झापाका खोलामा झोलुङ्गे पुल अर्जुनधाराको ठूलो नेतेमा पुल बन्दा ३ सय ४१ परिवार लाभान्वित

0
779

बिर्तामोड।

अर्जुनधारा नगरपालिकाको उत्तरी क्षेत्रमा पर्ने खोलामा धमाधम झोलुङ्गे पुल निर्माण भइरहेका छन् । नगरवासीलाई सहज आवागमनका लागि अर्जुनधारा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानीमा नगरका विभिन्न खोला तथा होलीमा झोलुङ्गे पुल निर्माण भइरहेको अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बताए ।

अर्जुनधारा नगरपालिका–१को ठूलो नेते खोलामा झण्डै एक करोड रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । संघीय सांसद पवित्रा निरौला खरेलको अगुवाईमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत नेते खोलामा ११७.४० मिटर लम्वाईको झोलुङ्गे पुल निर्माण भएको हो । पुल निर्माण भएसँगै उत्तरी अर्जुनधारा नगरपालिकाको बिरान गौमुखी क्षेत्रका करिव ३ सय ४१ घर परिवार प्रत्यक्ष लाभान्वित भएको नगरप्रमुख रानाले बताए । पुल निर्माणका लागि एक लाख ७० हजार ४ सय ९८ रुपैयाँ ८८ पैसा जनश्रमदानसहित ८५ लाख २४ हजार ९ सय ४३ रुपैयाँ ९७ पैसामा पुल निर्माण सम्पन्न भएको बताइएको छ ।

पुल निर्माणका लागि सहारा नेपाल चारपानेले प्राविधिक सहयोग गरेको बताइएको छ । विरान–गौमुखी झोलुङ्गे पुल निर्माण आयोजनाको नामबाट पुल निर्माण गरिएको झापा क्षेत्र नम्वर २की सांसाद पवित्रा निरौला खरेलले बताएकी छिन् । पुल निर्माण सम्पन्न भएसंगै संघीय सांसद निरौलाकै अगुवाईमा त्यस क्षेत्रको स्थलगत अनुगमन समेत भएको छ । झोलुङ्गे पुल निर्माण भएसंगै उत्तरी अर्जुनधारावासीलाई फाइदा पुग्ने भएको छ । सरकारले देशभर नै तुइन हटाउने अभियान सञ्चालन गरेसँगै झापामा पनि झोलुङ्गे पुल निर्माणले प्राथमिकता पाएको अर्जुनधारा नगरपालिका प्रमुख रानाको भनाइ छ ।

अहिले अर्जुनधारा नगरपालिकाको ठूलो नेतेसहित अर्जुनधारा–५ र ७ लाई जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । त्यस्तै अर्जुनधारा ४ र ७ वाट दहीझोडा जाने सडकखण्डमा, वडा नम्वर ७को गोसखानदेखि पारिपट्टि जोड्न अर्काे झोलुङ्गे पुल निर्माणमा नगर जुटेको रानाको भनाइ छ । वडा नम्वर ३ र ४को बीचमा अमले र सहासी वस्तीको बीचमा पनि झोलुङ्गे पुल निर्माण थालिएको छ भने मजौ भन्ने स्थानमा जान राते खोलामा पनि पुल निर्माणको काम अघि बढाइएको बताइन्छ । यो आर्थिक वर्षमा चार वटा झोलुङ्गे पुल निर्माणको ठेक्का प्रक्रिया अघि बढाइने नगरप्रमुख रानाले बताए । आगामी वर्ष फर्सेवारी र चुप्पे कैदले भन्ने स्थान जानका लागि झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य रहेको नगर प्रमुख रानाले बताए ।

संघीय सरकारले झोलुङ्गे पुल निर्माणका लागि सहयोग गरेसँगै अर्जुनधारा नगरपालिकामा मात्र नभई झापाका विभिन्न खोला तथा नदीहरुमा झोलुङ्गे पुल निर्माणले तीव्रता पाएको संघीय सासंद खरेलको भनाइ छ । झापा क्षेत्र नम्वर २को उत्तरी क्षेत्रका वासिन्दालाई सहज आवागमनका लागि आफ्नै पहलमा बढीभन्दा बढी पुल निर्माणका लागि प्रस्ताव लगेको र धमाधम पुल निर्माण भइरहेको खरेलको भनाइ छ ।

सहारा नेपालको प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७५÷०७६ मा झापाका विभिन्न २१ स्थानमा झोलुङ्गे पुल निर्माण भएका थिए । ग्रामीण क्षेत्रका सर्वसाधारणको सामाजिक तथा आर्थिक स्रोेत एवम् अवसरहरुमा पहुँच बढाउँदै गरिबी निवारणमा टेवा पु¥याउने उद्देश्यले झापाका विभिन्न खोलामा झोलुङ्गे पुल बनाइएको थियो । सात करोड ७७ लाख ९२ हजार दुई सय ७३ रुपैयाँको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलका कारण ३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएको आंकलन गरिएको छ ।

नेपाल सरकारको क्षेत्रगत कार्यक्रम स्वाप अन्तर्गतको केन्द्रीय अनुदान ९२ प्रतिशत, तत्कालीन जिल्ला विकास समितिको ३ प्रतिशत, गाविसको ३ प्रतिशत र उपभोक्ताको २ प्रतिशत गरी शतप्रतिशत लागतमा झोलुङ्गे पुल निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका तत्कालीन निर्देशक लीलाप्रसाद नेपालले बताए ।
यसअघि झापामा आर्थिक वर्ष २०७०÷०७१ मा हल्दिबारी–१ गोलधाप र बाह्रदशी–५ चकचकीमा अधेरे खोलामा फोक्लेण्ड टापू ट्रष्ट ब्रीज निर्माण भएको थियो । कूल ३२ मिटर लम्बाईको सो झोलुङ्गे पुल निर्माणसँगै ८३ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् जसको लागत रु. १७ लाख १६ हजार रहेको छ । त्यस्तै एक सय ९० घरधुरी लाभान्वित हुने गरी अन्धुवा खोलामा सतानुबाडी ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल मिटर लम्बाईको यो पुल रु. १२ लाख ७१ हजारमा निर्माण भएको हो ।

बिर्तामोड–१० र गरामनी–१० जोड्ने धरधरे खोलामा १६ मिटर लम्बाइको धरधरे ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण एक सय ३५ परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यो पुल रु. १० लाख १५ हजारको लागतमा निर्माण गरिएको हो । त्यस्तै, मेचीनगरको धाइजनमा ढाक्रे खोलामा पनि बाँसबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल २८ मिटर लम्बाईको सो पुल बनाउन रु. १५ लाख ६२ हजार खर्च लागेको बताइएको छ । यसबाट दुई सय ६७ परिवार लाभान्वित भएका छन् ।
वि.सं. २०७०÷०७१ मा निर्माण गरिएका झोलुङ्गे पुलबाट छ सय ७५ घरपरिवार प्रत्यक्ष लाभान्वित बनेको र तीन हजार तीन सय ३८ जना लाभान्वित संख्या रहेको बताइएको छ । चारवटा पुल निर्माणमा रु. ५५ लाख २९ हजार खर्च भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका तत्कालीन निर्देशक नेपालले बताए । आर्थिक वर्ष २०७१÷०७२ मा चारवटा पुल निर्माण भएका छन् । पुल निर्माणसँगै सात सय ९८ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइएको छ । कूल रु. ७७ लाख ५७ हजारको लागतमा निर्माण गरिएको चारवटा पुलबाट तीन हजार आठ सय ५२ घरपरिवार लाभान्वित भएको बताइएको छ ।

वि.सं. २०७१÷०७२ मा पथरी–८ र केचना–९ मा पर्ने अमलपुट्टा खोलामाथि २० मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. १२ लाख ४८ हजारको लागतमा निर्माण गरिएको सो पुलले दुई सय ३७ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको बताइन्छ । पुलको नाम आदर्श टोल ब्रीज ट्रष्ट राखिएको छ । बुधबारे–१ तामाखोलामा दामातार ट्रेल ब्रीज निर्माण गरिएको छ । कूल ७५ मिटर लामो सो पुलबाट दुई सय एक घरपरिवार लाभान्वित भएका छन् । जसको लागत २८ लाख १६ हजार दुई सय ९३ रुपैयाँ रहेको छ ।

त्यस्तै सतासी खोलामा पनि मैनाचुली ब्रीज निर्माण गरिएको छ । सतासीधाम–९ मा पर्ने सतासी खोलको पुलको लम्बाई ४५ मिटर रहेको छ । पुल निर्माणसँगै त्यस क्षेत्रका एक सय ४७ परिवार लाभान्वित भएका छन् । पुल निर्माणका लागि रु. १९ लाख ५९ हजार खर्च भएको छ । यता, तोपगाछी–९ र तोपगाछी–२ जोड्ने ढ्यांग्री खोलमा २८ मिटर लामो झोलुङ्गे पुल बनाइएको छ । कूल रु. १७ लाख ३३ हजारको लागतमा निर्माण गरिएको ढ्यांग्री ट्रष्ट ब्रीजबाट दुई सय १३ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

वि.सं. २०७२÷०७३ मा पनि चार वटा झोलुङ्गे पुल निर्माण भएका छन् । तत्कालीन ज्यामिरगढी–४ र दुहागढी–८ मा ११७.४ मिटर लामो धगेरे भंगोला ब्रिज निर्माण भएको छ । कूल रु. ६५ लाख १८ हजारको लागतमा निर्माण भएको झोलुङ्गे पुलबाट पाँच सय ५० परिवार लाभान्वित भएका छन् । त्यस्तै जलथल–३ को काजली खोलामा समेत पुल निर्माण भएको छ । कूल १०७ मिटर लामो पुलका कारण एक सय ५० परिवार लाभान्वित भएका छन् । रु. ५७ लाख ९३ हजारको लागतमा सो पुल निर्माण भएको हो जसको नाम चौकीविरान टे«ल ब्रीज राखिएको छ । त्यस्तै देउनीया खोलामा पनि मसानघाट टे«ल ब्रीज निर्माण भएको छ । भद्रपुर–१४ र गरामनी–२ जोड्ने १०६ मिटर लामो पुलका कारण एक सय ९६ परिवार लाभान्वित भएका छन् । यसको लागत रु. ४८ लाख ३२ हजार रहेको छ ।

यता, अर्जुनधारा नगरपालिकाको रेखा खोलामा पनि सुखानी टे«ल ब्रीज निर्माण भएको छ । कूल रु. ४२ लाख ९१ हजारको लागतमा सुखानी टे«ल ब्रीज निर्माण भएको हो । वि.सं. २०७३÷०७४ मा घाग्राखोलामा सिमलचोक टे«ल ब्रीज निर्माण भएको छ । डाँगीबारी–७ मा पर्ने घाग्राखोलामा निर्माण गरिएको पुलको लम्बाई ६९.४ मिटर रहेको छ । कूल रु. ४० लाख ३१ हजारमा निर्माण गरिएको पुलबाट त्यस क्षेत्रका पाँच सय १५ घरपरिवार प्रत्यक्ष लाभान्वित भएको तथ्याङ्क छ ।

वि.सं. २०७४÷०७५ मा झापाका आठ स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. चार करोड ३८ लाखको लागतमा निर्माण भएका ती झोलुङ्गे पुलबाट तीन हजार पाँच सय २० घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । त्यस्तै झापा गाउँपालिका–१ को सानोमाईसहित हल्दिबारी–१ र बाह्रदशी–५ को अन्धुवा खोला सापडिग्री खोलामा ९६ मिटर लामो मुक्तिघाट मल्टीट्रष्ट ब्रीज निर्माण गरिएको छ । यसको लागत रु. ९७ लाख ६९ हजार रहेको छ । सो पुलका कारण एक हजार एक सय २० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

गौरीगञ्ज गाउँपालिकाको महाभारा र बैगुनधुरा जोड्ने कमल खोलामा पनि चाँदनी–कुञ्जीबारी ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल ३२ मिटर लामो ट्रष्ट ब्रीज निर्माणका लागि रु. ३७ लाख ४१ हजार खर्च भएको बताइएको छ । सो पुलका कारण चार सय ६० परिवार लाभान्वित भएका छन् । त्यसैगरी कमल गाउँपालिकाको तोपगाछीको भुत्लुङ्ग खोलामा ३२ फिट लामो ज्योति भुत्लुङ्ग ट्रष्ट ब्रीज निर्माण भएको छ । कूल रु. २८ लाख १३ हजारको लागतमा निर्माण गरिएको पुलका कारण तीन सय घरपरिवार लाभान्वित हुने बताइएको छ ।

त्यस्तै अर्जुनधारा–२ को गोयाङ खोलामा ८८ मिटर लामो राते–गाँजाबारी झोलुङ्गे पुल निर्माण गरिएको छ । कूल रु. ७७ लाख ५३ हजारको लागतमा निर्माण गरिएको झोलुङ्गे पुलले तीन सय ५० परिवार लाभान्वित हुने बताइएको छ । निन्दा खोलामा पनि मिनी माउन्टेन झोलुङ्गे पुल निर्माण भएको छ । कूल ८३ मिटर लामो झोलुङ्गे पुलले मनेपा बाहुनडाँगी र जिर्मले इलामलाई जोड्ने बताइएको छ । जसको लागत रु. ६७ लाख ५१ हजार रहेको छ । यसबाट चार सय ८० परिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

हल्दिबारी–१ गोल्धापमा ॐकारेश्वर झोलुङ्गे पुल निर्माण भएको छ । कूल ३२ मिटर लामो झोलुङ्गे पुलका कारण पाँच सय ३० परिवार प्रत्यक्ष लाभान्वित भएका छन् । यसका लागि रु. ४४ लाख ६० हजार खर्च भएको बताइएको छ । त्यस्तै, सतासीधामको धरमपुरमा लेलिया खोलामा २० मिटर लामो प्रगति टोल ट्रष्ट ब्रीज निर्माण भएको छ जसका कारण दुई सय ८० परिवार लाभान्वित भएका छन् । कूल २६ लाख १० हजारको लागतमा सो ट्रष्ट ब्रीज निर्माण भएको सहारा नेपालका सामुदायिक झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमका निर्देशक नेपालले बताए । पछिल्लो समय झापा गाउँपालिकामा पर्ने सानो माईका विभिन्न ठाउँमा पनि धमाधम झोलुङ्गे पुल निर्माण भइरहेको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here