महिला हिंसाविरुद्ध शून्य सहनशीलता

0
1078

लैङ्गिक हिंसाविरुद्ध नेपाली समाजमा सचेतना बढ्दै गएको छ । यस सम्बन्धमा सर्वत्र सजगता भए पनि महिला हिंसाका घटनामा कमी हुन सकेको छैन । छ÷सात वर्षका बालिकादेखि वृद्धाहरु पनि कुनै न कुनै प्रकारका शोषण र हिंसामा परेका अनगिन्ती घटनाहरु उजागर भइरहेका छन् । मानिस सभ्य हुँदै गएको मानिएको आजको युगमा अझै किन बर्बर र जङ्गली व्यवहारको पुनरावृत्ति भइरहेको छ ? पितृसत्तात्मक समाजको कुरुप अनुहार प्रत्येक दिन समाचारका पानाहरुमा असरल्ल छरिएका हुन्छन् । मानवीय सभ्यताका मुखुण्डोभित्र नरभक्षी, असभ्य र क्रुर अनुहार लुकेको देखिन्छ । आज पनि महिला माथि हुने हिंसा कम भएका छैनन् बरु हिंसाका अनेक रुप बाहिर आएका छन् । संविधानले महिला अधिकारका पक्षमा वकालत गरे पनि बनेका कानून कार्यान्वयन गर्ने निकायमा बसेकाहरु नै न्याय दिन उदासीन छन् । महिलाको हक–अधिकारको रक्षा हुन्छ भन्ने कुरामा ढुक्क हुन सकिन्न । महिला हिंसाका अनगिन्ती घटना हामीले हाम्रै वरिपरि देखिरहेकै छाँै । रक्षकहरु नै भक्षक हुँदा न्याय मरिरहेको दुःखद् अवस्था हाम्रो मुलुकमा छ । महिला र पुरुषबीचको विभेद, दाइजो, मादक पदार्थ, जुवातास, बालविवाह, बहुविवाह आदि नै महिला हिंसा र घरेलु हिंसाका प्रमुख कारकतत्व हुन् ।

महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने क्रमसँगै हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल आवश्यक हुन्छ । महिला तथा बालबालिकाको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक–अधिकार सुनिश्चित गर्न आवश्यक छ । बोक्सीको आरोप, छाउपडी, दाइजो जस्ता कुप्रथा समाजमा रहेकाले महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य हुने गरेका छन् । अध्ययन अनुसार विश्वभर प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरुका अत्यन्तै निकट नातेदार वा जीवनसाथीबाट भोगेको पाइएको छ । नेपालको संविधान २०७२ को मौलिक हक अन्तर्गत समानताको हकमा कुनै पनि नागरिकलाई जाति, धर्म, वर्ण र लिङ्गको आधारमा भेदभाव गरिने छैन भन्ने उल्लेख गरिएको छ । घरेलु हिंसा राज्यको शैक्षिक, आर्थिक, राजनीतिक, कानूनी पाटोका त्रुटिहरु महिला हिंसाका कारण बनिरहेका छन् ।

महिला हिंसाको कुरा उठाउनु भनेको पुरुषविरुद्ध माहौल बनाउनु हो भन्ने मानसिकता छ । महलिा हिंसा पितृसत्तात्मक सामाजिक संरचनाका कारण भएको हो । महिला हिंसामा महिलाहरु पनि सामेल भएका धेरै उदाहरणहरु छन् । तसर्थ, महिला हिंसा न्यूनीकरणका लागि महिला र पुरुष दुबैका सहकार्य आवश्यक छ । सबै पक्ष एकजुट हुन जरुरी छ । महिला हिंसा न्यूनीकरणका पानीको प्रयासहरु फोका जस्तो फुट्नु हुँदैन । स्वतन्त्रता र समानतासहितको समाज स्थापनाका लागि महिला हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमा लागू गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here