समाजसेवाको अनुकरणीय बाटो

0
722

संसारका सबै धर्मशास्त्रको सार छ– पुण्य कमाउन चाहन्छौ भने परोपकार गर, पाप कमाउन चाहन्छौ भने अरुलाई पीडा देऊ । समस्त प्राणीमा मनुष्य नै श्रेष्ठ प्राणी हो । आफ्नो मात्र हित नहेरेर ऊ समस्त समाजको सहयोगका लागि अभिपे्ररित हुन्छ । ऊ भित्र परोपकारी भावना हुन्छ । वास्तवमा परोपकार नै समाजसेवा हो । मानव हितका लागि आफूले गर्न सकिने काम गर्ने हो । समाजसेवा भनेको आफूले जे गर्न सकिन्छ, त्यही काम आफ्नो ठाउँबाट इमान्दार भएर गर्नु नै महानता हो । नेपालीमा उखान छ– मन हुनेको धन हुँदैन, धन हुनेको मन हुँदैन । तर, कहिलेकाहीँ यो लोकोक्ति अपवाद पनि हुन सक्छ । साँचो समाजसेवा सदैव स्तुत्य हुन्छ र समाजसेवीहरु सँधै बन्दनीय हुन्छन् ।

हाम्रो समाजमा अहिले दुई प्रकारका समाजसेवीहरु छन् । हाम्रो समाजमा महान् र उदाहरणीय काम गर्ने समाजसेवीको संख्या बढ्दै गएको छ । हृदयको ढोका बन्द गरेर सम्पत्ति कमाउने मात्र चाहना बोकेकाहरुको त कुरै नगरौं, तर आफ्ना पितृको सम्मान र स्मृतिमा मन्दिर, पाटीपौवा, सामुदायिक भवन, विद्यालय, चौतारी र विश्राम गृह बनाउने हाम्रो पुरानै नेपाली संस्कृति हो । आफूले दुःख र मेहनत आर्जन गरेको सम्पत्तिको केही अंश उदारतापूर्वक समाजसेवामा खर्चने असल समाजसेवीहरु हुन् । हिन्दु धर्मशास्त्रहरुले पनि दशांश दान गर्नुपर्ने सुझाएका छन् । हृदयदेखि नै समाजसेवा गर्नेहरुले जनताको विश्वास र माया बटुलेका छन् । अर्को तर्फ समाजसेवाको क्षेत्रमा नकारात्मक प्रवृत्ति पनि झाँगिदो छ । भिखारी जस्तै मागेर र अपारदर्शी ढंगले आय–व्ययको बहीखाता राखेर समाजसेवाको नाटक मञ्चन गर्नेको संख्या पनि सानो छैन । सामाजिक सञ्जालहरुमा तस्वीर अपलोड गरिरहेका कथित समाजसेवीहरुको संख्या पनि बढिरहेको छ । स्वार्थीहरुकै कारण पवित्र समाजसेवा पनि बदनाम हुँदै गएको छ । समाजसेवालाई अहिले धेरैले नाम र दाम कमाउने मलिलो पेशा बनाएका छन् । नेपालमा समाजसेवाकै आवरणमा कालो धनलाई सेतो बनाउने प्रयत्न जारी छ । आपराधिक छबिलाई धोई पखाल्न समाजसेवाको दोसल्ला ओढ्नेको संख्या पनि कम छैन ।

स्वार्थीहरुको हृदयले समाजसेवा मन पराउँदैन । यस्ता व्यक्ति समाजको सेवा गर्न अयोग्य मात्र होइन, समाज विकासका लागि घातक पनि हुन्छन् । वास्तवमा साँचा समाजसेवीहरु प्रचारका भोका हुँदैनन् । देखाउन होइन, हृदयतः गर्ने हो समाजसेवा । कुनै पनि विकसित समाज सदासर्वदा समाजसेवीहरुको ऋणि रहन्छ । शोक, विपत्ति, विषम् र दुःखद् घडीमा सबैका लागि उदाहरणीय र प्रेरणाको स्रोत बनेर समाजसेवीहरु क्रियाशील हुन्छन् । निजी सम्पत्ति निःस्वार्थ दान गर्छन् । स्वार्थको दलदलबाट निस्केर मानवताको हितमा परोपकारीहरु उदाहरणीय र उदार भावनाले सहयोगका मुठी खोल्छन् । सत्कार्यको सकारात्मक सोच बोकेको समाजसेवाको अनुकरणीय बाटो असल समाजसेवीहरुले रोज्न आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here