‘सरकारले उद्योगी–व्यवसायीलाई राहत दिनुपर्छ’

0
896
कुमार भट्टराई :अध्यक्ष
बिर्तामोड उद्योग वाणिज्य संघ

कोभिड– १९ का कारण यस क्षेत्रको उद्योग व्यवसायमा कस्तो प्रभाव परेको छ ?

– विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण बिर्तामोड क्षेत्रको उद्योग व्यवसायमा निकै नराम्रो प्रभाव परेको छ । पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित बिर्तामोड भएकाले बिर्तामोडमै उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगी व्यवसायी मात्र नभएर अन्य क्षेत्रबाट पनि बिर्तामोडमा आएर उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगी व्यवसायी भएकाले कोरोना भाइरसको संक्रमणको त्रासका कारण झापामात्र नभएर इलाम, पाँचथर, ताप्लेजुङसम्म कै उद्योग व्यवसायमा नराम्रो प्रभाव परेको छ । समग्रमा देशभर नै विश्वव्यापी रुपमै यसको प्रभाव नराम्रो छ ।

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गर्दा त्यसको प्रभाव सबैभन्दा बढी उद्योग व्यवसायमा पर्यो त्यसबाट बिर्तामोड क्षेत्रको उद्योग व्यवसाय पनि अछुतो रहन सकेन । विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण उद्योग तथा व्यवसाय क्षेत्रले आर्थिकरूपमा ठूलो क्षति व्यहोर्नु परेकोे छ । लकडाउनमा उद्योग व्यवसाय सञ्चालन नहुँदा र लकडाउन खुलेसँगै उद्योग व्यवसाय सञ्चालन भए पनि ग्राहक त्यति नआउँदा यस क्षेत्रका उद्योग व्यवसायहरु पनि नराम्ररी प्रभावित भइरहेका छन् ।

कोभिड–१९ बाट बचेर उद्योग व्यवसाय समेत सञ्चालन गर्नमा संघको के भूमिका रह्यो ?

– विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोडमा उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगी व्यवसायीहरुलाई मास्क वितरण गर्यो । त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघले बिर्तामोडमा उद्योग व्यवसाय सञ्चालन गर्ने उद्योगी व्यवसायीहरुलाई भौतिक दूरी, स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उद्योग व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै स्वास्थ्य सचेतनामूलक ब्रुसर वितरण गर्नुका साथै जनचेतनामूलक कार्यक्रम गर्यो । बिर्तामोड उद्योग वाणिज्य संघले कोरोना भाइरसको संक्रमणबाट बचेर उद्योग व्यवसाय सञ्चालन गर्नका लागी यस क्षेत्रका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरी उद्योग व्यवसाय सञ्चालन गर्न सहज वातावरण तयार गर्ने कार्य गर्यो ।

उद्योगी व्यवसायीका समस्यालाई कसरी हेर्नु भएको छ ?

– विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण यतिबेला उद्योगी व्यवसायी पीडामा छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवसाय ठप्प हुँदा उनीहरलाई उद्योग व्यवसाय निल्नु न ओकल्नु भएको छ । विर्तामोड उद्योग वाणिज्य संघको अध्यक्ष भएको हैसियतले मैलै उद्योगी व्यवसायीको समस्यालाई नजिकबाट नियालिरहेको छु । उद्योग व्यवसाय क्षेत्रमा कोरोना भाइरसले पारेको समस्या समाधान गर्न स्थानीय तहदेखि प्रदेश र संघसम्मका सरकार प्रमुख र उद्योग वाणिज्य महासंघका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएर समस्याबारे ध्यानाकर्षण गराएको छु ।

उद्योगी व्यवसायीले राहत नपाएको, सरकारले आफ्ना समस्या सुनवाई नगरेको गुनासो छ । यसबारे के भन्नुहुन्छ ?

– विश्वव्यापी महामारीको रुप लिइरहेको कोराना भाइरसको संक्रमण कायमै छ । एकातिर खोप नआउञ्जेल यसको रोकथाम, उपचार र व्यवस्थापनमा लाग्नुपर्ने खाँचो छ भने अर्कातिर कोरोना संक्रमणको बीच पनि उद्योग व्यवसाय चलायमान राख्नुपर्ने अवस्था छ । कोराना भाइरसको संक्रमणको त्रासका कारण उद्योग व्यवसाय ठप्प भएर पलायनको अवस्थामा पुगेका उद्योगी व्यवसायीहरुलाई लक्षित गरेर राहत दिनुको साटो सरकारले पाँच प्रकारका कर लगाएर उद्योगी व्यवसायीहरुको ढाड सेक्ने काम गरेको छ । सरकारले यसबेला कोरोना प्रभावित व्यवसायहरूलाई राहत दिन सहुलियतपूर्ण कर्जा र पुनःकर्जाको व्यवस्था गर्नुपर्छ भने उद्योगी व्यवसायीहरुका लागी छुट्टै प्याकेज ल्याउनु पर्छ । स्थानीय सरकारले उद्योगी व्यवसायीहरुका लागी घरवहाल करमा छुट दिन म स्थानीय सरकारलाई आग्रह गर्दछु ।

तपाईं कार्यकालको अन्त्यतिर हुनुहुन्छ । आफ्नो कार्यकाललाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

– २०७४ साल भदौ २४ गते बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर कार्यभार सम्हालेपछि यहाँसम्म आइपुग्दा मेरो कार्यकाल पूर्णरुपमा सफल भएको मैले अनुभूत गरेको छु । मेरो कार्यकालमा संघको छुट्टै कार्यालय भवन (अफिस )निर्माण गरिएको छ भने आन्तरिक राजश्व कार्यालयबाट संघका लागि पान नंं. निःशुल्क गरिएको छ । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघको सदस्यता लिइएको छ भने झापाका स्थानीय तह, राजनीतिक दल, सामाजिक संघ–संस्थासँग समन्वय गरी बिर्तामोड उद्योग वाणिज्य संघको गरीमालाई उच्च राख्ने काम मेरो कार्यकालमा भएको छ ।

त्यस्तै बिर्तामोड उद्योग बाणिज्य संघको आयोजनामा गत माघ १३ गतेदेखि २३ गतेसम्म बिर्तामोडमा भएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवबाट बचत भएको रकमले बिर्तामोड उद्योग बाणिज्य संघको संरक्षण र व्यवस्थापनमा सञ्चालित अतिथि सदनको माथिल्लो तला सुविधासम्पन्न वनाइएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटिहोममा समर्पण राष्ट्रिय अभियानको भवनमा पीसीआर ल्याव सञ्चालन गर्न बिर्तामोड उद्योग बाणिज्य संघले साझेदारी संस्थाको भूमिका निर्वाह गरेको थियो ।

त्यसैगरी बिर्तामोड क्षेत्रमा रहेका विपन्न परिवारलाई खाद्यन्न तथा अत्यावश्यक सामग्री खरिदको लागि बिर्तामोड नगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा बिर्तामोड उद्योग वाणिज्य संघले एक लाख एक हजार रुपैयाँ प्रदान गर्यो । महिला उद्यमीहरुको सशक्तिकरणका लागि विभिन्न तालिम, गोष्ठी, अन्तरक्रिया प्रदान गरिएको थियो भने व्यवसायिक क्षेत्रभन्दा बाहिर पनि विभिन्न मानवीय तथा सामाजिक कार्य गरिएको थियो । त्यस्तै मेरै अध्यक्षतामा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सुरक्षालाई ध्यानमा राख्दै अन्धुवा खोला हुँदै मुक्तिचोक दक्षिण मेची आँखा अस्पतालसम्म सीसी क्यामेरा जडान गर्ने कार्य शुरु गरी अन्त्य हुने क्रममा छ ।

आफ्नो कार्यकालमा गर्न नसकेका काम केही छन् कि ?

– बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर धेरै कार्य गर्छुृ भन्ने सोचेको थिएँ, तर पछिल्लो पटक विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासले गर्दा केही कार्य गर्न छुटे जस्तो लागेको छ । अन्तर्राष्ट्रिय दातृ संस्थासँग बिर्तामोडलाई चिनाउन आकर्षक घण्टाघर निर्माण गर्ने योजनाबारे छलफल हुँदै थियो । तर, कोरोना कहरले लकडाउन भएर त्यो मेरो कार्यकालमा पूरा हुन सकेन । तपाईंहरुले चुनावको मिति तोक्नु भएको छ ।

होला त चुनाव ?

– बिर्तामोड उद्योग वाणिज्य संघको वार्षिक साधारण सभा आगामी मंसीर ७ गते र नयाँ कार्यसमितिको चयन गर्नका लागि आगामी पुस ७ गते चुनावको मिति तोकिएको छ । स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर निर्धारित मितिमै वार्षिक साधारण सभा र चुनाव गर्ने तयारीमा हामी छौं । विश्वव्यापी महामारीको रुप लिइरहेको कोराना भाइरसको संक्रमणको दर बढ्दै गएर असहज परिस्थिती उत्पन्न भयोभने वार्षिक साधारण सभा र चुनाव केही समयपछि धकेलिन सक्छ ।

अब केही महिना बा“की छ, तपाईंको कार्यकाल । के छ योजना ?

– बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर सम्हालेको कार्यभार सकिनै लागेको छ । बिर्तामोड उद्योग वाणिज्य संघको संरक्षण र व्यवस्थापनमा सञ्चालित अतिथि सदनलाई रंगरोगन गरी आकर्षक बनाउने लक्ष्य छ । त्यस्तै यस क्षेत्रका उद्योगी व्यवसायीको समस्या समाधान गर्दै उनीहरुको हकहीत र अधिकार रक्षार्थ लागीपर्ने छु ।

प्रस्तुति : तुलसीप्रसाद निरौला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here