जनप्रदर्शनमा कांग्रेस किन उत्रियो ?

0
1663

उद्धव थापा,

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको एकदशक नाघिसकेको छ । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं नेपाली राजनीतिका सर्वोच्च कमाण्डर गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सशस्त्र संघर्षरत नेकपा माओवादीलाई संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराएपश्चात नेपाली कांग्रेसकै नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरेको गौरवपूर्ण इतिहास हामीसँग छ ।

त्यसपश्चात कांग्रेस नेतृत्वकै सरकारले शान्तिपूर्ण रुपमा तीनै तहका निर्वाचन गराएपश्चात स्थानीय तह, प्रदेश र संघीय तहमा जनप्रतिनिधिहरु क्रियाशिल छन् । निर्वाचनमा जनताले दिएको म्याण्डेट बमोजिम नेकपा नेतृत्वमा सरकार बनेको छ भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा रहेर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको छ, गरिरहनेछ ।

निर्वाचनमा बहुमत प्राप्त गरेको कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले जनताको चासो, गुनासो सुन्ला र जनसरोकारका विषयहरुको संवोधन गर्दै मुलुकको हित र समृद्धिमा कार्य गर्छ भन्ने जनअपेक्षा थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्दै जनसमस्याको संवोधन गर्नुपर्ने मूल दायित्वप्रति उदासिन देखिएको के.पी. ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारका काण्डै काण्डमा फसेको छ । राष्ट्रवादको खोक्रो नारा लगाएर सत्ताको लुच्छाचुडीमा अल्मलिएको सरकार जनताका समस्याप्रति कति पनि संवेदनशिल देखिदैन ।

वाइडवडी, न्यारोवडी, बालुवाटार जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, कोभिड–१९ को परिक्षण र उपचार सामग्री खरिदमा गरेको भ्रष्टाचार र घटनाको छानविन गरेर भ्रष्टाचारीलाई कारबाही गर्नुको सट्टा सरकार नै भ्रष्टाचारको संरक्षकको रुपमा उभिदा लोकतान्त्रिक ब्यवस्थाप्रति नै जनतामा वितृष्णा पैदा भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले समेत एसियाली रास्ट्रमा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सुचिमा नेपाललाई देखाएको र त्योमध्ये पनि ५० प्रतिशत भ्रष्टाचार प्रधानमन्त्री कार्यालयमा नै हुने गरेको तथा प्रधानमन्त्री नै भ्रष्टाचारीको संरक्षक देखाउनु हामी नेपालीको लागि लज्जाको विषय भएको छ । यसले सरकार नीतिगत र आर्थिक भ्रष्टाचारमा फसेको प्रष्ट्याउँछ ।

कोरोना संक्रमणको उपचार नपाएर जनता छटपटाइरहँदा पनि नेकपा नेतृत्वको सरकार भागवण्डामै अल्मलिएको छ । सत्ता र शक्तिको चरम दुरुपयोग गर्दै कार्यकर्ता पोस्न उद्यत छ, देशभर कोरोना संक्रमण फैलिरहँदा त्यसको नियन्त्रण गर्नुको सट्टा जनताका समस्या नसुनी नेतृत्वबीचकै दन्तबझानमा अल्मलिएको छ । शान्तिपूर्ण कार्यक्रममा जानसमेत रोक लगाउने, अध्यादेशमार्फत कानून ल्याएर संविधान प्रदत्त कतिपय अधिकारको कटौती गर्ने, लोकतान्त्रिक पद्धतिबाट सरकारमा पुगेपनि त्यसविपरित कम्युनिष्ट तानाशाही अभ्यासस्वरुप सरकार निरंकुश बन्दै गइरहेको छ ।

नेपाली कांग्रेसले बहुलबादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संवद्र्धन, कोभिड–१९ नियन्त्रण, परिक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवं स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, भ्रष्टाचारको विरोध, गत मंसिर १७ गते तनहु जिल्लामा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध, अविलम्ब संसद बैठक बोलाउन माग गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको निर्देशन अनुरुप आगामी मंसिर २९ गते देशभर जनप्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यस अन्तरगत झापामा पनि बृहत र्याली सहितको प्रदर्शनमा १५००० मोटरसाइकलका साथ जनप्रदर्शन हुने कुरा जानकारी गराउन चाहन्छौं । झापाका सबै स्थानीय तहबाट झापाको सुरुङ्गामा भेला भई मोटरसाइकल ¥यालीसँगै विर्तामोड आइपुगेपछि प्रदर्शन कोणसभामा परिणत हुने जानकारी गराउन चाहन्छौं । उक्त कार्यक्रममा ब्यापक सहभागिताका लागि सम्पूर्ण लोकतन्त्रप्रेमी जनसमुदायमा यसै अपिल गर्दछौं ।

(नेपाली कांग्रेस पार्टीको तर्फबाट सभापति थापाद्धारा जारी विज्ञप्तिको सम्पादित अंश)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here