दशैंको आशिर्वादः ‘सन्तानले डाँडाकाँडा ढाकून्’ देखि ‘लाहुर जानू’सम्म……..

0
1056

दशैँः ‘सन्तानले डाँडाकाँडा ढाकून्’ देखि ‘लाहुर जानू’सम्म, यसरी भएको छ आशीर्वादको रूपान्तरण

  • उमाकान्त खनाल
दिलबहादुर लिम्बू

एउटा भनाइ नै छ, “जस्तोसुकै मनमुटाव भए पनि दशैँमा टीका लगाउन जानू, सबै मनमुटाव निर्मूल हुन्छ।”

दशैँ सद्भावको चाड भनेर पनि चिनिन्छ। दशैँका बेला अग्रजले दिने आशीर्वादले नेपाली संस्कारमा निकै महत्त्व राख्ने गरेको छ।

तर आशीर्वादमा समुदाय र पारिवारिक परम्पराअनुसार विविधता देखिन्छ। अग्रजहरूले आशीर्वाद दिँदा प्रगतिकै कामना गर्छन्।

तर समयक्रमसँगै दशैँमा दिइने आशीर्वचनमा क्रमशः रूपान्तरण भएको देखिन्छ।

सन्तानले डाँडाकाँडा ढाकून्’

इलामको फाकफोकथुमका दिलबहादुर लिम्बू अहिले ७४ बर्षका भए।

बाबु‍आमा हुन्जेल उनले अन्यत्र दशैँको टीका लगाउन जानुपरेन।

तर अहिले आफ्ना अग्रज कता छन् भनेर खोज्नुपर्ने अवस्था आएको उनी बताउँछन्।

आफ्ना बाबुआमाले दशैँको टीका लगाइदिएको सम्झिँदै उनले भने, “दुर्गा भवानीको आशीर्वादले सधैँ सबैलाई राम्रो होस् भनेर आशिर्वाद दिनुहुन्थ्यो।’

अहिले पनि त्यस्तै आशीर्वाद दिने चलन बाँकी भएको उनी बताउँछन्।

खासगरी पहाडतिर उनका जमानामा ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भनेर आशीर्वाद दिने चलन थियो। ठूलो परिवार र धेरै सन्तान हुनुलाई त्यतिबेला सम्पन्नताको प्रतीक मानिन्थ्यो।

उनले भने, “सन्तानको बृद्धिसँगै निरोगी हुनु भन्ने चलन थियो। जुन अहिले पनि प्रचलनमा छ।”

टीकासँगै लगाइने जमरा जसरी उम्रिन्छ, त्यसरी नै सन्तानमा कुनै क्षति नहोस् भन्ने चलन पनि भएको बूढापाकाहरू बताउँछन्।

दिलबहादुर लिम्बूले भने, “मैले आशीर्वाद दिँदा पनि जमरा जसरी सन्तान उम्रिऊन्, दुर्गा माताले सबैलाई निरोगी राखून् भनेर दिने गरेको छु।”

लाहुर जानू, पैसा कमाउनू

पहाडी जनजाति समुदायमा दशैँको छुट्टै मौलिकता छ।

अन्य समुदायका मानिसहरूले निधारमा रातो टीका लगाउँदा सेतो टीका लगाउने उनीहरूको एउटा विशेषता हो।

गौरीमान लिम्बू

त्योसँगै राई तथा लिम्बू समुदायमा ‘लाहुर गएर धेरै धन कमाउनू’ भन्ने जस्ता आशीर्वाद दिने प्रचलन एक समयमा थियो।

इलामका दिलबहादुर लिम्बूका अनुसार उनको भन्दा अघिल्लो पुस्तामा त्यो आशीर्वाद खुब प्रचलनमा थियो।

“पहाडतिर त्यस्तो आशीर्वाद दिने चलन मभन्दा अघिल्लो पुस्तामा थियो। अहिले त हरायो त्यो।”

इलामकै ८५ वर्षीय वृद्ध गौरीमान लिम्बूले पनि “लाहुर जानू, धेरै पैसा कमाउनू” भनेर आशीर्वाद पाएको सुनाए।

जनजाति समुदायका मानिसहरू लाहुर जाने प्रचलन रहेकोले आशीर्वादमा पनि त्यसले ठाउँ पाउनु स्वाभाविक नै हो।

परिवर्तन

सन्तानले डाँडाकाँडा ढाकून्, लाहुर जानू जस्ता आशीर्वाद समयसापेक्ष नभएको ती हराएका छन्।

गौरीमान लिम्बूका अनुसार अहिले आशीर्वादको मूल भाव परिवर्तन नभए पनि पछिल्लो पुस्ताले बुझ्नेगरी सामान्य भाषामा दिइने गरेको छ।

उनले भने, “संसार धेरै स्वार्थी भइदियो। जताततै झगडा छ। यो बेला ‘मिलेर बस्नू’ भनेर पनि आशीर्वाद दिने गरेको छु।”

काम नगरी खान नपाइने अवस्थामा नपढी काम नपाइने उनको बुझाइ छ।

त्यसैले अहिले उनी आफ्ना सन्तानलाई आशीर्वाद दिन्छन्, “धेरै पढ्नू, मिलेर बस्नू।”

कृष्णकुमारी ओली

रक्षाको कामना

झापाको बुद्धशान्ति गाउँपालिकाकी ९० वर्षीया कृष्णकुमारी ओलीको सानैमा बिहे भयो।

छ वर्षको उमेरमा उनी पतिको घर आइन्। तर सानाको दशैँ अहिले पनि उनको स्मरणमा ताजै छ।

“बाबै-आमैकहाँ टीका लगाउन जाइन्थ्यो,” उनले स्मरण गर्दै भनिन्, “सबभन्दा रमाइलो त मावल जाँदा हुन्थ्यो।”

उनले अहिलेसम्म पाँच पुस्तालाई टीका लगाइदिएकी छन्।

दशैँमा टीका लगाइदिँदा उहिलेदेखि उनले भन्ने गरिकी छिन्ः “भगवान्‌ले रक्षा गरून्।”

आफ्ना सन्तानलाई कतैबाट दुःख कष्ट नहोस् भन्ने कामना आफूले गर्ने गरेको ओलीले सुनाइन्।

उनले भनिन्, ‘अहिले पनि म त्यही भन्छु। सबैलाई धेरैधेरै आशीर्वाद छ। दुःख-कष्ट केही नहोस्।”

  • बीबीसी न्यूज नेपाली, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here