नेपाली खाद्य कन्दमूलहरु

0
1684

परापूर्वकालमा मानिसहरु गुफा, कन्दरा तथा छहारीमा बस्दथे । त्यतिबेला वैज्ञानिक कृषि प्रणाली तथा आधुनिक वैभवपूर्ण समाज पनि बनेको थिएन् । उनीहरु कन्दमूल, सागपात खान्थे । जंगली जनावर तथा चराचुरुङ्गीको शिकार गरी जीविका चलाउँथे । रोग ब्याधीहरुमा जडीबुटीहरुको प्रयोग गर्दथे । यस्ता कुराहरु मानव विकासको क्रमको अध्ययनबाट प्रष्ट हुन्छ । यसका प्रमाणको काम ऐतिहासिक, पौराणिक ग्रन्थहरुले समेत गरेका छन् । त्यतिबेला कन्दमूलको रुपमा प्रयोग गरिने धेरै वनस्पतिहरु लोप भइसकेका छन् । प्राचीन चलनचल्तीका तथ्यांकका आधारमा वैज्ञानिक ज्ञान एवम् प्रविधिको सहयोग लिएर आधुनिक अन्न, सागपात, फलफूल, औषधि, रेशा, गम, रेजिन, ल्याटेक्स, टानिन, आदिका स्रोतको रुपमा वनस्पतिहरुको निर्माण, सम्पादन समेत गरिएको छ ।

प्राचीन समयमा नाम चलेका ऋषिमुनीहरुले जंगल तथा हिमाली क्षेत्रमा एकान्तमा रहेका गुफा तथा आश्रमहरुमा बस्ने गरेको इतिहास मरिसकेको छैन् । उनीहरु देवस्थलमा बस्ने र कन्दमूलहरु नै खाने गर्दथे । त्रेता युगका वनबासी राम, सीताले समेत अन्न नखाइ कन्दमूलहरु खान्थे भन्ने कुरा बिभिन्न रामायणहरुमा उल्लेख छ । नेपालको भौगोलिक अवस्थाको कारण अहिले पनि अति दूर्गम स्थानहरुमा बस्ने मानिसहरुको खानेकुराको आधार कन्दमूल नै छ । अहिले आएर कन्दमूल धेरैको लागि आंशिक खानाको रुपमा एउटा हिस्सा ओगट्न सफल समेत छ । कन्दमूल खाने तरिकाको बिविधता समेत चाखलाग्दो छ । यसको विस्तृत अध्ययन मानन्धर १९७४, सिंह १९६० ले गरेका छन् । २०३८ सालमा तत्कालीन श्री ६ को सरकार वन मन्त्रालय वनस्पति विभागले पनि नेपालमा पाइने कन्दमूलहरुको सचित्र पुस्तक प्रकाशनको प्रयास गरेको कुरालाई सम्झनु आवश्यक छ । उत्तरी भारत, भुटान, बर्मा, आदि क्षेत्रहरुबाट समेत वैज्ञानिकहरुले खान योग्य जंगली वनस्पतिहरुको अनुसन्धानहरु गरेको पाइन्छ । ब्रान्डिस १९७४, कोलेट १९७१, दथी १९०३÷२९, महेश्वरी १९६३, टेवलट १९११ आदिले जंगली खाद्य कन्दमूलको अनुसन्धान गरेको इतिहास भेटिएको छ ।

अमला (एम्ब्लिका अफिसिनालिस), अर्चले (एन्टिडेस्मा डायन्ड्रम), अल्लो (जिरार्डिआना पामेटा), असुरो (एढाटोडा भासिका), इमली (टैमारिण्डस ईण्डिका), ऐँजेरु (डेन्ड्रोपथोए फालकाटा), ऐंसेलु (रुबस एलिप्टिकस), ओखर (जुग्लान्स रिजिया), मरिला वा ओदाल (स्टरकुलिया भिलोसा), कटुस (क्यास्टानोप्सिस ट्रिबुलोईड्स), कदम (एन्थोसिफालस कदम्बा), पाल्पाको आसपास पाइने कापु वा चरेमाला रुमेक्स हैस्टेटस), मेची कोशीमा झण्डै १९०० मिटर, दैलेखतिर २१०० मिटरको उचाइमा पाइने काफल (माईरिका ईस्कुलेण्टा), रुख ऐंशेलु (रुबुस पनीकुलेटस), कालो ऐंसेलु (रुबुस फोलिओलोसस), काली बिहीं (सोलाम निग्रम), कालो न्युरो (ड्रायोथिरिस बोरिएनम), कोशी अञ्चल राजारानी आसपास ५७० मिटर तथा अरुण उपत्यकामा २५०० मिटर उचाईसम्म पाइने, धौलागिरीमा १५०० तथा नेपालगञ्ज १८१ मिटर उचाईमा समेत पाइने किमु (मोरस अल्वा), कर्णालीको २००० मिटरको उचाईमा प्रशस्त पाइने कर्णाली किमु (मोरस सेराटा), कुकुर डाइनो (स्मिलेक्स अह्पेरा), कुरिलो (एस्पारागस रेसिमोसस), कुसुम( स्लेंकेरा ट्राईजुगा), कोईरालो (बौहिनिया भेरिगेटा) आदि नेपाली खाद्य कन्दमूलहरु हुन् ।

तीनजुरे मिल्के जलजलेको २४०० देखि २५५० मिटर उचाइमा देखिने खराने (सिम्प्लोकस रामोसिसिमा), त्यस्तै बिभिन्न स्थानहरुमा पाइने खस्रेटो (फिकस हिस्पिडा), गाँजा भाङ (कानाभिस सेटिभा), गोगन (सौरौईया नेपाउलेन्सिस), घोडताप्रे (सेन्टेला एसियाटिका), चरि अमिलो (अक्जालिस कोर्निकुलाटा), चुत्रो (बर्बेरिस एरिस्टाटा), जमाने मान्द्रो (माहोनिया नेपौलेन्सिस), जामुन (युजेनिया जम्बोलाना), जिब्रे साग (ओफियोग्लोसम नुडिकाउली तथा ओफियोग्लोसम रेटिकुलेटम), जेठी मधु (स्टेरेलिया मोनोस्पर्मा), टाँकी ( बौहिनिया मालावारिका), ठोट्ने (पोलिगोनम मोल), तामा बाँस (डेन्ड्रोकालामस हामिल्टोनाइ), तेजपात (सिनामोमम तमला), दबदबे (गरुगा पिनाटा), नूनढिकी (ओसाइरिस बिटियाना), पानी अमला (नेफ्रोलेपिस कर्डिफोलिया), पैयुँ ( प्रुनस सेरास्वायडिस), आदि नाम लिनैपर्ने नेपाली कन्दमूल मानिन्छन् । त्यस्तै यसको सूचीमा बेथु, बयर, बर, बर्रो, हर्रो, पुदिना, टिमुर, बेल, कुकुर तरुल, भ्याकुर, भ्यागुत्ते उन्यु, रानी सल्ला, लप्सी, लालीगुराँस, वन लसुन, सिमल, सिमसाग, पोई साग, सिस्नु आदि समेत पर्दछन् ।

नेपालमा पाइने खाद्य कन्दमूलहरुको खोजी पूर्णरुपमा भएको छैन् । झ्याउ, लेऊ, ढुसी तथा उन्युजन्य कन्दमूलहरुको वैज्ञानिक नामकरण चुनौतिको बिषय बनेको छ । किनभने नेपालका फूल फुल्ने प्रजातिका वनस्पतिहरुको खोजी तथा अनुसन्धान र वनस्पति पहिचान सजिलो देखिएको छ । तल्ला वर्गका वनस्पति पहिचान गर्न कठिन मात्र होइन यसका विज्ञ समेत धेरै कमी भएको अवस्था समेत हो । फेरि अर्को पर्यावरणमा पाइने सोही जातिका वनस्पतिका प्रजातिहरुको पृथकता अर्को चुनौति बनेको छ । नेपालमा प्राकृतिक स्रोत, वनस्पति तथा जनावरहरुको पहिचान र अनुसन्धानको कार्य एकदमै अत्यास लाग्दो छ । यसमा अध्ययन अनुसन्धान गर्न चाहनेहरुलाई सुविधा तथा सुरक्षाको बारेमा तीनै तहका सरकारहरुले चासो राख्न ढिलो नगरेको राम्रो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here