हिंसाको कारण ओलीको अहंकार कि विप्लवको संयम

0
962

यतिबेला नेपालका कतिपय पत्रकार, बुद्धिजीवी भन्न रुचाउने स्वनामधन्य अनुहार, अधिकारकर्मीको नाममा पुँजीवादी लुटको रक्षा गरिदिने ठेक्का चलाइरहेका कथित प्रजातन्त्रका हिमायति र सामाजिक सञ्जालमा चलेका घण्टा–घण्टाका हावाहरुमा ह्वात्तै बहकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरु नेपालमा हिंसा शुरु भयो– विप्लव व्यक्ति हत्यामा उत्रियो, हिंस्रक गतिविधि शुरु ग¥यो भनेर चिच्याइरहेका छन् । यो कस्तो चिच्याहट हो ? जसले न विगतलाई पर्गेल्न सकेको छ न त वर्तमानलाई । टिप्पणीकर्ताहरुका यस्ताखाले प्रवृत्ति आफ्नै अधिकार र न्यायका निम्ति बलिदानीपूर्वक सञ्चालन गरिएको क्रान्तिलाई गला निमोठ्न हात अगाडि बढाउन खोजिरहेका छन् भन्ने भान हुन्छ । यस्ताखाले प्रवृत्तिहरु आफ्नै न्यायका निम्ति सञ्चालित क्रान्तिको बिरोधमा चलाइएको नियोजित हावा सँगै बहकिएर आफ्नो खुट्टामा आफै वञ्चरो साँध्न खोजिरहेका छन् । डलरे भावनाको बतासमा बहकिनु पूर्व वर्तमान सत्ताको शोषणको जुवाले किचिरहेको आफ्नो उत्पीडित धरातलाई सबैले स्मरण गर्न सान्दर्भिक हुन्छ । साथै सही र गलत छुट्याएर आफ्नो र यो राष्ट्रको आगामी भविष्यलाई न्याय प्रदान गर्न आवश्यक छ ।
थोरै विगततिर जाऔं– राष्ट्रियता, जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो उपस्थिती जनाएर जनताको बीचमा शान्ति पूर्णरुपमा आन्दोलन गरिरहेको पार्टीलाई प्रतिबन्ध कसले लगायो ? केपी र प्रचण्डले लगाए जवाफ अगाडि छ । लिपुलेक क्षेत्रमा भएको भारतीय अतिक्रमणविरुद्ध सर्वप्रथम सशक्तरुपमा ‘लिपुलेक हाम्रो हो’को नारा लगाएर नेपाल कम्युनिस्ट पार्टी सडकमा आयो । एनसीएलको कर छलीविरुद्ध संघर्ष र जनकारवाही, भ्रष्टाचारीहरुलाई जनकारवाही, सुकुम्बासी माथि भएका अमानवीय अत्याचारविरुद्धका संघर्ष, महिला, दलित र उत्पीडित जनताविरुद्ध भएका अपराधविरुद्ध संघर्षहरु, सामाजिक असमानता र अन्यायहरुका विरुद्ध नेपाल कम्युनिस्ट पार्टीले जनताको बीचमा रहेर संयमतापूर्वक जनसंघर्ष सञ्चालन गर्दै आयो ।

कहिले पनि हिंसा र युद्धको कुरा नेपाल कम्युनिस्ट पार्टीले गरेन । सेना प्रहरी सबैलाई सम्बोधन गर्दै राष्ट्र र जनताको पक्षमा मिलेर अगाडि बढौं भनेर निरन्तर अनुरोध गरिरह्यो । तर, यसको बदलामा लुटपाट र शोषणको रक्षक बनेको केपी ओली सरकारले नेपाल कम्युनिस्ट पार्टी माथि २०७५ फागुन २८ गतेबाट हिंसात्मक प्रतिबन्ध थोप¥यो । र, प्रतिबन्धको आड र ओलीको अहंकारको रवाफमा ओलीको सरकार व्यक्ति हत्यामा उत्रियो । निहत्था कुमार पौडेलको हत्या ग¥यो । तीर्थ घिमिरेलाई कुटी–कुटी मा¥यो । नीर कुमारलाई पक्राउ गरी हात बाँधेर खोल्सामा लगेर गोली हानेर मारियो । कपिलवस्तुमा पार्टीका कार्यकर्तालाई गोली प्रहार गरियो । दर्जनौं स्थानमा गोली प्रहार गरियो । हजारौंलाई गिरफ्तार गर्नुका साथै चरम यातना र झुटा मुद्दाहरु लगाएर अमानवीय दुःख दिने काम भयो । अर्थात् जनताले संयमपूर्वक सञ्चालन गरेको आन्दोलनलाई दबाउन ओली सरकार क्रुर र अमानवीय बन्दै गयो । यी विषय यस आलेखको शुरुवातमा सम्बोधन गरिएका बुद्धिबिलास गर्ने सम्पूर्ण महानुभावलाई अवगत छ । त्यसैले थोरै अगाडि फर्कौं र सबैले समीक्षा गरौं हिंसाको कारण केपीको ओलीको अहंकार हो कि विप्लवको संयम ? हिंसाको बीज ओलीको अहंकारले रोप्यो कि, विप्लवको संयमले ? हिंस्रक ओलीको अहंकार हो कि, विप्लवको जवाफदेहिता ?

जनयुद्धलाई धनयुद्धमा रुपान्तरण गरेर पुँजीवादीहरुका टांङ्गमुनि छिरेकाहरुको धोकाधडी र बेइमानीद्वारा श्रृजित दलाल पुँजीवादी सत्ताको कारण पैदा भएको जन संकटको निवारण के विप्लवले पनि लुटेराहरुको टांङ्गमुनि छिरेर झण्डावाल गाडीमा हिँड्नुहुन्थ्यो होला त ? के प्रकाण्ड सत्ता लिप्सामा मदहोस भएर कुर्ची दाउपेचमा धपेडी गर्नुहुन्थ्यो होला त ? पक्कै पनि झापा बिद्रोह, जनयुद्ध र सबै न्यायपूर्ण आन्दोलनहरुको सपना यो होइन र थिएन । १०औं हजार शहीदहरुको बलिदानीको मूल्य यस्तो थिएन र होइन । जनताको सत्ता निर्माण गर्ने यस्तो दुषित अभिष्ट कम्युनिस्ट आन्दोलनको कदाचित होइन । ओली र दाहालहरु जनताका दुश्मनहरुसँग आन्द्रा जोड्दै दलालहरुका लुटको सुरक्षा गर्न गए भन्दैमा जनताको सपनालाई विप्लवहरुले लत्याएर कुनै कुनामा वा दूरदराजमा गुमनाम बस्न सकेनन् । त्यसैले विप्लवीहरु दुःख र संकटका कहालीलाग्दो भिर चढ्न तम्सिए, हिम्मत गरे ।

विप्लव प्रकाण्डलाई जनताको झुपडी नै प्यारो भयो । नेपाल कम्युनिस्ट पार्टी शहीदहरुको बलिदानको स्मरण गर्दै बलिदानको सपथ सिरोधार्य गरेर कि मुक्ति कि मृत्युको मार्ग हिँड्न थाल्यो । ओली र दाहालले यसलाई लुटेराको संज्ञा दिए । विभिन्न मञ्चबाट बिसबमन गर्दै विप्लवलाई लुटेराको नेता भन्न ओलीको अहंकार उद्यत् बन्यो । आफ्ना निकृष्ट र हठात आरोपहरुको बाढी चलाए । तथापि विप्लव प्रकाण्डहरुले आफ्नो संयम, धैर्यता र जनउत्तरदायितालाई कहिल्लै भुलेनन् । आखिर को थियो लुटेरा ? को थियो लुटेरा दलालहरुको ठेकेदार नेता ? को थियो भ्रष्टाचारी ? जनताको अगाडि छर्लङ्गै छ । त्यसैले समीक्षा यहाँ गर्न आवश्यक छ, आखिर हिंसाको कारण विप्लवको संयम हो कि ओलीको अंहकार ? टिप्पणीकारका कलमका मसीहरु जनताको बीचमा खडा भएको दुई विपरीत धार पुँजीवादी लुटेरा सत्ता र यसको विकल्प वैज्ञानिक समाजवादी सत्ता दिइरहेको नेपाल कम्युनिस्ट पार्टीद्वारा सञ्चालित एकीकृत जनक्रान्तिबीचको टकरावपूर्ण विगत र वर्तमानका वास्तविक, यथार्थ र तथ्यपरक सत्यमा सल्बलाउनु पर्छ, यही न्यायोचित हुन्छ ।

दुनियाँ जगतले देख्न सक्यो एकीकृत जनक्रान्ति र विप्लवलाई, खुल्लामञ्चमा लाखौं जनताहरुको बीच विप्लवले गरेको सम्बोधनलाई तर कुनै–कुनै मञ्चमा गएर विप्लव को हो म चिन्दिन भनेर ओलीको अहंकार बोलिरह्यो । ओलीको कथित राष्ट्रवादले सिके रावत जस्तो पृथकतावादीलाई देख्यो र रातो कार्पेट टक्र्यायो, तर विप्लवको राष्ट्रिय स्वाधिनताको आन्दोलन र जायज मागहरुलाई ओलीको अहंकारले सदैब तिरस्कार गरिरह्यो । वार्ताको हल्ला चलाउँदै दमनका घिनलाग्दा दुश्चक्रहरु ओलीयनहरुले चलाइरहे । सरकारको नेतृत्व गरेको र आफूलाई लोकतन्त्रवादी, समाजवादी भन्ने ओलीसँग थोरै पनि जवाफदेहिता थियो भने इमान्दारितापूर्वक वार्ताको वातावरण बनाएर एकपटक कुरा सुन्ने हिम्मत गर्नुपथ्र्याे ।
लोकतन्त्रको आवरणमा हैकम सञ्चालन गरिरहेका संसदवादीहरु यदि यो राज्यप्रति इमान्दार हुन्थे भने सबै पक्षको आवाजहरुलाई सुन्न तयार हुन्थे र राज्यको आगामी दिशाको योजना बनाउन सहमतिको निम्ति प्रयत्न गर्ने थिए । राष्ट्र र जनतामाथि संकट थोपरेर सो विरुद्ध उठेको आवाजको सुनुवाइ गर्नुको साटो हिंसात्मक प्रतिबन्ध लाद्दै जनहत्यामा उत्रिएको ओलीको अहंकार दोषी छ कि विप्लवको अहिलेसम्मको संयमता ? राज्यविहीनताको वातावरण बनाउने ओलीको भ्रष्टपन, हानीकारक कि विप्लवको देशप्रेम र जनताको मुक्तिको सपना ? समीक्षा यहाँ गर्न आवश्यक छ । त्यसैले बिरोध अहंकारी ओलीको हिंसात्मक प्रतिबन्धको गर्ने कि विप्लवी प्रतिरोधको ? न्याय बोल्न हिम्मत चाहिन्छ महोदय । मंसीर २३ गते मंगलबारका दिन मोरङ्गमा एउटा दुःखद् घटना भयो । नेपाल कम्युनिस्ट पार्टीद्वारा जारी गरिएको विज्ञप्ति अनुसार मृतकलाई पटक–पटक सच्चिन अनुरोध गरेको स्पष्ट छ । कारणले परिणामलाई निम्त्याएको छ । ओली अहंकारले लादेको हिंसात्मक प्रतिबन्ध र जनदमनलाई भुलेर बतासे टिप्पणीकारहरु यही मोरङ्ग घटनालाई उचाल्न खोजिरहेका छन् ।

स्मरण रहोस् पूर्वमा ओली अहंकारले लादेको अचाक्ली दमन र दमनका मतियारहरुविरुद्ध पार्टीले अधिकतम् लचकदार बनेर आफ्नो संयम प्रदर्शन गरेको पनि सबैमा जाहेर छ । तर, के सहनशिलता कमजोरी हो ? सहनशील बन्नु भनेको पराजीत र निकम्मा बन्नु हो ? सहनशिलताको नाममा हजारौं शहीदहरुको सपना र नेपाली जनताको चाहनालाई गुफामा थुन्नु जायज हुन्छ ? के परिस्थितीले आफूविरुद्ध लादिएका फलामे साङ्लाहरु तोडेर अगाडि बढ्ने प्रयत्न गर्दैन ? के अर्जुनले भिष्मपितामहको बध गर्नुपर्ने अवस्था बनेन् ? निश्चित गन्तव्य बनाएको यात्रीले आफ्नो सडकका काँडेतार र पत्थरहरु पन्छाउनु पर्दैन ? मोरङ्ग घटनामा मृत्यु प्राप्त गर्ने शिक्षक ग्रामीण दूरदराजमा बस्ने एक नेपाली नागरिक हुन्, तर के त्यो ग्रामीण भेगप्रति ओली अहंकारले लादेको उत्पीडनप्रति उनी संवेदनशील बन्नुपर्दैन थियो होला ? उनले गरेको सुराकी कर्म केका लागि र कसको लागि यति भेद उनले खोट्याउनु पर्दैन थियो होला ? तिनै जनताको न्यायको निम्ती कोही खाइनखाइ, लड्दै मर्दै भिरमा हिँड्ने अनि उनी तिनै जनताको न्यायका निम्ति सञ्चालन गरिएको आन्दोलनमा तगारो बन्नु जायज हुन्छ ? सुराकी गर्नु एक निन्दनीय र अक्षम्य अपराध हो ।

अपराधको दण्ड जो कोही त्यस्तो कर्म गर्नेले ढिलो या चाँडो भोग्नै पर्छ । कि त मुक्ति या मृत्युको सपथ लिएर हिँडेका योद्धा नेपाल र नेपाली जनताका गर्व हुन्, सम्पत्ति हुन् । उनीहरुको सुरक्षामा कसैले पछाडिबाट तिर हान्छ भने पक्कै पनि जनताले त्यस्ता भेदीहरुलाई बाँकी राख्दैनन् । भोलि को रहला को नरहला, कसको छातीमा गोली दागिएला या कसलाई बेपत्ता पारिएला, तर निश्चित छ दलाल पुँजीवादी सत्ताबाट नेपाली जनतालाई मुक्त गरेर वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने क्रान्तिको सपना कहिले मर्दैन । यो रक्तरञ्जित सपना भोलि कोही योद्धा भएर अवश्य उठ्ने छ र क्रान्ति बिरोधीहरुलाई दण्डित गर्ने छ । निश्चिय छ एकीकृत जनक्रान्तिले झापा बिद्रोहका सुराकीहरुको त्यतिबेलाको दुश्कर्म पनि खोतल्ने छ । नेत्र घिमिरे, बीरेन राजवंशी लगायत त्यसबेलाका योद्धाहरुको सुराकी गर्नेलाई पनि सजाय दिनेछ ।
जनयुद्धका सुराकीहरु पनि यो दण्डबाट उम्केर स्वतन्त्रताको हावा खाएर सधैँ उन्मुक्त हिँड्न सम्भव छैन । कोही नेपालीले अनाहकमा नमरुन्, क्रान्तिमा कमभन्दा कम क्षति होस् भन्ने र जनताको सुरक्षालाई नै अधिकतम् प्रथामिकतामा नेपाल कम्युनिस्ट पार्टीले राखेको पार्टीका हरेक गतिबिधिबाट थाहा पाउन सकिन्छ । र, यसमा महासचिव विप्लवको संवेदनशिलता र संयम अधिकतम् पाउन सकिन्छ । तथापि ओलीको अहंकार जनहत्यारो बनेको छ, ओलीको अहंकार समाजमा देखिएका हरेका हिंसाका कारणहरु बन्न पुगेका छन् । त्यसैले ओलीको अहंकार र गैर जिम्मेवारीपन नै हिंसाको प्रमुख कारण हो । यो मुलुकलाई ओलीको अहंकारी हिंसाबाट बचाऔं, ओलीयन अहंकारीलाई सत्ताबाट गलहत्याएर वैज्ञानिक समाजवादी सत्ताको स्थापना गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here