काठमाडाैं ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ । मंगलबार नेपाल र चीन दुबै देशले एकै पटक सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् ।
सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । दुवै देशका परराष्ट्रमन्त्री सम्मिलित संयुक्त भर्चुअल बैठकबाट सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएकाे हाे ।
घोषणा समारोहमा नेपालका परराष्टमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश मन्त्री वाङ्ग यीको पनि उपस्थित रहेका थिए । सगरमाथाको नयाँ उचाई घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपाल र चीनबीचको असल सम्बन्धलाई सगरमाथाको नयाँ उचाई झनै उचाईमा पु¥याउने बताउनु भयो ।
उहाँले दुई देशबीचको सम्बन्ध जहिले पनि न्यायो रहेको उल्लेख गर्दै नेपाल सदैव एक चीन नीति प्रति अडिग रहने बताउनुभयो । यस्तै घोषणा कार्यक्रममा भूमि सुधार तथा सहकारी मन्त्री पद्मा अर्यालयलगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
नेपालले सगरमाथा भन्दै आएको विश्वको यो सवोच्च चुचुरोलाई चीनले चोमोलोङ्मा भन्दै आएको छ । नेपालको नापी विभाग र चीनको सर्वे टोलीले सन् २०१७ बाट सगरमाथाको नयाँ उचाई पत्ता लगाउने अभियानको थालनी गरेको थियो ।
नेपाल सरकारको साधन–स्रोतमा पहिलो पटक सगरमाथाको उचाइ मापन गरिएको हो । केही समयअघि मात्रै नेपाल र चीन दुबै देशले सगरमाथाको उचाइ मापन गरेका थिए । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।
नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको थियो । यही उचाइलाई अन्तर्राष्ट्रिय जगतले पनि मान्यता दिँदै आएको थियाे ।
सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए । सबैको मापन फरक फरक निस्किएको थियो । अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो ।
चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।
गत वर्ष डिसेम्बरमा नै उचाइ सार्वजनिक गर्ने गरी समय तोकिएको थियो । तोकिएको समयमा काम हुन नसक्दा करिब एक वर्ष ढिलो सगरमाथाको उचाई सार्वजनिक गरिएको हो ।




























