिबीले छट्पटाएका जनता म देख्छु
अशिक्षा र अन्धकारभित्र ज्योर्तिमय बिन्दु देख्नु
तिमी बिन्दुभित्र कमाउने सिन्धु देख्छौ
म बिन्दु फैल्याएर अँध्यारो चिर्न चाहन्छु
तिमी अँध्यारोभित्र छिर्न चाहन्छौ
किनकि अँध्यारोभित्रको बिन्दु तिम्रो जीन्दगीको सहारा बन्छ भन्ने ठान्छौ
र त तिमी आँखा देख्छौ म नदेख्नेलाई दृष्टिविहीन भन्छु
शारीरिक रुपमा कमजोरलाई अपाङ्गता भन्छु
तिमी उनीहरुलाई चम्चा बनाउन चाहन्छौ र,
आफ्नो लालशीपन उदांगो पारेर तिनीहरु माथि राजनीति गर्न चाहन्छौं
र, त तिमी आँखा देख्छौ
म फूललाई फूल देख्छु काँडालाई काँडा देख्छु
फूल र काँडा छुट्याउने विवेक छ ममा
आकाश र धर्ती पर्गेल्न सक्छु
हिटलर र बुद्धमा भिन्नता देख्छु
कृष्ण र कंशको चरित्र स्वीकार्न सक्छु
तिमी खोई सक्छौ कि सक्दैनौ
तिमी आँखा देख्छौ
म सजिलो र अप्ठ्यारो छुट्याउन सक्छु
सुगन्ध र दुर्गन्ध ठम्याउन सक्छु र त म दृष्टिविहीन हुँ ।

खेम रेग्मी,
अर्जुनधारा–७, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here