दिलकुमार लिम्बू/ फुङ्लिङ,
ताप्लेजुङको फक्तताङलुङ गाउँपालिका—५ तापेथोककी धनमाया मावो गत असारको अन्तिम साता घर नजिकैको सुङ्गुरको खोरमा झार उखेल्दै हुनुहुन्थ्यो । दिउँसोको समय टन्टलापुर घाम लागेको थियो । झारमा लुकेर बसेको सर्पले धनमायाको हातमा डस्यो ।
त्यसपछि श्रीमान् बुद्धपाल लिम्बूले दुई घण्टा पैदल हिँडेर धामी (फेदाङ्वा) बोलाएर झारफुक गर्न लगाउनुभयो । भोलिपल्ट बिहान ४ बजे धामीकै अगाडि धनमायाको मृत्यु भयो । ‘‘हामीले बेलुका मात्रै थाहा पायौँ’’ छिमेकी रामले भन्नुभयो, ‘‘झारफुक गर्दागर्दै उनको मृत्यु भयो ।’’ उक्त गाउँबाट नजिकैको लेलेप स्वास्थ्यचौकी तीन घण्टा पैदल दूरीमा छ ।
मिक्वाखोला गाउँपालिका–४ थलङ निवासी अमरसिं थलङ रोजगारीको क्रममा फक्ताङलुङ गाउँपालिका– ६ लेलेप सडकको ग्याबिन बुन्न पुग्नुभयो । राति छिमेकीको घरमा मोबाइल चार्ज गर्न जाने क्रममा रुखमा लुकेर बसेको सर्पले गत भदौ २० गते रातको १२ बजे गालामा डस्यो । गालामा डसेपछि शरीरमा विष फैलन नदिनका लागि डोरीले बाँध्न पनि समस्या भयो र झारफुक गरे । तर सिकिस्त अवस्थामा पुगेपछि थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा पु¥याइयो । जिल्ला अस्पताल ताप्लेजुङमा एक रात राखेपछि अवस्था निकै गम्भीर भयो र थप उपचारको लागि २२ गते झापाको चारआली सर्पदंस अस्पतालमा पु¥याइयो । उहाँको अहिले उपचार जारी छ ।
फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका १३ वर्र्षीय फाल्गुनन्द तुम्बाहाम्फेलाई विसं २०७६ वैसाख २६ मा घरमै सर्पले डस्यो । सुतिरहेको समयमा हातमा सर्पले डसेको थियो । तर परिवारले उपचारमा लगेनन् बरु धामी बोलाए । धामीले घाउ नजिकै डोरीले बाँधे र झारपात पिसेर लगाइदिए । यसरी धामीले १५ दिनसम्म विष झार्न प्रयास गरिरहे । निको हुनुको साटो हात सुनिन्दै गयो । निको नलागेपछि छिमेकीको आग्रहमा तापेथोक स्वास्थ्य चौकी लगियो ।
स्वास्थ्यचौकीले यहाँ उपचार सम्भव नहुने भन्दै सुविधा सम्पन्न अस्पतालमा लैजान सल्लाहा दियो । उपचारका लागि झापातर्फ लैजाने क्रममा इलामको फिक्कल पुग्दा उनको मृत्यु भयो । स्थानीयवासी दीपक लिम्बूका अनुसार बालकलाई निको बनाउन इसाई धर्मको विधिअनुसार पटकपटक बाइबल पढाइएको थियो । अनि निको हुन्छ भन्दै परिवारका सदस्यलाई बाहिर कतै नलैजान भनिएको थियो । सर्पले डसेर घाइते बनेकी फक्ताङलुङ– ४ इखाबुकी नैनरानी लिम्बूलाई पनि परिवारले झारफुक गर्न लगाए । धामीले निको पार्छु भनेपछि दुई दिनसम्म बाटो हेरे । बिरामीको अवस्था नाजुक बन्दै गयो । धामीले पार लगाउन नसकेपछि जिल्ला अस्पताल पु¥याइयो ।
अस्पतालले झापाको चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा लैजान भन्यो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा विर्तामोडमा गत साउन १३ गते नैनरानीको मृत्यु भयो । घरबाट आधा घण्टा पैदलमा रहेको अलैँची बगानमा घाँस काट्न जाँदा उहाँ सर्पको शिकार हुनुभएको थियो ।
फक्ताङलुङ गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईका अनुसार उक्त गाउँपालिकामा मात्रै पछिल्लो तीन वर्षमा १५ जनाको सर्पले डसेर मृत्यु भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा सात जना, २०७५÷७६ मा चार जना र २०७४÷७५ मा चार जनाको सर्पको टोकाइबाट नै मृत्यु भएको भट्टराईको भनाइ छ । यो अवधिमा सर्पले डसेर घाइते हुने २० भन्दा बढी छन् ।अन्य पालिकामा पनि सर्पको बिगबिगी उस्तै छ ।
गत जेठ २१ गते फुङलिङ नगरपालिका—२ लहरेगाउँका ६८ वर्षीय प्रातलाल बम्जनलाई सुतेकै ठाउँमा सर्पले डस्यो । राति धामी बोलाएर विष झार्न लगाइयो । एक घण्टा दूरीमा रहेको जिल्ला अस्पताल लैजानेतर्फ कसैले चासो दिएनन् । बिहान ५ बजे उहाँको मृत्यु भयो ।
फक्ताङलुङ गाउँपालिका—४ का मणिप्रसाद लावुङका अनुसार त्यो भेगमा पाइने सर्प गुर्भे र हरियो (सतुवा) हुन् । यी सर्पले अलैंची बगानमा काम गर्दा र घाँस दाउरा गर्दा मानिसलाई आक्रमण गर्ने गरेका छन् । सर्पले डसेपछि झारफुक गर्ने, डोरीले कस्ने, झारपात माडेर लगाउने, बुटी बाँध्ने जस्ता परम्परागत उपचार पद्दति व्याप्त छ ।
निकै ढिलो भएपछि मात्रै स्वास्थ्य संस्थामा लैजाने चलन रहेको लावुङले बताउनुभयो । गाउँघरमा विष निक्लियोस् भनेर डसेको ठाउँमा चिरेर रगत बगाउने र मुखले चुसेर रगत झिक्ने चलन छ । यस्तो गर्दा विष बाहिर निस्किँदैन तर अझ छिटो शरीरमा फैलिनुका साथै विभिन्न प्रकारको सङ्क्रमणको जोखिममा समेत वृद्घि हुने चिकित्सक बताउँछन् ।
यी सर्प विषालु नभए पनि डसेको ठाउँमा अन्य सङ्क्रमण भएर बिरामीको ज्यान जाने गरेको जिल्ला अस्पताल ताप्लेजुङका प्रमुख डा सोनिङ लामाको भनाइ छ । ‘‘सर्पले डसेपछि उहाँहरु घरेलु उपचारमा लाग्नुहुन्छ, कतिको घरमै मृत्यु हुन्छ, कोही अन्तिम अवस्थामा मात्रै हामीकहाँ आइपुग्नुहुन्छ,’’ लामाले भन्नुभयो, ‘‘गलत उपचारले रगतमा इन्फेक्सन हुन पुग्छ र अन्य सङ्क्रमणले ज्यान गएको उदाहरण छ ।’’
सर्पले डसेमा परम्परागत विधि प्रयोग नगर्न डा लामाको सुझाव छ । जतिसक्दो छिटो स्वास्थ्य संस्थामा पु¥याउनु नै उत्तम उपाय भएको लामाल बताउनुहुन्छ । ‘‘सर्पले टोकेको अङ्गलाई चलाउनु हुँदैन, त्यस अङ्गलाई सकेसम्म हलचल नगरी बिरामीलाई अस्पतालसम्म पु¥याउनुपर्ने सुझाव उहाँको छ । गाउँघरमा सर्पदंशका कारण नागरिक पीडित हुने गरेका छन् । तर यस क्षेत्रमा उपचारको राम्रो र सुलभ प्रबन्ध छैन । देशका तीनै तहका सरकारको यस समस्याप्रति कुनै योजना र ध्यान नै छैन ।
खासगरी यस समस्याबाट न्यून आय भएका सर्वसाधारण व्यक्ति बढी प्रभावित भइरहेका छन् । आफ्नो पालिकामा अन्य भन्दा सर्पदंशको समस्या जटिल रहेको फक्ताङलुङ गाउँपलिकाका अध्यक्ष सरोज लिम्बूको भनाइ छ । ‘‘हाम्रो क्षेत्रका नागरिकलाई सर्पले धेरै दुःख दिइरहेकोले यो वर्षदेखि टोलटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको लिम्बूले जानकारी दिनुभयो ।