धार्मिक पर्यटन पुनःउत्थान भ्रमण

0
997

गण्डकी, 

कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ ।

पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, शाश्वत धाम, मौलाकालिका, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण गर्ने सङ्घका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव तथा आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि चलायमान कसरी चलायमान बनाउने लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिने उहाँले बताउनुभयो ।

टोलीलाई पोखरामा विदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । कोरोना प्रभावित पर्यटनलाई आगामी दिनमा कसरी चलायमान बनाउने भन्नेतर्फ सरकार लागेको उहाँको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना कहरका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाउँदै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो । बोर्डले पर्यटन सम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा नयाँ गन्तव्यको खोजी गर्ने उहाँले बताउनुभयो ।

भ्रमण टोलीलाई स्याङ्जामा स्वागत गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले विभिन्न पर्यटकीय गन्तव्यहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताउनुभयो ।

गण्डकी प्रदेशमा भ्रमण वर्ष २०१९–२२ का संयोजक जुद्ध गुरुङले कोरोनाका कारण गण्डकी प्रदेशमा दैनिक रु १३ करोड घाटा व्यहोर्नुपरेको बताउँदै पर्यटन सम्बद्ध सबै क्षेत्रको सहकार्यमा पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

भ्रमणका क्रममा विभिन्न धार्मिक पर्यटकीय स्थलको अवलोकनका साथै सम्बन्धित क्षेत्रमा पर्यटन व्यवसायी एवं सरोकारवालासँग छलफल गरिने कार्यक्रम संयोजक बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here