सुरेन्द्र भण्डारी
झापा,
चारतारे झण्डाले ढपक्क ढाकिएको बिर्तामोड । अझ बिर्तामोडस्थित मुक्तिचौक पूर्व र पश्चिम आइल्याण्डमा लामबद्ध राखिएको नेपाली कांग्रेसको चारतारे झण्डाले चुनावकै झल्को दिन्थ्यो । ठूला झण्डा फहराई रहेका थिए भने स–साना झण्डाले बेग्लै शोभा दिइरहेका थिए ।

सडकको दुवैतर्फ राखिएका चारतारे झण्डाले बिहानैबाट खुलेको थियो बिर्तामोड । बिर्तामोडसंगै चारपाने, दुर्गापुर र सुरुङ्गा पनि बिहानैबाट सजिएका थिए । अझ सजिएको थियो बिर्तामोडस्थित सुगम पेट्रोलपम्प नजिकैको खाली चौरी । त्यही चौरीको पश्चिमतर्फ बनाइएको मञ्चको अग्रभागमा थियो कालो झण्डा । झट्ट हेर्दा चारतारे झण्डाको झिलिमिलीले मन फुरुङ्ग भए पनि कालो झण्डाले प्रष्ट रुपमा जनाइरहेको थियो बिरोधको संकेत ।

चारतारे झण्डाले ढाकिएको बिर्तामोडको सोमवारको शोभा नै बेग्लै थियो भने कालो झण्डाले सरकारको बिरोध जनाउँदै नेपाली कांग्रेसका नेताले सरकारको काम कार्वाहीको बिरोध गर्दा कार्यकर्ता र समर्थकले समर्थन जनाएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध सडकमा उत्रिएको कांग्रेस झापाले आमनागरिक महामारीको संकटमा हुँदा देशमा बेथिति र भ्रष्टाचार बढाउँदै लगेको भन्दै चर्काे आलोचना सहित प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएका थिए ।
बिहान १० बजेदेखि नै सडकमा उत्रिएका कांग्रेसका कार्यकर्ताले दिनभर जसो करिब पाँच किलोमिटर सडक जाम गर्दै सवारी आवागमनमा समेत बाधा पु¥याउँदै सरकारको खरो रुपमा विरोध गरे । कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट मध्यान्ह १२ः३० बजे शुरु भएको मोटरसाइकल ¥यालीका कारण सवारी आवागमनमा बाधा पुगेपछि प्रहरी र ट्राफिक प्रहरीले बैकल्पिक सडकको प्रयोग गर्दै सवारी सञ्चालन गराएका थिए । प्रधानमन्त्री ओलीको गृह नगर झापामा ओलीकैविरुद्ध नाराबाजी भएको थियो ।
बिर्तामोडस्थित सुगम पेट्रोलपम्प नजिकै जिल्लाका १५ वटै स्थानीय तहबाट आएका नेपाली कांग्रेसका समर्थक र कार्यकर्ताले प्रधानमन्त्रीसहित सरकारकाविरुद्ध समेत चर्का नारा लगाएका थिए । विरोधसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले आन्तरिक किचलो र असफल नेतृत्वका कारण जनस्तरबाटै आलोचित नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाए । कम्युनिष्ट सत्ताको अलोकतान्त्रिक गतिविधिका कारण ेपालको संविधान र राष्ट्रियता संकटमा परेको उनको भनाइ छ । नेपाल अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको खेल मैदान भइरहेको बताउँदै डा. महतले भारत र चीनका कुटनीतिक नियोगका मानिसको भ्रमण हाम्रो देशको हितमा नभई उनीहरुको स्वार्थमा केन्द्रीत रहेको रहेको आरोप लगाए ।
यो सरकारले इतिहासमा नै नभएको भ्रष्टाचार गरेको भन्दै जनताका समस्या समाधानमा नभई सत्ता प्राप्तिमा केन्द्रीत रहेको बताए । मोटरसाइकलसहित साना ठूला १५ हजारभन्दा बढी सवारी लिएर ¥यालीमा सहभागीले कोरोना महामारी नियन्त्रणमा सरकार चुकेको र सरकार भ्रष्टाचार, कुशासन तथा अधिनायकवादतर्फ उन्मुख भएको भन्दै सरकारको विरोध सहित नारावाजी गरेका थिए ।
उता माई पूर्व र माई पश्चिमका कार्यकर्ताले भरिभराउ सुरुङ्गा केही समय खचाखच भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस झापाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकी, सरिता प्रसाई, दिलीप राई, भारतेन्दुकुमार मल्लिक, पार्टी जिल्ला सभापति उद्धव थापा, उपसभापति राम कट्टेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव तारावीर कटुवाल र प्रेम सम्वाहाम्फेले गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको हो । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।



























