पार्थ मण्डल, झापा ।

झापाको मेचीनगर नाकाबाट सुख्खा सुपारी र नेपाली ब्रान्डका मदिरा भारततर्फ तस्करी भइरहेको छ । नेपालबाट तस्करीको माध्यमबाट भारत लगिएका सुख्खा सुपारी र मदिरा भारतीय एसएसबीले बरामद गरेसँगै मेचीनगरको विभिन्न नाकाबाट तस्करी भइरहेको खुलेको हो ।
भारत नेपाल सीमास्थित एसएसबी ४१औँ बटालियनको ए कम्पनी पानी टङ्की बिओपीले ठुलो मात्रामा सुपारी जफत गर्नुका साथै एक व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा एसएसबीका जवानहरूले एउटा पिकअप भ्यान रोकेर छानबिन गर्दा ९० बोरा सुपारी बरामद गरेको हो ।
उक्त परिणामको सुपारी मेचीनगरबाट अवैध रूपमा भित्राई नक्सलबारी हुँदै धुपगढी लैजाने योजना रहेको बताइएको छ। एसएसबीद्वारा आवश्यक कारबाहीपछि जफत गरिएको सुपारी बोकेको पिकअप भ्यानसहित पक्राउ गरेको व्यक्तिलाई पानी ट्याङ्की भन्सारलाई बुझाइसकेको भारतीय एसएसबीले जनाएको छ ।
त्यस्तै गैर कानुनी रूपमा नेपालबाट भारत भित्राइएको नेपाली ब्रान्डका मदिरा एसएसबीको १९औँ बटालियनको सुखानी र अम्बारी टोलीले दशगजा क्षेत्रबाट बरामद गरेको छ ।

सीमा नाकामा केही मानिसहरू नेपालबाट आएको देखिएपछि एसएसबीले तिनीहरूलाई रोक्न खोज्दा मदिरा छाडेर भागेका थिए । एसएसबीले ६३ बोतल नेपाली मदिरा बरामद गरेको थियो। आवश्यक कारबाही पछि एसएसबीले बरामद गरेको मदिरा नजिकैको प्रहरी कार्यालयमा बुझाइसकेको छ ।
पछिल्लो समयमा मेचीनगरको ज्यामिरगढी, काँकडभिट्टा, नकल बन्दा, तिरीङ, बाहुन डाँगी लगायतको नाकाबाट तस्करी भइरहेको यही घटनाले पुष्टि गरेको छ । स्थानीय प्रहरीको सेटिङमा त्यस नाकाहरूबाट मदिरा, सुपारी, छोकडा, मटर, मरीच तस्करीको माध्यमबाट भारत गइरहेको छ, भने लत्ताकपडा, रेडबुल, मोटरमार्टस, मोबाइल, हार्डवेययर , खाद्यान्न सामग्री भन्सार छलेर नेपाल भित्रिरहेको छ ।






























