अन्तर्जातीय विवाहः घरको न घाटको

0
516

बिनोद सापकोटा, झापा ।

श्रीमान्को अवसान भएपछि शिवसताक्षी–११ दूधेकी भीमाकुमारी चौधरी (राई) घरको न घाटको भएकी छन् । ०५९ सालमा गाउँकै रामबहादुर राईसँग अन्तर्जातीय प्रेम विवाह गरेकी भीमाका श्रीमान्को सडक दुर्घटनामा परेर मृत्यु भएपछि राई परिवारको जीवनमा ‘ब्रेक’ लागेको हो । सम्पत्ति नभए पनि श्रीमान् हुँदा दुःख सुख साटासाट हुन्थ्यो । त्यो बेला पीडा भुलेर पनि मन प्रफुल्ल हुन्थ्यो ।

गाउँघरमा मेलापात जाँदा रामबहादुरसँग भीमाको माया पिरती बसेको थियो । दुबै जनाले सँगै बाँच्ने अनि सँगै मर्ने कसम खाएपछि उनीहरुले परिवारको इच्छा विपरीत भागेर विवाह गरे । आफन्त र गाउँलेले थाह पाउँछन् कि भनेर भीमाकुमारी रामबहादुरसँग भारतको दिल्ली कुलेलम ठोकिन् । घरगाउँबाट भागेपछि त केही न केही काम त पाइहालिन्छ नि भनेर उनीहरुले भारतको ठूलो शहर दिल्ली ताके । दिल्लीमा पनि सहजै काम कहाँ पाउथे र उनीहरुले । केही दिनपछि एउटा होटलमा मासिक दुई हजारका दरले रामबहादुरले काम पाए । होटलमा काम पाउनु अघि उनीहरुको बास दिल्लीको सडक किनारमा हुन्थ्यो ।

रामबहादुरले होटलमा काम गर्न थालेपछि उनीहरु कोठा भाडामा लिएर बस्न थाले । श्रीमान्को दुई हजारको तनखाले कोठा भाडा ९ सय र बचेको ११ सयले बिहान बेलुकाको लागि अन्नपात किनेर खानुपर्ने उनीहरुको अवस्था थियो । एक दुई महिना त यसरी नै दैनिकी चल्यो । तर, दुई हजार तनाखाले कति खाने र बाँकी जीवनका लागि कति बचाउने ?
यतिकैमा भीमा गर्भवती पनि भइन् । दिल्लीमा सुत्केरी हुँदा चाहिएको बेला पैसा नहुने भएपछि उनीहरु नेपाल फर्किए । नेपाल आउँदा पनि उनीहरुको जाने ठाउँ कतै थिएन । आफ्ना बाबु आमालाई छक्याएर भागी विवाह गरेका उनीहरु भीमाकै माइती घरमा आए । ‘बाबु आमाको मन त हो । छोरीज्वाँई बस्ने घर नभएपछि कहाँ जाउन त’– भीमाका बुबा नटु चौधरीले भने ।

भीमाले रेजीनालाई माइती घरमा जन्म दिइन् । सुत्केरी भएपछि उनका श्रीमान् गाउँघर तिरै मेलापात गर्थे । काम गरेर ल्याएको रुपैयाँले सुत्केरी श्रीमतीको स्याहारसुसार गर्थे । नहुनु जतिको ठूलो केही रहेन छ । ६ महिनाकी छोरी माइतमा छाडेर राई दम्पत्ति फेरी दिल्ली पुरानै होटलमा काम गर्न गए । पहिलोपटक दुई हजार तलब पाएका रामबहादुरले दोश्रोपटक दिल्ली जाँदा मासिक ८ हजार पाए । त्यही तलबले राई दम्पत्तिले दिल्लीमा जीवन गुजार्दै थिए । ०६३ सालमा भीमाले फेरि रोजन राईलाई दिल्लीमा जन्म दिइन् । रोजन ३ महिनाको भएपछि राई दम्पत्ति फेरी नेपाल आए । आउने ठाउँ उही माइतीघर नै हो ।

नेपाल आएपछि रामबहादुरलाई ससुराली घरमा बस्न असहज भयो । उनले कुमार लिङ्गदेन समूहको तत्कालीन लिम्बूवान राज्य परिषद्को झापा जिल्ला पार्टी कार्यालयमा कार्यालय सचिवको जिम्मेवारी पाए । एकदिन कार्यालय जाने क्रममा रामबहादुर मोटरसाइकल दुर्घटनामा परे । उनको इहलीला त्यहीँ समाप्त भयो । भीमाकुमारीलाई परेको यो बज्रपात अरु कसैलाई पनि सहन सक्ने गरी थिएन । काखमा छोरा, हुर्कंदै गरेकी छोरी अनि माइतीघरको बसाई । न त जग्गा, न त घर, सम्पत्तिका नाउँमा आङमा भएका एक सरो लुगा मात्र ।

माइती बाहेकका आफन्त भनेकै उनका बालापनका साथी र माइती घरका छिमेकी नै हुन् । भीमाको माइती घरपनि संयुक्त परिवारको छ । माइती घरमा बस्न उनलाई भित्री मनले पनि दिएको छैन । ‘बुबाले माया त गर्नुहुन्छ । ‘कहाँ जान्छेस्, नातिनातिना लिएर’ भन्नुहुन्छ । मेरो पनि जाने अन्य ठाउँ कही छैन । भिटा किन्ने सामथ्र्य सायदै यो जुनिमा नहोला’– उनले गहभरी आँशु पार्दै भनिन्– ‘कसैले जग्गा दिएर घर बनाइदिए जनमन गरेर भए पनि मेरा छोराछोरी राम्ररी पढाउथँे ।

भीमाकुमारीको गर्भासयमा स्टोन छ । घाँटीमा पनि समस्या छ । पैसा नभएर औषधि उपचार समेत गर्न सकेकी छैनन् । मामा सन्तोष र प्रकाशले भीमाकुमारीका छोराछोरीको शिक्षा र स्वास्थ्यमा सघाईरहेका छन् । रेजीना अहिले कक्षा १२मा अध्ययन गर्छिन् भने उनका भाइ रोजन राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय दूधेमा अंग्रेजी माध्यममा कक्षा ८मा अध्ययन गर्छन् । शिक्षक गोविन्द काफ्लेले भने– ‘दुबै जना अध्ययनमा निपुर्ण छन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको ‘कोही पनि भोकै पर्नुपर्देन र मर्नु पनि पर्दैन’ भन्ने राष्ट्रिय नारा उनकै जिल्लामा लागू भएको छैन । भीमाकुमारी उनको गृह जिल्लामा रहेका अन्य हजारौं विपन्नवर्गमध्येका एउटी उदाहरणकी एकल महिला हुन् । गाँस, बास र कपास हरेक नेपाली नागरिकको मौलिक हक हो । तर, भीमाकुमारीलाई न त कानूनले देख्यो न त सरकारले नै देख्यो । उनले दोहो¥याउँदै भनिन्– ‘मेरा परिवारका लागि कोही भगवान हुनुहुन्छ भने सहयोग गरिदिनुहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here