अर्जुनधारा ।

शारीरीक सुगठनप्रति युवाहरुको आकर्षण अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उद्धेश्यले झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे बजारमा अर्जुनधारा फिटनेस सञ्चालनमा ल्याइएको छ ।
नगर क्षेत्रका दश जना युवा व्यवसायीहरुले ५० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको उक्त फिटनेसको नगरप्रमुख हरिकुमार रानाले शनिबार एक कार्यक्रमकोबीच उद्घाटन गरेका थिए ।
महिला र पुरुष दुवैलाई लक्षित गरि सञ्चालनरत् फिटनेसमा सोल्डर वर्कआउट, एब्डोमिनल वर्कआउट, ब्याक वर्कआउट, लेग वर्कआउट, आर्मस÷बाइसेप्स वर्कआउट, ट्राइसेप्स वर्कआउट, योगा बल वर्कआउट हुने सञ्चालक विशाल भण्डारीले जानकारी दिए ।
फिटनेसका अन्य सञ्चालकहरुमा अनिमेस बराल, कृष्ण तामाङ, जिवल थापा, प्रदिप खड्का, मनोज गोम्देन, रोवोक थापा, विकास खड्का, विजय सेन्दाङ र सुनिल बुढाथोकी रहेका छन् ।
सञ्चालक सेन्दाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर खेलकुद समितिका अध्यक्ष अर्जुन मेचे, सशस्त्र प्रहरी बल शनिश्चरेका प्रमुख डीएसपी गौतम योन्जन, शनिश्चरे प्रहरी चौकी प्रमुख सई सूर्य बस्नेत, शनिश्चरे ट्राफिक बिट प्रमुख असई गोकुल आचार्य, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, शारीरीक सुगठन साउथ एसीयन च्याम्पियन जीवन राई, पूर्वाञ्चाल च्याम्पियन तुल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
आगामी दिनमा नगरपालिका अन्र्तगत सबै वडाका एक जना विपन्नलाई निःशुल्क सदस्यता प्रदान गर्ने लक्ष्य लिएको फिटनेसले उद्घाटनको सन्दर्भमा दुई साता भर्ना शुल्क निःशुल्क गरेको अर्का सञ्चालक मनोज गोम्देनले जानकारी दिए । सञ्चालक भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सागर खरेलले गरेका थिए ।


























