चितवन,

जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।
क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताउनुभयो । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उहाँको भनाइ छ ।
कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उहाँले जानकारी दिनुभयो ।
जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उहाँको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो ।
यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।





























