कोरोना : के हो, के होइन ?

0
621

विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरसको महामारी हाम्रो देशमा लकडाउन खुल्ला भई आवागमन बढेसँगै यसको संक्रमण दर तीव्र बन्दै गइरहेको छ ।

यस्तो अवस्थामा अझ गम्भीर बनेर स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्नुपर्नेमा आजभोलि यस नोबेल कोरोना भाइरस (कोभिड–१९)बारे विभिन्न हल्ला चल्न थालेको पाइन्छ । कतिपयले यसलाई केही होइन भन्ने गरेका छन् भने कतिपयले यसलाई खतरनाक तथा घातक मान्ने गरेको पाइन्छ । यसबाट सर्वसाधरणमा द्विविधा उत्पन्न हुने गरेको समेत देखिन्छ । अतः सबैले स्पष्ट भई सावधानी अपनाउन अत्यावश्यक छ ।

विशेषज्ञहरुका अनुसार कोरोना सामान्य भाइरस नभई यो नयाँ प्रजातिको घातक तथा खतरनाक भाइरस भएको र यसले सामान्य रुघाखोकीदेखि मानिसको श्वासप्रश्वासमा जटिलता उत्पन्न गर्नुको साथै फोक्सोमा आक्रमण गरी निमोनिया गराएर मृत्युसम्म हुन सक्छ ।

तर, केही जान्ने बुझ्ने डाक्टर समेतले सामान्य हो, यो केही होइन, केही छदै छैन, कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु भएकै छैन । कतिपयले कोरोनाको नाममा सरकारले अनावश्यक आतंक बढाएको, मास्क सेनीटाइजर लगायतको व्यापार बढाउने बहाना बनाएको जस्ता आरोप लगाउने गरेका वा तर्क गर्ने गरेका पनि छन् । आरोप लगाइएको पनि पाइन्छ । उनीहरुले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना जरुरी नभएको भन्दै भ्रम छर्न खोजिएको पनि पाइन्छ । मापदण्ड पालनाको निर्देशन उल्लंघनको प्रयास गरेको समेत देखिन्छ ।

आखिर सत्य के हो त ? गहनरुपमा बुझ्न जरुरी छ । यो विशेष प्रजातिको भाइरस भएको र यसले सामान्य रुघाखोकीदेखि गम्भीर जटिलता ल्याई व्यक्तिलाई मृत्युको मुखसम्म पु¥याउन सक्छ भन्ने प्रमाणित भइसकेको छ । आज विश्वव्यापी महामारीको रुप लिएको यसलाई भ्रमको पछि लागेर केही होइन भनी हल्कारुपले लिनु र लापरवाही गर्नु ठूलो भूल हुनेछ ।

यो कसैका लागि सामान्य चुनौति बन्न सक्छ भने एउटै परिवारमा पनि अर्काका लागि खतरनाक बन्न ज्यान जान सक्ने स्थिति सिर्जना हुन सक्छ भनेर विशेषज्ञहरुले औल्याएको तथ्य हाम्रोसामू छ । त्यसैले आफू र अरुका लागि सावधानीपूर्वक तोकिएका स्वास्थ्य सुरक्षाका उपाय अपनाउन अनिवार्य छ । यसले धनी–गरीब, बालक–बृद्ध केही भन्दैन । बद्ध, दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका रोगसँग लड्ने शक्ति कमजोर भएका व्यक्तिका लागि जटिल वा गम्भीर रुप लिनसक्ने उच्च जोखिम रहन्छ । त्यसैले उनीहरुले विशेष सावधानी अपनाउन सचेत गराइएको हो ।

करोना भाइरस केही होइन वा खतरनाक हो भनेर कसरी लिने भन्ने सम्बन्धमा अध्यात्ममा भनिएको एउटा प्रसङ्गबाट पनि बोध गर्न सहज होला । जसरी मानिसले ज्ञानका लागि यो सोच्नु पर्दछ कि म कहिले मर्दिन । अर्थात् हामी अमर छौं भन्ने विचार गरेर ज्ञान आर्जनमा लागिरहनुपर्छ । तर, व्यवहार गर्दा सबैले भोलि मर्नुपर्छ भन्ने सोचेर व्यवहार गर्ने हो भने कसैमा वैरभाव तथा अहंकार रहँदैन । ठीक त्यसरी नै कोरोना संक्रमणकाबाट बच्नका लागि सावधानीका लागि यसलाई खतरनाक ठानेर डर राख्नपर्छ ।

त्यसै पनि नीतिमा रोग, शत्रु, ऋण, बासना, आगो यिनलाई सानो ठान्नु हुँदैन, मौका पाउन साथ बढेर यिनले नाश गर्दछन् भनिएकै छ भने यसलाई जित्न, आत्मबल बढाउन यो केही होइन, जसलाई हराउने क्षमता आफूमा बढी भएको ठान्नुपर्छ । यसरी लिन सके दृष्टिकोण बनाइ राख्न सके यसबाट सतर्क रहेर जित्न सकिन्छ, सन्त्रासबाट मुक्त बन्न सकिन्छ । न त केवल डराएर कोरोना जितिन्छ न त असावधानीका साथ लापरवाही गरेर दुष्साहस प्रदर्शन गरेर नै ।

नीति शास्त्रमा एउटा भनाइ छ– त्यसैदेखि डराउ, जो भगवानदेखि डराउँदैन । आजको महामारीको सन्दर्भमा भन्ने बेला आएको छ– हामीले त्यसैदेखि डराउँन पर्दछ जो कोरानादेखि डराउँदैन । अर्थात् जो स्वास्थ्य सुरक्षाका उपायलाई पालना गर्दैन, लापरबाहीपूर्वक व्यवहार गर्दछ । त्यस्तो व्यक्ति कोरोना संक्रमणको उच्च जोखिममा आफू मात्र पर्दैन, परिवार तथा समुदायलाई नै पार्दछ । त्यसैले स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिनुपर्ने आवाज सबैतिर उठ्न थालेको छ ।

कोरोना भाइरस सामान्य नभई यो एक नयाँ प्रजातिको भाइरस भएको यसले सामान्य रुघाखोकीदेखि यसले मानिसको श्वासप्रश्वास प्रणालीमा गम्भीर असर गर्नुको साथै फोक्सोमा आक्रमण गरेर अन्त्यमा निमोनिया गराई मानिसको मृत्यसम्म हुने गर्दछ । त्यसैले तर्क गरेर हल्कारुपले लिनु मूर्खता सिवाय केही होइन । स्वास्थ्य मापदण्डको उल्लंघन गर्ने विश्वका शक्तिशाली व्यक्तिले पनि अन्ततः स्वीकार गर्न बाध्य बनेको उदाहरणले यस तथ्यलाई प्रमाणित गरेको स्पष्ट छ ।

यसको अहिलेसम्म कुनै पनि औषधि नभएकोले सतर्क रहनु नै यसको महौषधि हो, सावधानी नै कोरोना रोकथाम तथा नियन्त्रणको सर्वोत्तम उपाय हो । लापरवाही गर्नु यसलाई निम्ता दिनु हो र आजको सानो लापरवाही र असावधानीले भोलि महान् विपत्ति आउनसक्छ भन्ने बोध गर्नु अति जरुरी छ । यो एकै परिवारमा पनि एकका लागि सामान्य चुनौति बन्न सक्छ भने अर्काका लागि खतरनाक रुप लिनसक्ने भएकाले कोही पनि यो रोगको जोखिममुक्त छैनौं । जो कोहीमा पनि जोखिममा रहने वा हामी सबै रोगयुक्त छौं भन्ने सोचेर उच्च सावधानी अपनाउन जरुरी छ ।

जसमा माक्सको प्रयोग, भौतिक दूरी कायम गर्न र बारम्बार साबुनपानीले हात धुने वा सेनिटाइजर लगाउने कार्य निरन्तर गर्न सचेत गराइएको छ । जसको विकल्प नभएकाले कोरोना भाइरसको संक्रमण तथा विस्तारबाट बच्ने मूल मन्त्र मानिएको छ । विशेषज्ञहरुका अनुसार यी तीनको पालनाबाट यो रोग संक्रमणको जोखिमबाट ७० प्रतिशत कमी ल्याउन सकिन्छ ।

कसैलाई पनि आफू असुरक्षित बनेर अरुलाई असुरक्षित पार्नु र अरुको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । यसो गरेमा रोग संक्रमण ऐन अनुसार कारवाही हुने कुरा सरकारले बताइसकेकाले यसतर्फ सचेत बनेर यस महामारीबाट आफू बचेर अरुलाई बचाऔं भन्ने भावनालाई हरपल हरक्षण आत्मसाथ गर्न बिर्सनु हुँदैन । यसैमा हामी सबैको कल्याण छ । अतः कोरोना भाइरस केही होइन भन्नु अघि यो के हो भन्ने बोध गर्न सके कसैले पनि भ्रमको पछि लाग्नु वा द्विविधामा परिराख्नु पर्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here