महिला अधिकारकर्मी कार्कीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार

0
811

तुलसीप्रसाद निरौला ,बिर्तामोड ।

रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठान भद्रपुर–७ झापाले सन् २०१९ (वि.सं.२०७६) का लागि गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार वाग्मती प्रदेश दोलखा झुले निवासी समाजसेवी तथा महिला अधिकारकर्मी सृजना कार्कीलाई प्रदान गर्ने घोषणा गरेको छ ।

 

विगत १८ बर्षदेखि आफ्नो सम्पूर्ण उर्जा र समय संकटापन्न अवस्थामा रहेका बालबालिका, ज्येष्ठ महिला, अपाङ्गता भएका महिला, मानसिक रुपमा असर परेका महिला, किशोरीहरुको पुनस्र्थापना कार्यमा समर्पित समाजसेवी तथा महिला अधिकारकर्मी कार्कीलाई तीनजना विज्ञहरुको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका आधारमा सातौं पटकको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारका लागि छनौट गरिएको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

एक लाख एक हजार एक सय एघार रुपैंयाँ राशीको गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०७७ सालको बैशाखको पहिलो हप्ता वितरण गर्ने लक्ष्य लिइएको भएपनि विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थगित गरिएको र अवस्था सहज भएमा रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानले आठौं पटकका लागि सन् २०२० को पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा समावेश गरी सो अगावै वितरण गरिने उनले वताए ।

गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारका लागि छनौट भएकी कार्कीले “आवाज नेपाल, दोलखा” नामक संस्था दर्ता गरी बलात्कारबाट गर्भ रहेका महिला तथा बालिका, बलात्कारमा परेका किशोरी, आफन्तबाट बलात्कारमा परेर घरबाट निकालिएका महिला तथा किशोरी, बलात्कारबाट गर्भरही जन्मिएका बालबालिका, मानसिक रुपमा बिक्षिप्तभई सडकमा जीवन बिताई रहेका महिला, उनीहरुबाट जन्मिएका बच्चा लगायत अप्ठ्यारोमा परेका जो कोही व्यक्तिलाई पनि उद्धार गरी संरक्षण, पालनपोषण, शिक्षादीक्षा, पारिवारिक पुनरमिलन, जिविकोपार्जन सम्बन्धी तालिम, न्यायमा पहुंचको लागी पहल गर्दै आएको बताइएको छ ।

त्यस्तै कार्कीले आमाले छाडेको र मृत्यु भएका किशोरीको नावालक वच्चाहरुलाई संरक्षण, रेखदेख, पालनपोषण, शिक्षादीक्षा ,जन्मदर्ता ,नागरिकता एवं अन्य कानुनी कागजात बनाउन पूर्ण सहयोग गर्दै आएको बताइएको छ ।
स्थानीय निकाय र शुभेच्छुकहरुको सहयोगबाट हालसम्म दुई सय २५ जनालाई उद्धार गरी अग्रणी रूपमा काम गरेर धेरै बालबालिका, चेलीहरूका संरक्षण, हेरचाह र अधिकार स्थापना गर्ने कार्यमा आमाको भूमिका निर्वाह गर्न सफल कार्कीले हाल चार जना महिला दुई जना किशोरी र छ जना बालबालिकालाई संरक्षण दिइरहेको बताइएको छ ।

समाजमा भएका अनुकरणीय कार्यहरु गर्ने उत्कृष्ट व्यक्ति, संघ तथा संस्थाहरुको प्रतिभा र कार्यहरुको संरक्षण, प्रबद्र्धन एवम् प्रोत्साहन गर्ने उद्देश्यले स्व. श्रीप्रसाद ओलीद्वारा एक करोड रुपैंयाँको कोष खडा गरी गैर सरकारी, गैर राजनीतिक र गैर नाफामूलक सामाजिक संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालय, झापामा २०६७ साल चैत्र १७ गते दर्ता भई रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठान हालसम्म अविछिन्न रुपमा क्रियाशिल रहेको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबर्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले प्रत्येक वर्ष राष्ट्रियस्तरको महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा चारवटा पुरस्कार र सम्मान प्रदान गर्ने गरेको र प्रतिष्ठानले छैठांै पटकसम्म राष्ट्रियस्तरका पुरस्कार र सम्मान वितरण गरिसकेको उनले जानकारी दिए ।

यस अघि प्रतिष्ठानले सातौं पटकका लागि सन् २०१९ (वि.सं.२०७६) का लागि रुद्रप्रसादओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०७६ पालुङ्गटार नगरपालिका– ७, च्याङ्गली, गोरखाका अगुवा कृषक राजेन्द्रराज पन्तलाई प्रदान गर्ने घोषणा गरेको छ भने अम्बिकादेवी ओली स्मृति पत्रकारिता पुरस्कार र देवी ओली स्मृति बाल पुरस्कार क्रमशः घोषणा गर्दै जाने उनले बताए ।

महिला, कृषि, साहित्य र पत्रकारिता तथा बाल विधामा प्रत्येक वर्ष राष्ट्रियस्तरमा पुरस्कृत र सम्मानित गरिने संस्थाको विधानको भावना अनुरुप सम्बन्धित विषयमा तीनजना विज्ञहरुको पुरस्कार निर्णायक समितिबाट प्राप्त सिफारिसका आधारमा पुरस्कृत तथा सम्मानित व्यक्तित्वको चयन गरिने गरिएको रुद्र–गौरी श्री–अम्बिकाओली प्रतिष्ठानकासचिव यज्ञराज ओली (गोपाल) ले जानकारी दिए ।

सामूहिक तथा सहयोगात्मक संस्कार भएको समुन्नत समाज निर्माण गर्ने दीर्घकालीन सोचलाई आत्मसात गर्दै व्यक्तिगत तथा संस्थागत तहमा भएका अनुकरणीय कार्यहरुको पहिचान गरी प्रोत्साहन र प्रबद्र्धनका लागि सम्मान तथा पुरस्कृत गर्ने गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here