झापामा पठनपाठनको तयारी: बाह्रदशी गाउँपालिकामा आजबाट विद्यालय सञ्चालनमा

0
1421

झापा।

अधिकांश स्थानीय तह लामो समयदेखि बन्द रहेको विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् ।

कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि संघीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै यस्तो तयारी थालिएको हो ।

स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि कतिपय स्थानीय तहले पठनपाठन सञ्चालन गराइसकेका छन् भने कतिपय शुरु गर्ने जमर्काेमा छन् । स्थानीय तहले स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी आफ्नो अनुकूलता हेरेर पठनपाठन सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेका छन् भने कतिपयमा कार्ययोजना बनिरहेको छ ।

यसैबीच शैक्षिक सत्र शुरु भएको आठ महिनापछि बाह्रदशी गाउँपालिकाले आजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

बाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेलका अनुसार गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले सरकारले तोकेको मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकामा गत आइतवार बसेको कार्यपालिकाको बैठकले समेत विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसहितको बैंठक बसेको र विद्यालय सञ्चालनका लागि उपयुक्त कार्ययोजना पेश गरेकाले बुधवारबाट गाउँपालिका भित्र रहेको सबै विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख पौडेलले बताए ।

विद्यालय सञ्चालनका लागि गाउँपालिकाले विद्यार्थी र शिक्षकलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराउने निर्णय समेत गरेको बताइएको छ । बाह्रदशीमा १६ वटा सामुदायिक विद्यालय सहित ३० वटा विद्यालय सञ्चालनमा छन् ।

गाउँपालिकाले विद्यालयको अवस्था हेरेर तीन चरणमा विद्यालय सञ्चालन गर्न लागेको हो । बिहान ७ बजेदेखि १० बजेसम्म पहिलो सत्र, १० देखि १ वजेसम्म अर्काे सत्र र १ बजेदेखि ४ वजेसम्म तेस्रो सत्र गरी तीन चरणमा विद्यालय सञ्चालनको तयारी गरिएको छ । जोखिमलाई ध्यानमा राखी आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक अवस्था राम्रो र विद्यार्थी संख्या कम भएका विद्यालयले एकै सत्रमा कक्षा सञ्चालन गर्ने छन् भने माध्यमिक तहको पठनपाठन हुँदै आएका विद्यालयको हकमा भने दुई चरणमा विद्यालय सञ्चालन हुनेछ । त्यस्तै कक्षा ११ र १२ पनि अध्ययन हुने विद्यालयमा तीन चरणका कक्षा सञ्चालन गर्न लागिएको छ ।

कम विद्यार्थी संख्या र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन हुन्छ– शिक्षा शाखा प्रमुख पौडेलले भने– कोरोनाको जोखिमका कारण अहिलेसम्म विद्यार्थीको पठनपाठन भद्रगोल भयो । अहिले उनीहरुलाई ट्रयाकमा ल्याउन पनि विद्यालय सञ्चालनका लागि कार्यपालिकाको बैठकले निर्णय गरेपछि मंगलबार पुनः शिक्षा शाखा समिति संयोजक राजवंशीकै उपस्थितिमा सरोकरवाला, शिक्षक महासंघका पदाधिकारी, शिक्षक अभिभावक संघको उपस्थितमा बिद्यालय सञ्चालनको निर्णय गरिएको छ ।

वाह्रदशी गाउँपालिकामा विद्यालय सञ्चालन गर्न लागिएसंगै निजी तथा सामुदायिक विद्यालयले थप स्वास्थ्य सुरक्ष अपनाएका छन् । जनप्रतिनिधि शिक्षक अभिभावक संघ र शिक्षा समिति सहित सरोकारवालाहरुको छालफलबाट बाह्रदशीका सबै विद्यालय खुलाउने निर्णय गरेसँगै विद्यालयको सरसफाई समेत गरिएको छ ।

बैैठकमा शिक्षा समिति सदस्य जानुका खड्का सहित शिक्षक महासंघ बाह्रदशीका अध्यक्ष कमल चम्लागाँई, प्याब्सन बाह्रदशीका संयोजक लक्ष्मी उप्रेती लगायतले विद्यालय सञ्चालन गर्दा अपनाउनुपर्ने मापदण्डका विषयमा धारणा राखेका थिए ।

यता मेचीनगरले समेत विद्यालय सञ्चालनको निर्णय गरेसँगै ३४ वटा विद्यालय सञ्चालनमा आएको शिक्षा शाखा प्रमुख होम भण्डारीले जानकारी दिए । स्वास्थ्य मापदण्ड पूरा गरेर जोखिम कम भएका क्षेत्रका विद्यालय विस्तारै सञ्चालनमा आएका छन्– भण्डारीले भने– अब मेचीनगर मात्र होइन विस्तारै जिल्लाका अन्य स्थानीय तहका विद्यालय पनि खुल्दै जान्छन् । भद्रपुर, वुद्धशान्ति र बिर्तामोडमा पनि विद्यालय सञ्चालनको तयारी थालिएको छ भने दमकका केही विद्यालय सञ्चालनमा आएका छन् ।

१५ वटा स्थानीय तह रहेको झापामा अधिकांश स्थानीय तहले विद्यालय सञ्चालनका लागि कार्यपालिकाको बैठकबाट निर्णय गर्दै जोखिमलाई ध्यानमा राखी विद्यालय सञ्चालनका प्रक्रिया अघि बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here