१०० करोड क्लबमा हाम्रो नेपाल सहकारी

0
1093

बिर्तामोड।

बिर्तामोड–४मा मुख्य कार्यालय रही झापाभर कार्य क्षेत्र रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि. १०० करोड क्लबमा प्रवेश गरेको छ ।

वासलातको हिसाबले हाम्रो नेपाल साकोस १०० करोड क्लबमा प्रवेश गरेको हो । योसँगै १०० करोड क्लबमा प्रवेश गर्ने झापाका सहकारीको संख्या आठ पुगेको छ ।

संस्थाको आठौं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गर्दै बुधवार बिर्तामोडमा संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले संस्थाको वासलात एक अर्ब ६ करोड पुगेको जानकारी दिए ।

असार मसान्तसम्म ०७८ करोड वासलात रहेको संस्थामा गत असोज मसान्तमा उक्त अवस्था कायम भएको उनले बताए । संस्थाका अध्यक्ष दंगाल र सल्लाहकार संयोजक भगीरथ आले मामाले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका थिए । स्थापनाको छोटो अवधिमा संस्थाले उल्लेख्य प्रगति गरेको देखिन्छ ।

मंगलवारसम्ममा संस्थाको शेयर पुँजी ९ करोड १८ लाख पुगेको छ । शेयर सदस्य संख्या १४ हजार चार सय ४३ छन् । संस्थाले १५ सेवा केन्द्रमार्फत ५५ करोड ४८ लाख निक्षेप संकलन गर्न सफल भएको छ भने ऋण लगानी ८१ करोड ९१ लाख रुपैयाँ रहेको अध्यक्ष दंगालले बताए ।

संस्थाको कोभिड–१९को महामारीका कारण २० गतेदेखि कात्तिक २५ गतेसम्म संस्थाले ५ वटा इकाई बनाएर इकाइगत साधारणसभा गरी सदस्यहरुलाई प्रगति प्रतिवेदन वितरण गरी सदस्यहरुबाट सुझाव संकलन गरिने उनले बताए ।

संस्थाको स्थापनाकालदेखि नै वार्षिक साधारणसभा भदौ २२ गते गरिने भए पनि कोरोना भाइरसको प्रकोपबाट उत्पन्न असहज परिस्थितिको कारण संस्थाको आठाँै वार्षिक साधारणसभा तथा दोस्रो एकीकरण सभा आगामी कात्तिक २७ गते आठौं वार्षिक साधारणसभा गरिने उनले बताए ।

सबै सदस्यहरु एकै स्थानमा भेला भई साधारणसभा गर्न नसकिने परिस्थितिका कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै गराउँदै उच्च सतर्कता र सावधानीका साथ साधारणसभा सम्पन्न गर्नुपर्ने सहकारी विभागद्वारा जारी निर्देशनका आधारमा यस संस्थाको आठौँ वार्षिक साधारणसभा तथा दोस्रो एकीकरणसभा आगामी कात्तिक २७ गते आठौं वार्षिक साधारणसभा गरिने उनले बताए ।

हाम्रो नेपालले सदस्यको हित र समाजमा महत्वपूर्ण दायित्व निर्वाह गरेको देखिन्छ । उक्त संस्थाले नियमित बचत गर्ने दुई हजार पाँच सय ८७ जना सदस्यको कोरोना बिमा गरिदिएको छ । सदस्यको कोरोना विमा गरिदिने यो संस्था जिल्लाकै पहिलो भएको जिल्ला सहकारी संघका सहसचिव समेत रहेका संस्थाका अध्यक्ष दंगालले बताए ।

उक्त बिमावापतमार्फत संस्थाले ८ लाख ६१ हजार ६ सय २० रुपैयाँ प्रिमियम रकम भुक्तानी गरेको छ । त्यस्तै असार मसान्तसम्ममा १२ लाख १४ हजार रुपैयाँ बराबरको हर्जना र १७ लाख २३ हजार नौ सय २८ रुपैयाँ व्याज छुट समेत दिएको छ ।

अध्यक्ष दंगालले भने– ‘हामीले सेवा केन्द्र रहेका १५ वटै पालिकामा कोरोना महामारीका बेला स्थानीय सरकारले स्थापना गरेका कोषमा ६ लाख ३० हजार रुपैयाँ सहयोग गरेका छौं भने एकका लागि एक अभियानले स्थापना गरेको पीसीआर ल्याबका लागि जिल्ला सहकारी संघमार्फत एक लाख एक हजार रुपैयाँ सहयोग गरेका छौं ।’

कोरोना महामारीको विषम् परिस्थितिमा पनि सदस्यप्रतिको उत्तरदायित्वबाट विचलित नभई संस्थाले उल्लेख्य प्रगति हासिल गरेको उनले बताए । गतअसार मसान्तसम्म १० करोड ३१ लाख ९० हजार एक सय १३ रुपैयाँ आम्दानी गरेको संस्थाले ४९ लाख चार हजार चार सय २१ रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

संस्थाले ७५ जना शेयर सदस्यलाई सुत्केरी तथा पोषण सुविधा वापत एक लाख आठ हजार पाँच सय ७० रुपैइाँ वितरण गरेको छ भने २७ जना शेयर सदस्यका नवजात शिशुलाई न्यानो कपडा तथा रकम प्रदान गरेको छ ।

त्यस्तै ७ जना सदस्यलाई उपचार सहयोग रकम प्रदान गरेको छ भने ३ वटा सामाजिक संस्थालाई रकम सहयोग गरेको छ । त्यसैगरी ११ जना सदस्यका मृत्यु भएका परिवारमा समवेदना व्यक्त गर्दै मृत्यु राहत सुविधा वापत रकम प्रदान गरेको संस्थाले जनाएको छ । संस्थाका उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेको कार्यक्रम अध्यक्ष दंगालको अध्यक्षतामा भएको थियो । सञ्चालन सचिव विश्लेश्वर (वीपी) लामिछानले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here