बिर्तामोडमा ९ करोडको जग्गा हडप्ने प्रयास

0
752

 

बिर्तामोड। बिर्तामोड नगरपालिका १मा कित्ता नम्वर नै हेरफेर गरेर जग्गा हडप्ने भू–माफियाको प्रयास विफल भएको छ ।

भूमाफियाले पाथीभरा सिने प्लाजा छेऊको करिब ९ करोड रुपैयाँ मूल्य पर्ने सातकठ्ठा जग्गा किर्ते कागजात तयार गरी हडप्ने प्रयास गरेको खुलेको छ । उक्त स्थानमा जग्गाको चलनचल्ती मूल्य प्रतिधुर ६देखि साढे ६ लाखसम्म रहेको जानकारहरु बताउँछन् । सरकारी अधिकारी र जनप्रतिनिधिको मिलेमतोमा भूमाफियाले जग्गा हडप्ने प्रयास गरेको कतिपयको दावी छ ।
कित्ता नम्बर ५४७ लाई भू–माफियाको टोलीले ६२२ कित्ता नम्वर राखेर जग्गा हडप्ने प्रयास गरिरहेका बेला नापी कार्यालयले थाहा पाए लगत्तै उनीहरुको प्रयास विफल भएको हो । २०४६ सालमा भूपाल किराँती आयोगले पैनीको जग्गा भनेको कित्ता नम्बर ६२२ लाई संशोधन गर्दै कित्ता नम्वर ५४७ लाई हटाएर उक्त स्थानमा ६२२ कित्ता नम्वर राख्दै जमिन बिक्री गरेसँगै यस्तो रहस्य खुलेको हो ।

नर्वदा चौहानको नामबाट ललितपुर महानगरपालिका–४मा रहेको जी ट्रेडिङ प्रालिलाई जग्गा विक्री गरिएको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा कित्ता नम्वर ५४७का जग्गाधनी युवराज प्रसाईंले भूमाफियाहरुले कित्ता नम्वर नै परिवर्तन गर्दै नम्वरी जग्गा हडप्ने प्रयत्न गरेको आरोप लगाएका छन् । उनले कित्ता नम्वर हेरफेरका लागि बिर्तामोड–१का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले सहयोग गरेका कारण उनको पनि संलग्नता हुन सक्ने बताए । एउटै जग्गाको दुई वटा सिफारिस वडाध्यक्ष पाण्डेले दिएको भन्दै भू–माफियासँग वडाध्यक्ष पाण्डेको साँठगाँठ भएको उनले आरोप समेत लगाएका छन् ।

नापी कार्यालय झापामा सो जग्गाको मोठ कायम गर्ने क्रममा किर्ते गरेको फेला परेपछि सो जमिनमा बसोबास गर्ने र जग्गा धनीलाई पत्राचार गरेपछि घटना सार्वजनिक भएको छ ।

नापी कार्यालय झापाले जी ट्रेडिङ प्रालि ललितपुरसहित मुना गिरी, देवी लिम्बू, जीवनाथ निरौला, भगवती आवास कम्पनी प्रालि, नवराज निरौला, सूर्यबहादुर वन, अजय चौधरी, टंक प्रसाद ढकाल, खिनमाया कडरिया, धर्मप्रसाद तिम्सिना, भीष्म बिमली, दीपा लिम्बू र बिनोद कुमार निरौलालाई आ–आफ्नो प्रमाण लिएर सात दिनभित्रमा नापी कार्यालयमा उपस्थित भएर नक्सा सुधार कार्यमा सहयोग गरिदिन नापी कार्यालयका प्रमुख नापी अधिकृत डिल्लीराज भण्डारीले पत्राचार गरेका छन् । उनले बिर्तामोड नगरपालिका वडा नम्वर १लाई आवश्यक सहयोग गरिदिन समेत पत्रमा आग्रह गरेका छन् ।

दुई वर्षअघि बिर्तामोड–१का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, अमिन रामकुमारसहित दुई महिलालाई लिएर उक्त स्थानमा कित्ता नम्वर ६२२को जग्गा खोज्दै आएको र यो स्थानमा उक्त कित्ताको जग्गा नभएको र सो जग्गा पैनीमा पर्ने जानकारी गराए पनि अहिले आएर पाण्डे आफैंले सोही ठाउँमा कित्ता पर्ने भनी सिफारिस दिनुले उनको यस कार्यमा संलग्नता रहेको प्रसाईको आरोप छ । भू–माफियाले सात कठ्ठा जग्गा हडप्ने प्रयास गरेको प्रसाईको भनाइ छ ।

आफूले निरौला परिवारबाट जमिन लिएको र अरुलाई बिक्री गरिसकेको अवस्थामा अहिले आएर भू–माफियाले आफूले बिक्री गरेको जमिनलाई आफ्नो जमिन भन्दै बैंकबाट समेत कारोवार गर्न कागजात तयार पारेको पत्रकार सम्मेलनमा प्रसाईले बताएका छन् । जग्गाको नक्सा आयो, प्रमाणित नक्सा आयो, धनी पूर्जाको फोटोकपी आयो, जग्गाधनी स्वयम् आएकाले सिफारिस दिएको हो– बिर्तामोड वडा नम्वर–१का अध्यक्ष पाण्डेले भने – यो कार्यमा मेरो कुनै संलग्नता छैन, यदि मेरो संलग्नता भएको कसैले प्रमाणित गर्छ भने म अहिले नै पदबाट राजीनामा दिन तयार छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here