शिवगञ्ज ।

शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा तीन दिवसीय जिन्सी अभिलेख तथा प्रतिवेदन सम्बन्धी तालिम आईतबारदेखि शुरु भएको छ ।
नगरको स्वास्थ्य शाखाले आयोजना गरेको तालिममा ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाका प्रमुख तथा जिन्सी अभिलेख राख्ने अधिकारीको सहभागिता रहेको छ ।
वडामा रहेका स्वास्थ्य कार्यालयबाट खर्च हुने जिन्सी र नगरबाट जाने जिन्सीको अभिलेख राख्न स्वास्थ्यकर्मीलाई सहजहोस् भन्ने हेतुले तािलमको आयोजना गरिएको शिवसताक्षी नगरपालिकाकी प्रमुख प्रसाशकीय अधिकृत गीताकुमारी राईले बताइन् । तालिम मंगलबार समापन हुने छ ।
शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष समेत रहेका प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष मनोज खुलाल कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत राईले तालिमबाट अधिकतम फाइदा लिन सहभागीलाई सुझाएकी थिइन् । तालिम उद्धघाटन सत्रमा नगरका प्रमुख लेखा अधिकृत प्रकाश योङहाङको पनि सहभागिता थियो ।
नगर स्वास्थ्य शाखाका संयोजक हरि बिमलीले सहजीकरण गरेको कार्यक्रममा हेल्थ असिस्टेन्ड संजय ठकुरीले सहभागिलाई स्वागत गरेका थिए । जिल्ला स्वास्थ्य कार्यलय झापाका जिन्सी शाखाका विशाल घिमिरेले तालिमको सहजिकरण गर्ने शिवसताक्षी नगरको स्वास्थ्य शाखाले जनाएको छ ।































