कोरोनाः जोखिममा २०–३० बर्षका युवा

0
771

बिर्तामोड ।

कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा बिर्तामोड नगरपालिकाका २०–३० वर्ष उमेर समूहका धेरै युवा परेको पाइएको छ ।

बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बिर्तामोडमा कूल संक्रमित ५१३ मध्ये यो उमेर समूहका मात्रै १६८ जनामा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्मको हो । २०देखि ३० वर्ष उमेर समूहका युवाको संख्या समेत धेरै रहेको र उनीहरु विभिन्न काममा परिचालन हुने, विद्यार्थी, कर्मचारी रहेकाले समेत उच्च जोखिममा रहेको बताइएको छ ।

यो उमेर समूहका बढी हिँड्डुल गर्ने भएकाले संक्रमणको जोखिम बढेको नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत दीपक सापकोटाले जानकारी दिए । त्यस्तै ४० देखि ६० वर्ष उमेर समूहका धेरै मानिस संक्रमणको उच्च जोखिममा रहेको पाइएको छ । यो उमेर समूहका १३४ जनामा संक्रमण देखिएको छ । ११ महिना उमेर समूह भित्रको एक जना शिशु, एक देखि १० वर्ष उमेर समूहका ७ जना, १०देखि २० वर्ष उमेर समूहका ११७ जना र ६० वर्षमाथिका ५३ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमणकै कारण हालसम्म बिर्तामोड नगरपालिकामा ११ जनाले ज्यान गुमाएका छन् । असारमा पहिलोपटक बिर्तामोड नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो । असार र साउनमा २५ जनामा संक्रमण देखियो भने भदौमा २१ जनामा संक्रमण देखिएको थियो । असोजमा यो संख्या बढेर ११२ पुगेको छ भने कात्तिकमा ३५५ जनामा संक्रमण देखिएको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । चाड पर्वको समयमा मानिसले कोरोना संक्रमणबाट बच्न सावधानी नअपनाउँदा यो दर बढेर गएको अधिकृत सापकोटाको भनाइ छ । कात्तिक महिनामा मात्रै १० जनाले ज्यान गुमाएका थिए ।

यसैबीच झापामा ३३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा चार हजार ३६ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये मृतकको संख्या मात्रै ११५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चम्लागाँईका अनुसार कोरोना संक्रमित मध्ये दुई हजारसात सय ४३ जनाले कोरोना जितेका छन् । हाल आइसोलेसनमा सक्रिय संक्रमितको संख्या एक हजार १७८ जना रहेको छ । त्यस्तै होम आइसोलेसनमा एक हजार १६७ जना रहेको चम्लागाँईले जानकारी दिए । शुक्रबार मात्रै कोरोनाका कारण एक जनाले ज्यान गुमाएका छन् ।

समुदायस्तरमा देखापरेको संक्रमण रोक्नका लागि विभिन्न सचेतनामूलक कार्यक्रम अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय मानिसले स्वास्थ्यको सावधानी नअपनाउँदा संक्रमितको संख्या अझ बढेर जाने भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । चिसो मौसममा कोरोना भाइरस अझ सक्रिय हुन सक्ने भन्दै सचेत बन्न उनीहरुले आग्रह गरेका छन् । भीडभाडमा नजान तथा अनिवार्य मास्कको प्रयोग गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।

उता इलाममा कोरोनाको संक्रमण बढ्दै गएपछि इलाम नगरपालिकाले आगामी मंसीर २४ गतेसम्म सबै क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । सक्रिय संक्रमितको संख्या बढेसँगै शुक्रबारबाट विद्यालय, उद्योगधन्दा, कलकारखाना र यातायात समेत बन्द गरेको हो । मेची राजमार्गमा चल्ने सवारी मात्रै सञ्चालन हुन दिने निर्णय भएको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here