पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइँदै

0
807

कञ्चनपुर,

महाकाली अस्पतालमा कोरोना परीक्षणका लागि ल्याइएको पिसीआर मेसिन सञ्चालनका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

सङ्घ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिले कात्तिक मसान्तभित्रै अस्पतालको कोषमा रकम जम्मा गरी पिसीआर मेसिन जडान गर्नका लागि सहयोग गर्ने भएका हुन् ।

सङ्घीय सांसदले रु २० लाखका दरले, सुदूरपश्चिम प्रदेशसभा सदस्यले रु १० लाखका दरले, नगरपालिकाले रु १५ लाखका दरले र गाउँपालिकाले रु १० लाखका दरले रकम सहयोग गर्ने प्रतिबद्धता गरेको महाकाली अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनुभयो ।

अस्पतालमा प्रयोगशाला निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । भीमदत्त नगरपालिकाले पिसीआर मेसिन खरिद गरी तीन महिनाअघि नै उक्त अस्पताललाई हस्तान्तरण गरेको हो । नगरपालिकाले रु ३८ लाखमा मेसिन खरिद गरेको हो । जडान खर्चको अभाव हुँदा मेसिन सञ्चालनमा आउन सकेको छैन ।

अस्पतालमा प्रयोगशाला निर्माणसहितका जनशक्ति व्यवस्थापन कार्य अगाडि बढेका छन् । भीमदत्त नगरपालिकाले जिल्ला समन्वय समिति, महाकाली अस्पतालबीच जिम्मेवारी बाँडफाँडसहितको सहमति भएर पिसीआर मेसिन सञ्चालनको कार्य अगाडि बढाइएको हो ।

जिल्ला समन्वय समितिको बैठकले पिसीआर मेसिन सञ्चालनका लागि चाहिने थप उपकरण खरिद गर्ने निर्णयसमेत गरेको छ । तीनवटै तहका जनप्रतिनिधिले गरेको प्रतिबद्धताअनुसार मेसिन सञ्चालनका लागि रु एक करोड २५ लाख रकम कोषमा सङ्कलन हुन लागेको छ । सङ्घ र प्रदेशका सांसदले पूर्वाधार साझेदारी विकास कार्यक्रमबाट सहयोग गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here