लिम्बूकी छोरी शिवाकोटीले अन्माए, ब्राम्हण संस्कारमा च्याब्रुङ नाच

0
21690

बिर्तामोड । 

लिम्बू संस्कारमा बिवाह गर्दा हाक्पारे गीतसँगै धान र च्याब्रुङ नाच नाच्ने प्रचलन छ । नवदुलाह दुलहीलाई गीतबाटै आशिर्वाद पनि दिइन्छ । तर, झापामा एक जवेगू परिवारले ब्राम्हण परम्परा अनुसार विवाह गरेका छन् ।

अर्जुनधारा नगरपालिका–१० निवासी रमेशकुमार जवेगूले आफ्ना छोरा बिजयको बिर्तामोड–१ निवासी डिल्ली– गीता शिवाकोटीकी छोरी सरस्वता सेलिङ लिम्बूसँग विवाह गराए । सरस्वताका बुबा श्रीप्रसाद सेलिङको निधनपछि शिवाकोटी परिवारले नै उनलाई पालनपोषण गरेर कन्यादान समेत दिए । सरस्वता सानै हुँदा उनका वुवा श्रीप्रसादको निधन भयो– शिवाकोटीले भने– सानैदेखि छोरीको माया दिएर हुर्कायांै, शिक्षादिक्षा दियौं र अहिले लिम्बू संस्कारमै हुर्किएको केटा खोजेर उनको विवाह पनि गरिदिएका हौं ।

सरस्वता शिवाकोटी परिवारमा हुर्किएकी भए पनि उनलाई उनकै जात मिल्ने ज्वाइँ खोजेर कन्यादान दिएको शिवाकोटीले बताए । उनले भने – लिम्बू संस्कारमा वुवाको निधनपछि आमालाई काकाले लाने परम्परा हुँदोरहेछ सोही बमोजिम सरस्वताकी आमा बिमलालाई काकाले लगेपछि उनी हाम्रो छोरी भएर बसिन्, उनीसँगै उनका एक भाइ थिए । भाइ हुर्किएपछि आफ्नो पुख्र्यौली थलो पाँचथरको याङ्वरक गए, तर छोरीलाई भने हामीले पहाड पठाएनौं, कन्यादान दिएर अन्मायौं ।

शिवाकोटी परिवारले सरस्वता र बिजयको विवाह शुक्रवार ब्राम्हण परम्परा अनुसार गरे पनि विवाहमा भने च्याब्रुङ बाजा बजाइएको थियो । नौमती बाजाको सट्टा च्याब्रुङ बाजा बजाउँदा विवाहको रौनक नै बेग्लै देखिन्थ्यो । विवाहमा आएका निम्तालुले समेत सो विवाहलाई बेग्लै आनन्द मान्दै आशिर्वाद दिएका थिए । लिम्बू र ब्राम्हण समुदायमा फरक–फरक संस्कार र संस्कृति भए पनि शिवाकोटीको घरबाट सेलिङकी छोरीलाई अन्माउँदा व्राम्हण परम्परा अनुसार अन्माइयो ।

लिम्बूकी छोरी भए पनि ब्राम्हण संस्कारमा हुर्किएकी सरस्वतालाई बुहारी बनाउन पाउँदा ज्याँदै खुशी लागेको बेहुलाका बुबा रमेशले बताए । उनले भने– शिवाकोटी परिवारसंग सामाजिक परम्परा अनुसार छोराको विवाह गर्दै सम्बन्ध जोड्न पाउँदा खुशी लागेको छ । हाम्रो संस्कार÷संस्कृति फरक छ– रमेशले भने– यो विवाहले समाजमा बेग्लै छाप छोड्छ । छोराको विवाह यसरी गर्न पाउँदा खुशी लागेको छ ।

लिम्बू संस्कारमा विवाह विधि

केटा पक्षकाले छोराको विवाह गर्ने इच्छा अनुरुप केटी रोज्ने काम हुन्छ । कुनै गाउँमा केटाले चल्दोमिल्दो (साइनो नलाग्ने) लिम्बू केटी मन पराएपछि कुरा गर्ने बुढ्यौलीहरु र केटा त्यस गाउँमा गई कुनै अर्का घरमा केटी नजिकका दाजुभाइ र छरछिमेक भेला गरी केटापट्टिकाले रक्सीको बोतल राखी हामीले यस गाउँमा फलानाकी छोरी विवाह गर्ने इच्छा ग¥यौं, तपाईहरुले सहयोग गरी केटी मिलाई दिनुप¥यो भनी बिन्ती गर्छन् । यसरी बिन्ती गरीमाग्ने केटीपट्टिकालाई ‘चार पासिङ नौं पुलाङ’ भनिन्छ ।

केटा पक्षको रीतपूर्वकको अनुरोध स्वीकार गरी ती केटापट्टिकाहरु लिएर केटीका बाबु या मूल व्यक्तिसँग कुरा गर्न जान्छन् । पहिला त छोरी नदिने भए पनि चार पासिङ नौं पुलाङहरुले फूल फुलेको ठाउँमा भमरा घुम्छ, त्यसमा हामी छिमेकी दाजुभाइमा सबैको पालो आउँछ, भोलि मलाई पनि मेरी छोरी माग्न आउँदा तिम्रो पालो यस्तै हो, यत्तिको कुटुम्बमा दिँदा हुन्छ भनेर सम्झाएपछि छोरी दिन स्वीकार गरिन्छ । किनभने लिम्बू जातिमा छोरी हुर्के पनि ज्वाइँ खोजेर दिने प्रचलन देखिँदैन ।

यसरी हुन्छ लगन

बेलुकाको खाना पश्चात् लगभग रातको नौं दश बजेतिर लिम्बू फेदाङ्वा (पुरेत) द्वारा लगन (मेक्काम) गर्ने कार्य शुरु हुन्छ । यस्तो विवाह कार्यक्रमको कुनै पनि प्रारम्भ र समाप्तिमा जोर बन्दुक पड्काउने क्रम जारी नै रहनेछ । लगन (मेक्कामथिम) मा बेहुला (सुहाङ गुम्बा)को वायाँ पारेर बेहुली (सहाङ गुम्मा) लाई दुवैलाई पलेँटी कसेर बसाउनुपर्छ । बेहुला बेहुली मिलाएर बसाउन खटिएका केटा पट्टिको लोकन्दे र केट्टीपट्टिको एकजना लोकन्दी हुन्छन् ।

यी लोकन्देलाई (युन्छो ओप्पा) र लोकन्दीलाई (तान्छो ओप्मा) भनिन्छ । यिनीहरुद्वारा नै लगनमा बेहुलाबेहुली मिलाउने, बसाउने क्रममा बेहुलीको दायाँ घुँडालाई बेहुलाको बायाँ घुँडाले थिच्नेगरी खप्ट्याइदिने र त्यसैमाथि बेहुलीको दायाँ हत्केला राखी त्यसमाथि पनि बेहुलाको बायाँ हत्केला दुवैको उत्तानो पारी खप्ट्याइन्छ । यसप्रकार सबै मिलाइसकेपछि दुवैलाई ढाक्नेगरी एउटा नयाँ बर्को ओढाइदिनुपर्छ । यसरी मिलाएर राखिएको बेहुलाबेहुलीको अगाडि एउटा नाङ्लोमाथि केराको पात बिछ्याएर एउटा तोङ्वा, एकदुना रक्सी, एक टपरी भुटुवा मासु, एउटा खुकुरी र एउटा जोरबीटे मोहोर राखिएको हुन्छ । र फूलले सजाएको दुईवटा कलश (फूङ्सारी), दुईवटा दियो (नाम्सेमी(लासेमी), टीकाको सामान समेत राखिएको हुन्छ ।

त्यसपछि शिरमा सेतो फेटा बाँधेको फेदाङ्वा बेहुला बेहुलीको सामुन्ने बसेर त्यो जोरबीटे मोहोर (युप्पारुङ) र खुकुरी उठाई हातमा लिएर आफ्नो लगन (मेक्काम) विधिको मुन्धुम बखान शुरु गर्छ । सर्वप्रथम बेहुलीलाई आफ्नो लोग्नेसँग बिचलित नभई बस्न वाचा बन्धन गर्ने क्रममा तिमीले लिम्बू मुन्धुमको स्वाम्वेवा लाहादङ्ना झैं कसैले छुट्याउँदा, बझाउँदा पनि नछुटी नबाझीकन पतिको सतमा बसेर काम गरीखानु भनी युप्पारुङ मजेत्रोमा बाँधी राख्न लगाइन्छ । त्यसपछि इङ्लादप्मा वाचा बन्धन अथवा लोग्नेले स्वास्नीलाई नराम्रो नगर्ने र स्वास्नीले लोग्नेको वचन मान्ने, कुल घरानको इज्जत थाम्ने, इष्टमित्र रिझाएर मान्यजन सासु ससुराको सेवा टहल गर्ने हुनु र सासुले बुहारीलाई छोरी जस्तै प्यारो गरेर राख्ने भनी प्रण गर्ने विधि सम्पन्न गरिन्छ ।

यसरी युप्पारुङ विधि सकेपछि बेहुला बेहुलीको शीर उठाउने (मेक्काम माङ्गेना) मा दुई बेहुला बेहुलीको एकै मङ्गेन्नायक मिसाउने अनुष्ठानको लागि एकजोडी भाले, पोथी कुखुरा चाहिन्छ । अनुष्ठान खन्ने क्रमको अन्तमा ती जोडी कुखुराले बेहुला बेहुलीको खप्टेको हातमा तीन पटकसम्म छुवाई डँडाल्नोमा हिर्काइ निस्केको कुखुराको रगत थानमा रहेको केराको पातमा थापेर त्यसैको रगतबाट छोराछोरी यति हुन्छन् भन्ने परिणामहरु फेदाङ्वाले ठह¥याउने गर्दछ । त्यसपछि तोङ्वा पहिला बेहुलालाई चुसाएर त्यसपछि बेहुलीलाई चुसाउने अथवा जुठो खुवाउने क्रम हुनेछ ।
त्यसरी नै लोकन्दे लोकन्दीहरु पनि तोङ्वा, मासु जुठो ख्वाई ख्वाई गर्दै चल्दछन् भने बुढापाकाहरु चाहीं तीया हा, सानु पाङ्ली खेम्या हा भन्दै रमाउँदै उठेर नाच्ने र्गछन् । यसैबेला बाहिर च्याब्रुङ बजाएर नाचिरहेको युवायुवतीहरुलाई मेक्काम गामको पारामा नाच्ने खबर गरिन्छ भने दुईजना च्याब्रुङवाला भित्र बोलाएर घरको मूलखम्बा वरिपरि तीन फन्को मारेर मेक्काम गाम नाच्ने गर्दछन् ।

अन्तमा सबैले आर्शिवाद बेहुलाबेहुलीलाई दिँदै बेहुलीले बेहुलालाई ढोग्न लगाएर सबै बुढापाकाको आशिर्वाद थाप्न दुवैलाई बसाइन्छ भने लोकन्दीहरु धान एवम् च्याब्रुङ नाच्न बाहिर निस्कन्छन् । हाक्पारे गीत गाउन सिपालु बुढाबुढीहरु गीतबाट आशिर्वाद दिँदै रात काटेर रमाइलो गरी विवाह सम्पन्न गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here