पीत पत्रकारिताबाट जोगिनुपर्छ

0
979

पीत पत्रकारिता झुठको खेती गर्ने पत्रकारिता हो । यो टिकाउभन्दा बिकाउ पत्रकारिता हो । पीत पत्रकारिताले जसरी पनि अखबार बिकाउने उद्देश्यबाट प्रेरित भई लेखिने समाचारको सहयोग लिन्छ जसमा तथ्य कम र कथ्य बढी हुन्छ । पाठकका आँखालाई आकर्षित पार्ने गरी रचिएका समाचारका शीर्षक र सस्ता तस्वीरहरूको प्रयोगले पाठक भ्रमित हुन जान्छन् । यसभित्र आँखालाई आकर्षित गर्ने खालका सामग्रीमा ठूला अक्षर, उत्तेजक अभिव्यक्ति, रङ्गीन तस्वीर र चित्रहरूको प्रस्तुति पर्दछन् । समाचारमा परिचय नखुल्ने अज्ञात स्रोतहरूको प्रयोग र सथ्यतथ्य सामग्रीभन्दा आँखा लोभ्याउने साजसज्जामा जोड र तिललाई पहाड बनाए झैं बढाइचढाइयुक्त सूचना सम्प्रेषण जस्ता प्रवृत्ति पीत पत्रकारिताका खास विशेषताहरू हुन् । सबैभन्दा सरल वाक्यमा भन्ने हो भने अखबारको बिक्री बढाएर पैसा कमाउने होडबाजीका लागि पत्रकारहरूले जे–जस्ता पासाहरूको प्रयोग गर्छन् ती सबै कृत्यहरू पीत पत्रकारिताभित्र पर्छन् । यसमा तथ्यहरूको तुलना र सम्प्रेषणभन्दा पाठकलाई उल्लु बनाउने झूठ सामग्री, फतुर गफगाफ र बकवासको बाहुल्य रहन्छ ।


नेपाली पत्रकारिताको सन्दर्भमा सूचनाको बढाइचढाइ, राजनीतिक पूर्वाग्रह प्रेरित भएर कुनै अमूक पार्टीको स्वार्थसिद्धिका लागि क्रियाशील सञ्चारमाध्यमले गर्ने विचारको प्रवद्र्धन वा नियोजन, गहिराइमा नपुगी सतहबाट बटुलिएका सूचनाहरूलाई नै सम्पूर्ण सत्य मानेर गरिएको सम्प्रेषण, विवादित विषयमा गरिएको एकतर्फी पक्षपोषण, विज्ञापन नपाएको बदलामा समाचार लेखेर प्रतिशोध साँध्ने प्रचलन आदि सबै पीत पत्रकारिताका नमूना हुन् । यसखालको पत्रकारिता कसैले नियतबस गरोस् वा नजानेर गरोस्, त्यो पत्रकार पीत पत्रकारिताको हिमायती ठहर्छ । यस्ता प्रवृत्तिले स्वच्छ र व्यावसायिक पत्रकारिता पेशाको प्रबद्र्धन हुन दिँदैन । यस्तो पत्रकारिताले समाजमा उठेका समस्याहरूलाई समाधान दिंदैन, बरु समाधानको यात्रामा व्यवधान पु¥याउँछ । देश र दुनियालाई अग्रगतिको बाटोमा डो¥याउनुको साटो खतिको खाल्डोमा धकेल्छ ।

पीत पत्रकारिताको विकास अस्वस्थ प्रतिष्पर्धाबाट हुन्छ । यस्तो होडबाजी गैरव्यावसायिक, अस्वस्थ र आफ्नै अस्तित्वका लागि घातक हुन्छ । जसरी पनि धन आर्जन गर्ने प्रतिष्पर्धामा यस्तो विकृतिको जन्म हुन्छ, जसले पत्रकारितामा कहिल्यै नमर्ने भाइरस भएर सताइरहन्छ । पीत पत्रकारिता निच पत्रकारिता हो, यसले आचारसंहिताको पालना गर्ने कल्पना पनि गर्दैन । यसले नागरिकलाई गलत समाचारबाट हायल कायल बनाउँछ । यसले समाजसेवी, राजनेता र असल व्यक्तित्वलाई हिलो छ्याप्ने गर्छ । निम्नस्तरका टिप्पणी, कपोलकल्पित भिडियो संवाद, आधारहीन र तथ्यहीन समाचारका साथै अति नै तुच्छ प्रकृतिका शब्द चयनले यस्तो पत्रकारिता बदनाम भएको छ । विषवमन गर्न कै लागि पीत पत्रकारिताको जन्म भएको हो, जसले प्रस्तुत गर्ने निरन्तरका निराधार र बिना प्रमाणका झुठ समाचारले गर्दा नै सञ्चार जगतको नागरिकसँगको हार्दिकतापूर्ण सम्बन्ध समाप्त हुन्छ । व्यक्तिको नैसर्गिक स्वतन्त्रता माथि धावा बोल्ने अधिकार सञ्चार जगतलाई हुन्न । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै जाती भन्ने नेपाली उखानै छ । तसर्थ, नेपाली पत्रकारिता जगतले पीत पत्रकारिताको महारोगबाट जोगिन बेलैमा सचेत हुन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here