अनौठा नेपाली गहनाहरु संस्कृति

0
2463

भुवन तामाङ,
नेपालीहरु गरगहना पहिरीन मन पराउँछन् । गरगहनाले झिरिझ्याट्ट परेर हिँडन पाउनु विशेषगरी नेपाली महिलाहरुको प्रमुख चाहना हुने गरेको पाइन्छ । ‘जिन्दगीमा केही राम्रो लाउन नसके पनि थोरै भए पनि गरगहना त लाउन पाउन हौ’ भन्ने भनाइ नै छ नेपाली महिलाहरु माझ । गरगहनाले नेपाली संस्कृति त झल्कन्छन् नै, गरगहना लाउनेको शान, इज्जत पनि खुल्दछन् । किसिम–किसिमका गरगहनाले वर्ग छुट्याउन खोज्छ, तर पनि नेपालीहरुबीचको सुमधुर सम्बन्ध बिगार्न भने सकेको छैन । ‘गच्छे अनुसार गरगहना लाउने हो’ भन्ने भनाई चरितार्थ नै छ ।

नेपालीहरुले लगाउने गरेका गरगहनाका किसिम धेरै–धेरै छन् । यस छोटो लेखमा केही अनौठा गरगहनाहरुबारे सामान्य चर्चा गर्ने जमर्को गरेको छु । कानमा लाउने झुम्का, रिङ्ग, टप, नाकमा लाउने बुलाकी, फुली र गलामा लाउने तिलहरी आदिबारे त सबै नेपालीहरुलाई थाहा नै छ । हुन त सबै किसिमका गरगहनाबारे सबै नेपालीलाई धेरथोर थाहा नै छ तरै पनि सम्झनाका लागि पाठक समक्ष केही अनौठा गरगहनाबारे जानकारी यहाँ प्रस्तुत गर्दछु ।

शीरमा लगाउने गहना :

(१) चन्द्र : चन्द्र, यस गहनालाई चाँद भनेर पनि जानिन्छ । यो गहना चन्द्रमा अर्थात् जुन आकारको बनाइन्छ । यो गहना सुनको बनाइन्छ र बुट्टादार हुन्छ । अनि रङ्गीबिरङ्गी पत्थर जडिन्छन् । पत्थर बेगरको पनि बनाइन्छ । यो गहना तीजमा महिलाहरुले लाउने गर्दछन् । आजभोलि यो गहना हराउँदै गएको छ । तर, यो गहना शिरपूmल भने होइन । चन्द्र गहना महिलाहरुले आफ्ना चुल्ठाको फेदमा लगाउँछन् ।

कानमा लगाउने गहना :

(२) गदवरी : यस गहनामा मसिना मसिना बुट्टा खोपिन्छन् । यो गहना ढुङ्ग्री जस्तै हुन्छ, तर यसमा खु्ट्टा चाहिँ हुदैन । धागो बाटेर गहनाको प्वालमा पसाई पछिल्तिर गाँठोपारि अड्काइन्छ, जसले खुट्टाको काम गर्दछ । कानमा लगाइने यो गहना विशेषगरि पूर्वी नेपालका महिलाहरुले लगाउँदछन् । भौगोलिकता हेरिकन बुट्टामा विविधता पाइन्छन् ।
(३) हवादारी : यो गहना काँडादार बनाइन्छ । कानमा लगाउने यो गहनामा काँडाहरुको माझमा सुन्दर पत्थर जडिन्छ । यो गहना ढुङ्ग्री जस्तै देखिन्छ र ढुङ्ग्री लगाउने प्वालमै लगाइन्छ । यो गहना खुट्टायुक्त हुन्छ ।
(४) सिलमुन्द्री : यो गहना कानको लोतीमा लहरै लगाइन्छ । लहरलाई सिल भनिएको हो । नेवार महिलाहरुले नाकमा गहना लगाउँदैनन्, तर कानमा भने कानको लोती छेँडेर सिलमुन्द्री लगाउँदछन् । सिलमुन्द्री मसिना आकारका हुन्छन् । यो गहना तार बेरेर बेरुवा सिलमुन्द्री बनाइन्छ । कानमा लहरै मुन्द्री लगाइने हुनाले यस गहनालाई लश्करी मुन्द्रा पनि भनिन्छ ।

(५) बिर्बल : यो गहना सुनको बनाइन्छ । यो गहना नास्पातीको आकारको बनाइन्छ र कानको लोतीमा लगाउने गरिन्छ ।

गलामा लगाउने गहना :

(६) टीकी माला : यो गहना नाम्लोको पातो जस्तै निकै च्याप्टो गरि बनाइन्छ । यो गहना बुटादार बनाइन्छ । पहिला पहिला त सुनको बनाइने यो गहना आजकाल पित्तलको बनाइन्छ । यो गहना घाँटीको वरिपरि लगाउने गरिन्छ । विशेषगरी यो गहना गुरुङ्ग जातिले लगाएका पाइन्छन् ।
(७) ठिँगुरा : तीन सूत गोलाईको आधा इञ्च लामा ढुङ्ग्री बनाएर त्यसमा सेता पत्थरको लुर्कना बनाइन्छ । यो गहनालाई मोटो डोरीमा उनेर ऊनको सूताले बुनेर घाँटी वरिपरि लगाउने गरिन्छ । पहिला पहिला तर पुरुषहरुले पनि झोला भिरे जस्तै गरी लगाउने चलन थियो ।

नाडीमा लगाउने गहना :

(८) रैयाँ : यो गहना सुनका या चाँदीको बनाइन्छ । यो एकप्रकारको चुरा नै हो, तर अलि गह्रौँ र बाक्लो अनि चाक्लो बनाइन्छ । यो गहना काँडादार बनाइन्छ । यो गहना खोक्रो नभएर खँदुवा हुन्छ । पहिला–पहिला त महिलाहरुले नाडीदेखि पाखुरासम्म लगादउँथे । यो गहना विशेषगरी मगर महिलाहरुले लगाएका पाइन्छन् ।
(९) ठोका : यो गहना पनि सुन या चाँदीको बनाइन्छ । यो गहना डेढदेखि दुई इञ्च बाक्लो बनाइन्छ र नाडीमा लगाइन्छ । यो गहना पनि काँडादार बनाइन्छन् । आजकाल यो गहना ज्येष्ठहरुले मात्र कतै–कतै लगाएका पाइन्छन् । यस्तै गहना भारतको असममा लगाइने गरिन्छ ।

पाउमा लगाउने गहना :

(१०) मञ्जिर : वास्तवमा यो नूपुर हो अर्थात् पाउजेप हो । घुँगरु आकारका छमछम गरी बज्ने गहना हो यो ।

औंलामा लगाउने गहना :

(११) बाँक औंठी : औंलामा औंठीको रुपमा लगाइने यो गहना प्रायशः चाँदीको बनाइन्छ । चाँदीको तारको अंग्रेजी अक्षर एसको आकारमा बनाइन्छ । माथिल्लो भागमा बुट्टा कुँदिएका र माझमा लाम्चो पत्थर जडेर यो गहना बनाइन्छ ।
(१२) आँखे औंठी : औंलामा लगाइने यो औंठी पुरुषहरुले लगाउने गरेका पाइन्छन् । यो औंठी माझको भागमा उठेको हुन्छ । उठेको भागमा सुन्दर पत्थर लगाएर यो गहना बनाइन्छ । औंठीहरुबारे त प्रायशः सबैलाई धेरथोर थाहा हुन्छ नै तर पनि यी दुई औंठीका नाम चाहिँ अनौठा लाग्दछन् ।

अन्य :

(१३) चारानी टाँक : यो गहना प्रायशः इष्टकोट (अस्कोट)मा लगाइन्छ । यो गहना टाँक या बटनका रुपमा चाँदीका चारानी पैसा (सिक्का)का बनाइन्छ । तर, यो गहना अहिले बिरलै देख्न पाइएला ।
(१४) टुकी : यो गहना केराउको दाना जत्रो बनाइन्छ । दानामा खुट्टा टँसाइएको हुन्छ र खुट्टा नाकको पोरामा पारिएको प्वालमा छिराइन्छ अनि भित्रपट्टी पेच लगाएर अड्याइन्छ । आजकाल यसको चलन धेरै भए पनि नाम भने त्यति सुनिएको छैन ।

नेपालीहरुले लगाउने गहनाहरु धेरै–धेरै किसिमका छन् । भौगोलिकता, जातजाति र स्रोतसाधन उपलब्धताका हिसाबले पनि भिन्न–भिन्न गरगहनाहरु पाइन्छन्, तर पनि कतिपय गरगहनाहरु देशैभरका महिला तथा पुरुषहरुले लगाएका पाइन्छन् । जसले नेपालीहरुलाई एक सूत्रमा बाँधेर राखेको छ ।

आजभोलिको आधुनिक तथा नयाँ–नयाँ चलन अनुसार नयाँ–नयाँ बान्की र ढाँचाका गरगहनाहरु पनि सिर्जना भइरहेका पाइन्छन् । अनि कतिपय गहनाहरु हराउँदै गएका छन् भने कतिपय गहनाहरु पुनः रुचाइँदै पनि छन् । गहना अनौठा लागे पनि यी गहनाहरु नेपाली मौलिक गरगहनाहरु हुन् । सबै नेपालीको चाहना र प्रयास यो हुनुपर्दछ कि प्राचीन नेपाली गहनाहरु समेतको जगेर्ना गर्दै जानुपर्दछ । गरगहनाका माध्यमबाट पनि विश्वमा चिनिएको नेपाल र नेपालीको गौरव अझ सबल बनाइराख्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here