नयाँ तथ्य फेला:कोरोनाभाइरस चीनबाट फैलिएको थिएन

0
1090

चीनमा कोरोनाभाइरसका बिरामी पहिचान गर्नुअघि नै अमेरिकाका केही व्यक्तिमा यसको एन्टिबडी बनेको पत्ता लागेको छ। अब यो भाइरस कहाँ र कहिलेबाट मानिसमा सरेको थियो भन्ने पत्ता लगाउन मुस्किल भएको वैज्ञानिकहरुले बताएका छन्।

करीब एक वर्ष पहिले चीनको वुहानमा रुघाजस्तै नयाँ रोग आएको खबर फैलियो। शुरुमा नोबल कोरोनाभाइरस भनिएको कोभिड–१९ वुहानको मासु पसलबाट फैलिएको अमेरिकाले दाबी गर्दै आएको थियो। तर, अमेरिकाकै एक अनुसन्धानले यो भाइरस चीनबाट नफैलिएको जनाएको छ।

उक्त अनुसन्धानका अनुसार चीनमा बिरामी पत्ता लाग्नुभन्दा केही सयमअघि नै अन्य व्यक्ति संक्रमित भइसकेका थिए। अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेको अध्ययनको नतिजा एक पत्रिकामा प्रकाशित गरेको छ। उक्त नतिजामा कोरोनाभाइरसको संक्रमण चीनभन्दा पहिला अमेरिकामा नै भएको उल्लेख छ।

चीनको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले ३१ डिसेम्बर २०१९ मा एक चेतावनी जारी गरेर अनौठो तरिकाको श्वासप्रश्वाससम्बन्धी बिरामी भेटिएका जनाएका थिए। ती बिरामीमा निमोनियाको गम्भीर प्रकारका लक्षण देखिएको पनि जनाइएको थियो।

जबकि अमेरिकामा २१ जनवरी २०२० मा मात्र पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको थियो। तर, वैज्ञानिकहरुले ११ महीनापछि आएर अमेरिकाका तीन राज्यमा ३९ जना यस्ता व्यक्ति भएको उल्लेख गरेका छन्, जसको शरीरमा चीनमा संक्रमित भेटिनुभन्दा अघिबाटै कोरोनाभाइरसको एन्टिबडी थियो। उनीहरुको शरीरमा ३१ डिसेम्बरभन्दा दुई हप्ताअघि नै एन्टिबडी भएको पत्ता लागेको जनाइएको छ।

त्यति मात्र नभइ १३ डिसेम्बर २०१९ देखि १७ जनवरी २०२० सम्म भएको रक्तदानका सहभागीमा पनि कोरोनाभाइरसको एन्टिबडी पाइएको छ। यो अवधिमा जम्मा सात हजार ३८९ जनाले रगत दिएका थिए। यीमध्ये १०६ जनाको रगतको नमूनामा कोरोनाभाइरसको एन्टिबडी फेला परेको छ। यसको अर्थ ती व्यक्ति संक्रमित भएर भाइरसलाई बाहिर पठाउन शरीरले एन्टिबडी बनाएको थियो। अध्ययनका अनुसार क्यालिफोर्निया, ओरेगन र वाशिङ्टनमा यस्ता व्यक्ति भेटिएका छन्।

त्यसैगरी म्यासाचुसेट्स, मिसिगन, रोड आइल्याण्ड र विस्कन्सिनमा जनवरी २०२० मा ६७ नमूना जम्मा गरिएको थियो। यी राज्यमा महामारीको प्रकोप बढ्नुअघि नै नमूना संकलन गरिएको हो। यीमध्ये धेरै व्यक्ति कोरोना संक्रमितको सम्पर्कमा पुगेको पनि पत्ता लागेको छ। अधिकांश पुरुष र औषत उमेर ५२ वर्ष थियो। कतिपयलाई त कोरोनाको लक्षण पनि थियो।

रक्तदान कार्यक्रमको आयोजक रेड क्रसले भनेको छ कि रगतको नमूना लिइएकामध्ये करीब तीन प्रतिशतले मात्र केही समयअघि विदेश भ्रमणमा गएर फर्किएको बताएका थिए। भ्रमणमा गएकामध्ये पाँच प्रतिशतले मात्र उनीहरु एसियाका देशबाट फर्किएको बताएका थिए। योभन्दा अघि गरिएका केही अनुसन्धानमा पनि चीनभन्दा पहिले अरु देशमा नै कोरोनाभाइरस भेटिएको प्रमाण मिलेको थियो।

फ्रान्सका वैज्ञानिकहरुले २७ डिसेम्बर २०१९ मा पेरिसनजिक एक बिरामीलाई निमोनियाको उपचार गरेका थिए। वास्तवमा ती व्यक्ति कोरोना संक्रमित थिए। चीनमा भन्दा तीन दिनअघि ती बिरामी फेला परेका थिए। त्यस्तै इटाली र स्पेनका अनुसन्धानकर्ताले शिविरको पानीको नमूनामा कोरोनाभाइरस भेटिएको जनाएका थिए। पानीको नमूना महामारी शुरु हुनुअघि नै लिइएको थियो।

पछिल्लो अध्ययनबाट कोरोनाभाइरस अमेरिकाबाट फैलिएको भन्न नसकिने वैज्ञानिकहरुले बताएका छन्। योभन्दा धेरैअघिबाटै कोरोना मानिसमा फैलिएको हुनसक्ने संभावना भएको उनीहरुको भनाइ छ। तर, ३१ डिसेम्बर २०१९ मा चीनमा पहिलोपटक पत्ता लागे पनि त्यो पहिलोपटक मानिसमा भएको संक्रमण भने थिएन। यसको संक्रमण कहिलेबाट मानिसमा भयो भन्ने प्रश्नको जवाफ पाउन सजिलो नभएको वैज्ञानिकहरुले जनाएका छन्।

-बीबीसी हिन्दीबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here