दृढ इच्छाले उद्देश्य पूरा हुन्छन्

0
1020

स्रोत, साधनको विकेन्द्रीकरण गरे भौतिक विकासका पूर्वाधारहरु निर्माण गर्न गाह्रो हुँदैन । पछिल्लो संविधानद्वारा निर्दिष्ट व्यवस्था अनुसार गठन भएका तीन तहका सरकारहरुले आ–आफ्नो जिम्मेवारी र कर्तव्य निर्वाह गरेको खण्डमा पूर्वाधार निर्माण गर्ने मात्र होइन जनताका जीवनसँग जोडिएका सबै आवश्यकता पूरा गर्न सक्छन् । त्यसो भए आम जनतालाई सेवा उपभोगमा सहज हुन्छ र उपलब्ध सेवा उपभोग गर्दै जीवनलाई गुणस्तरीय बनाउन समेत मद्दत पुग्छ । विकास आजको आवश्यकता हो, जसले मानिसका असीमित आवश्यकताहरु पूरा गर्दै आर्थिक जीवन उठाउँदै वैज्ञानिक आविष्कारहरुको पहुँचमा पु¥याउँछ । त्यसैले विश्वका सबै मानिस र देशहरु विकासको मार्गमा उन्मुख रहन्छन् ।

विकास नियमित प्रक्रिया हो । यसलाई परिवर्तन पनि भन्न सकिएला । हिजोभन्दा आज र आजभन्दा भोलिमा नयाँपन आउँदै जानु स्वभाविक प्रक्रिया हो, जुन हामीले भन्ने गरेको विकाससँग सम्बन्धित छ । सञ्चारजगतको विकासले स–साना विषय, काम र घटनाहरुलाई तत्क्षण विश्वव्यापी गर्ने कारणले चर्चा बढी हुन्छ, जो हिजो हुँदैन थियो । अहिले नेपालको बदलिएको राजनीति व्यवस्थाका कारण नेपाली जनताको मानिसकतामा समेत परिवर्तन आएको छ । चर्चा बटुल्ने, लोकप्रियता कमाउने र कुनै न कुनै प्रकारको स्वार्थ पूरा गर्ने उद्देश्यले गरिएका कतिपय विकास भनिने काम चर्चामा रहन्छन् पनि । तर, सम्पन्नता, प्रतिफल र अवस्थाका बारेमा बेखबर बनिँदा वर्षौंसम्म पनि निर्माणाधीन अवस्थामै रहन्छन् । हामीकहाँ यही अवस्था बलियो छ अर्थात् ठूलो चर्चा र तामझामसँग आरम्भ गरिएका गौरवका भनिएका आयोजनाहरु निर्धारित समयमा नसकिने मात्र होइन बेबारिसे समेत बन्ने गरेका उदाहरण छन् ।

झापामा विकासका गतिविधिहरु उल्लेखित उदाहरणबाट अछुतो रहने कुरै भएन । बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन चार लेनको सडक यसको मुख्य उदाहरण हो, जो निर्धारित समयमा त सम्पन्न भएन नै त्यसपछि पनि कछुवा गति लिन सकिरहेको छैन । त्यस्तै अन्य कति आयोजनाहरु निर्माण कै चरणमा छन् समय पूरा भइसक्दा पनि । सदरमुकाम भद्रपुरमा बन्दै गरेको गौरवको आयोजना जिपी भवन, त्यस्तै विभेदले आजसम्म निर्माणाधीन नै छ । यही मेसोमा झापाको दक्षिणी गाउँपालिका बाह्रदशीमा आइतबार प्रदेश मन्त्री, हिक्मतकुमार कार्कीले दुईवटा भवनको शिलान्यास गरेका छन् । वडा कार्यालयका ती दुई भवन सम्झौता अवधि मै सम्पन्न हुने आधार पनि छ । गाउँपालिकाको लगानी रहने, प्रदेश सरकारको सहयोग रहने र क्रमागत बजेट आउने कारण भवन बन्नेमा शंका छैन । मन्त्री कार्कीले त्यो बाहेक एकै दिन एउटा विद्यालय र एउटा ज्येष्ठ नागरिक सामुदायिक भवनको उद्घाटन पनि गरे । जनप्रतिनिधिहरुको दृढइच्छा निष्ठा, सेवा गर्ने भाव र जाँगर नमर्ने हो भने विकासका सबै आयोजनाहरु यथासमय निर्माण हुने छन् । त्यसो भए मात्र जनप्रतिनिधि, व्यवस्था र पद्दतिसँग जनताको भरोसा बढ्छ । त्यसैले सबैपक्षलाई जनताद्वारा अनुमोदित गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here