फिल्म क्षेत्र अझै सुनसान: करोडौं लगानी, शून्य आम्दानी

0
1613

सुरेन्द्र भण्डारी

झापा,  बाह्रदशी गाउँपालिका–३ राजगढका चान महमदले पाँच करोड रुपैयाँभन्दा बढी लगानी गर्दै गतवर्षबाट एभरेष्ट डिजिटल सिनेमा हल सञ्चालनमा ल्याए । लामो समयसम्म बैदेशिक रोजगारीमा रहेका उनले आफ्नै ठाउँमा केही नवीन कार्य गर्ने सोचका साथ चलचित्र व्यवसायमा लगानी गर्दै २० जना भन्दा धेरैलाई रोजगारी दिए । चलचित्र क्षेत्रमा लगानी गर्दाको विदेशी अनुभवसहित नेपाल फर्किएका उनले आफ्नै ठाउँमा विश्वस्तरीय चलचित्र देखाउने गरी उपकरण भित्र्याएर र हल सञ्चालन गरेका थिए । हल सञ्चालन गरेको केही महिलासम्म उनलाई आएका दर्शकलाई चलचित्र देखाउन भ्याईनभ्याई भयो । बिहानदेखि राति अबेरसम्म दिनहुँ हाउसफुल हुने चलचित्र घर अहिले भने सुनसान छ ।


बाह्रदशी गाउँपालिका–३ राजगढका चान जस्तै बिर्तामोडका युवा व्यवसायी मिजास पोखरेलले पनि बिर्तामोडमा दुई वर्षअघि झण्डै ८ करोड रुपैयाँ लगानी गर्दै वान स्टप मलमा ‘क्यूएफएक्स’ हल सञ्चालनमा ल्याए । शुरुका केही महिना हलले राम्रै व्यापार पनि ग¥यो । नेपाल चलचित्र संघका पूर्व केन्द्रीय उपमहासचिव समेत रहेका पोखरेलले झापामा नै पहिलोपटक ‘क्यूएफएक्स’हल सञ्चालनमा ल्याएपछि नयाँ प्रविधिले दर्शकको मन त्यतै खिचेको थियो । तर, त्यो लामो समय टिक्न सकेन । कारण भइदियो कोरोना भाइरस । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट फिल्म हल पनि अछुतो रहेनन् । जसका कारण चलचित्र क्षेत्रमा लगानी गर्ने लगानीकर्ता, चलचित्र निर्माता, कलाकारदेखि हल सञ्चालकसम्म नराम्ररी प्रभावित भए ।
गत वर्षको चैत महिना यता कोरोना महामारीकै कारण चलचित्र हल पूर्ण रुपमा बन्द हुँदा निर्माता, कलाकार, सहसञ्चालक मात्र मारमा परेनन् कर्मचारीको रोजीरोटी नै गुम्यो । लामो समयसम्म चलचित्र क्षेत्रको कारोबार ठप्प हुँदा यसमा लगानी गर्ने व्यवसायीलाई बैंकको व्याज तिर्न समेत हम्मे–हम्मे परेको नेपाल चलचित्र संघ १ नम्वर प्रदेश सभापति चैतन्य बरालले बताए । झापामा दर्जनको हाराहारीमा चलचित्र हल छन्, तिनमा आश्रित कर्मचारीको रोजी रोटी त खोसियो नै हामी हल सञ्चालकलाई पनि बैंकको व्याज तिर्न समेत धौ–धौ भएको छ । वरालका अनुसार एउटा फिल्म हलले कम्तीमा ४० जनालाई रोजगारी दिएको छ ।
झापामा सञ्चालनमा रहेका चलचित्र हलमा झण्डै ४ सयभन्दा बढी कर्मचारीको रोजीरोटी गुम्यो, हामी व्यवसायी त मारमा प¥यौं नै, हामीभन्दा माथिका र मुनिका सबैलाई कोरोनाको बढ्दो संक्रमणले थला बसायो । हाल झापाको बिर्तामोडमा कृष्ण, पाथीभरा र क्यूएफएक्स गरी तीन वटा फिल्म हल सञ्चालनमा थिए ।


त्यस्तै दमकमा पाथीभरा, दमक चलचित्र मन्दिर र डिम्याक्स गरी तीन वटा फिल्म हल सञ्चालनमा थिए । उता धुलावारीमा तृष्णा, इँटाभट्टामा सिटी, भद्रपुरमा कृष्णराज, वुधवारेमा बुधवारे चलचित्र मन्दिर र राजगढमा एभरेष्ट डिजिटल सिनेमा हल गरी ११ वटा फिल्म हल सञ्चालनमा थिए– बरालले भने– कोरोना महामारीका कारण सबै हल बन्द हुँदा चलचित्र व्यवसायमा लगानी गरेको अर्वाैं रुपैयाँ जोखिममा परेको छ । दमकस्थित पाथीभरा चलचित्र हलका सञ्चालक समेत रहेका बरालले फिल्म हल सञ्चालन गर्दा मासिक एक लाखभन्दा बढी खर्च हुने गरे पनि अहिले हल सञ्चालन नुहँदा सो रकम बचेको छ तर बैंकको व्याज कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिरहेको छ । उनले भने– फिल्म हल चल्दा नियमित कारोवार हुन्थ्यो, पैसा आउने र जाने प्रक्रिया चलिरहेकाले वैंकको किस्ताको खासै वास्ता हुँदैन थियो ।
मेची र कोशी अञ्चलमा २७ वटा चलचित्र हल रहेको बताउँदै सभापति बराल भन्छन्– सबै हल सञ्चालकको अवस्था उही हो, जुन मैले व्यहोरिरहेको छु । नेपालभर २ सय वटा चलचित्र हल रहेको बताउँदै उनले ती हलले दैनिक न्यूनतम् एक करोड ५० लाख देखि ३ करोड रुपैयाँ सम्मको कारोवार गर्ने गरे पनि अहिले कोरोना भाइरसका कारण कारोवार ठप्प हुँदा चलचित्र क्षेत्रमा गरिएको अर्बौ रुपैयाँ जोखिममा परेको बताए । उनले भने– झण्डै देशभर ८ हजार भन्दाबढी हलमा काम गर्ने कर्मचारी अहिले बेरोजगार छन् । चलचित्र क्षेत्रमा लगानी गर्नेको अवस्था उस्तै छ, यस विषयमा राज्यले ध्यान दिएको छैन । हामी उपेक्षामा छौं । यता बिर्तामोडस्थित क्यूएफएक्स हल सञ्चालक पोखरेल भन्छन्– सरकारले फिल्म हल चलाऊ भन्ने आदेश कहिले दिन्छ, त्यसैको पर्खाइमा छौं । आदेश आए हल सञ्चालन गर्ने थियौं । सवै क्षेत्र प्रायः खुलेका छन् अनि फिल्म हल मात्रै किन बन्द गर्नु प¥यो ? सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर हामी हल सञ्चालन गर्न तयार छौं । स्थानीय प्रशासन, स्थानीय सरकार, नेपाल सरकार र डब्लूएचओले तोकेको स्वास्थ मापदण्ड पूरा गरेर अब हल सञ्चालन गर्न सरकारले दिनुपर्छ– पोखरेलले भने– चलचित्र क्षेत्रमा काम गर्ने जोसुकै भए पनि ‘गर या मर’को अवस्थामा छन् अहिले यस्तो अवस्थामा सरकारले हेर्नुपर्छ । एउटा चलचित्र हलले वार्षिक न्यूनतम् कारोवार एक करोडको हाराहारीमा गर्छ– पोखरेलले भने – पछिल्लो समय नौं महिनादेखि हल बन्द छन्, यसै अनुमान गर्नुहोस् यो क्षेत्रले कति घाटा व्यहोरो होला ! चलचित्र हलबाट आम्दानी शून्य भए पनि बैंकलाई मासिक दुई लाख रुपैयाँ व्याज बुझाउँदै आएको पोखरेलले बताए ।
देशभर सञ्चालनमा रहेका २०० सिनेमा हलमध्ये ६० प्रतिशत सिंगल हल र ४० प्रतिशत मल्टिप्लेक्स छन् । सिंगलहरु अपग्रेड गर्न पनि पछिल्लो समयमा ठूलो लगानी भएको छ । एउटा हलमा ३ करोडदेखि ८ करोडसम्म लगानी भएको अनुमान छ । औसतमा एउटा हलमा ५ करोड रुपैयाँ खर्च लागेको मान्दा यो व्यवसायमा १० अर्बभन्दा बढीको लगानी भएको अनुमान छ । त्यसमध्ये करिब ७० प्रतिशत बैंकको ऋण भएको ३० प्रतिशतले मात्रै आफै खर्च गरेका छन् । फिल्म हल सञ्चालनका लागि करोडौं रुपैयाँ लागे पनि यो व्यवसायमा अहिले आम्दानी भने शून्य रहेको नेपाल चलचित्र संघका पूर्व केन्द्रीय उपमहासचिव पोखरेल बताउँछन् ।
साउदी अरबको विश्व प्रशिद्ध लुलु हाइपर कम्पनीमा जनरल म्यानेजरको पदमा रहेर काम गरिरहेका राजगढका चान महमद स्वदेश फर्किएलगत्तै लामो समयदेखि बन्द रहेको राजगढ चलचित्र हल खरिद गर्दै नयाँ व्यवस्थापनमा सञ्चालन गर्न जुटेका थिए । तर, उनी पनि अहिले निराश छन् । आफूले लगानी गरेको व्यवसाय लामो समयदेखि बन्द भएपछि उनी अहिले चलचित्र हल सञ्चालनका लागि सरकारको आदेश कुर्दै अर्कै व्यवसायमा केन्द्रीत भएका छन् । यातायात, होटल, रेष्टुरेन्ट, बैंक, उद्योग लगायत सबै क्षेत्र खुले पनि फिल्म हल नखुल्नु दुःखद् पक्ष भएको बताउँदै आफूले अहिले राजगढमा एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएको बताए । उनले भने– हलमा काम गर्न सबै कर्मचारी वेरोजगार भए उनीहरुलाई रोजगारी दिनु मेरो कर्तव्य हो, कोरोनाका कारण फिल्म हल बन्द भएपछि रातारात राजगढमा एभरेष्ट सस्तो बजार सञ्चालनमा ल्याएको हुँ । यहाँ हलका स्टाफसहित ३५ जनाभन्दा बढीले अहिले रोजगारी पाएका छन् ।
कोरोना महामारीकै कारण झण्डै ६ महिना लामो अवरोधपछि जीवन लयमा फर्किंदैछ । सार्वजनिक क्षेत्र पुनः विस्तारै सञ्चालनमा आउन थालेपछि बजारमा चहलपहल शुरू भएको छ । धेरैजसो व्यवसाय चलमलाउँदा पनि फिल्म क्षेत्र भने अझै सुनसान छ । मनोरञ्जन दिन सरकारी मापदण्ड अनुरूप फिल्म हल चल्नुपर्ने भएकाले फिल्म क्षेत्रको रमझम फेरि कहिलेदेखि शुरू होला भन्ने चौतर्फी जिज्ञासा छ । तर, सरकारले भने फिल्म हल सञ्चालनका लागि अनुमति दिएको छैन । मान्छेको भीडभाडै हुने धेरै ठाउँको निषेध फुकुवा भए पनि फिल्म क्षेत्र ठप्प रहँदा यसमा आवद्ध कलाकार, व्यवसायी, कामदार मारमा परेका छन् नै प्राविधिकदेखि हल व्यवसायसँग जोडिने अन्य व्यवसाय पनि धरापमा परेको हल सञ्चालकहरुको भनाइ छ ।
यता हल सञ्चालकहरू भने सरकारले हल खुलाउने अनुमति नदिए पनि हल खुलाउने तयारीमा छन् । कोरोना भाइरसको प्रकोप कहिलेसम्म रहिरहने हो, कुनै टुंगो नभएकाले उनीहरू स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै हल सञ्चालन गर्ने तयारीमा पुगेका हुन् । नेपाल चलचित्र संघले पुस १० गतेबाट हल खोल्ने घोषणा गरेको छ । कोरोना जोखिमका कारण बन्द गरिएका हल ९ महिना बितिसक्दा पनि सरकारले खोल्ने कुनै निर्णय नगरेपछि संघमा आबद्ध हल सञ्चालकले हल खोल्ने स्वघोषणा गरेका हुन् ।
सोमवार विज्ञप्ति जारी गर्दै सरकारसँग ९ सूत्रीय माग राख्दै सरकारले अब अनुमति नदिए पनि पुस १० गतेबाट हल सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here