यसरी पनि समाजसेवा , हलुवाई परिवारको उदाहरणीय काम

0
1349

तुलसीप्रसाद निरौला , बिर्तामोड ।

नेपालीहरुको महान पर्व वडादशैं घरघरमा भित्रिएको छ । शनिवार घटस्थापना गरी नेपालीहरुले दशैंलाई घरमा भित्र्याएका छन् । हुने खानेले त खर्च गरेर दशैं मनाउँछन् तर हुँदा खानेलाई भने दशैं दशा जस्तै वन्ने गरेको छ ।

शरिर स्वस्थ्य हुञ्जेल र उमेर हुञ्जेल अर्काकोमा ज्याला मजदुरी गरेर खर्चको जोहो गरी दशैं मनाउँदै आएका वृद्धाहरुलाई हातपाउ वसेपछि जसोतसो दैनिक जीवनयापन गर्न त कठिन वनेको छ नै संघारमै आएको दशैं मनाउन त झन् फलामको च्यूरा चपाउनु सरह भएको छ ।

संघारमै आएको दशैं कसरी मनाउनु भन्ने चिन्तामा रहेका विर्तामोड र कनकाईका सात जना वृद्धा भने शनिवार औधी खुशी देखिए ।

विर्तामोड –५ का प्रमेश राजकर्णिकार (हलवाई )ले आफ्नी आमा राममाया हलवाईको निधनको सातौं पुण्यतिथीमा शनिवार विर्तामोड र कनकाईका सात जना वृद्धा र महिलाको घरघरमै पुगेर खाद्यान्न, लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरेपछि उनीहरुको मुहारमा खुशी छाएको हो ।

नेवारी समुदायमा आमाको निधनको सातौं दिनको पुण्यतिथिमा आमालाई सम्झेर जोगीलाई माछामासुदेखि लिएर सबै खानेकुराको परिकार , लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री पितृको नाममा चढाउनु पर्ने जातीय परम्परा भए पनि त्यसको सट्टा जीवित आमाहरुले खान पाउन् भनेर आफ्नी आमा राममाया हलवाईको निधनको सातौं पुण्यतिथीमा वृद्धाहरुलाई उक्त सामाग्री प्रदान गरेको छोरा प्रमेश राजकर्णिकार (हलवाई )ले वताए । नेवारी समुदायमा आमाको निधनको सातौं दिनको पुण्यतिथिलाई न्हेनुब्वो भन्ने गरिएको उनले बताए ।

गत असोज २५ गते प्रमेशकी आमा राममायाको काठमाडौंमा ७८ वर्षको उमेरमा निधन भएको थियो । आमाको दशगात्र कर्म विर्तामोड –५ को कृष्णहल रोडमा रहेको घरमा भइरहेको छ । पछिल्लो दुई दशकभन्दा बढी समयदेखि बिर्तामोडमा बस्दै आएकी राममाया व्यवसायिक रुपले पनि अग्रणी रहेको बताइएको छ ।

 

नेवाः पासा मुनाः पुचकी विर्तामोडकी पूर्व अध्यक्षसमेत रहेकी राममाया गरीव ,दीनदुःखीहरुलाई सहयोग गरी उनीहरुको चहर्याई रहेको घाउमा मल्हमपट्टि लगाउनु पर्छ भन्ने भावनाकी थिइन् । आमाको यस्तो भावनाबाट प्रभावित भएर आफूहरुले नेवारी समुदायमा आमाको निधनको सातौं दिनको पुण्यतिथिमा आमालाई सम्झेर विर्तामोड र कनकाईका सात जना वृद्धाको घरघरमै पुगेर खाद्यान्न, लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरेको छोरा प्रमेशले वताए ।

प्रमेशका छोरा अनिमेश हलवाई, शुभद्रा ताम्राकार , विवेक हलवाई , सिर्जना हलवाईलगायतका परिवारजनले विर्तामोड र कनकाईका सात जना वृद्धा र महिलाको घरघरमै पुगेर खाद्यान्न, लत्ताकपडा , फलफूल लगायतका दैनिक उपभोग्य सामाग्री प्रदान गरेका थिए ।

दैनिक उपभोग्य सामाग्री प्राप्त गर्नेहरुमा विर्तामोड –२ कि तारावति राजवंशी , मुडी मर्डी, भ्यागो राजवंशी , धामोसरी राजवंशी , कनकाई –१ कि अधिकारी थरकी वृद्धा रहेका छन् भने कनकाई –१ कि महिला जुनु वराइली रहेका छन् । उनीहरु मध्ये विर्तामोड –२ कि तारावति राजवंशी , मुडी मर्डी, भ्यागो राजवंशी एकल महिला हुन् भने , धामोसरी राजवंशी नेत्रहीन एकल महिला हुन् ।

वृद्ध अवस्था, एक्लो जीवनयापन गर्दै आएका उनीहरुले आफ्नो घरमै आएर दैनिक उपभोग्य सामाग्री प्रदान गर्न आएका हलुवाई परिवारलाई आशीरवाद दिनुका साथै स्व. राममायाको स्वर्गमा वास होस् भन्ने कामना गरेका थिए ।

विर्तामोड –२ कि नेत्रहीन एकल महिला धामोसरी राजवंशीलाई ह्यावीटाट फर ह्युमानिटी र सहारा नेपालले घर बनाइदिए पनि घरमा सोलारको आवश्यकतालाई मध्यनजर गर्दै सोलार समेत जडान गरिने प्रमेशका छोरा अनिमेश हलवाईले जानकारी दिए ।

कार्यक्रममा सहभागि नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा पूर्वाञ्चल दैनिकका प्रधानसम्पादक एकराज गिरीले सफल व्यवसायी ,जेसीज अभियानका अभियन्ता, वीरता जेसीजको उत्कृष्ट नागरिक सम्मान समारोह –२०७४ का संयोजक प्रमेश हलवाईले गरेको कार्य प्रशंसनिय भएको वताए । वीरता जेसीजका पूर्व अध्यक्ष समेत रहेका उनले मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य भएको बताउँदै प्रमेशले गरेको कार्यले अरुलाई प्रेरणा दिने जनाए ।

त्यस्तै कोचिला महिला फ्रण्ट बिर्तामोड नगर समितिकी अध्यक्ष शर्मिला राजवंशी (सरु)ले समस्यामा परेका आदिवासी , एकल महिला, दीनदुःखी र विपन्नहरुको सेवाका लागि हलुवाई परिवारले गरेको कार्य समाजका लागि उदाहरणीय भएको बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here