
नेपाली कांग्रेसले २०७७ साल मंसीर २९ गते सोमबार देशका ७७ वटै जिल्लामा वर्तमान नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विशाल प्रदर्शन गरेको छ । विरोध प्रदर्शनबाट कांग्रेसले कोरोना भाइरसको त्रास देखाएर स्वच्छन्द शासन गर्दै जनताका समस्यामा भन्दा व्यक्तिगत स्वार्थका लागि पार्टीभित्र शक्ति संघर्षमा रुमल्लिएका नेकपाका नेताहरुलाई खबरदारी पनि गरेको छ ।
सरकार जनताका काम गर्न चुकिरहेको बेला प्रतिपक्ष कहाँ छ भनेर जनताले खोजिरहेका समयमा यस विरोध प्रदर्शनबाट कांग्रेसले आमजनतामा आफूलाई देखाउने काम पनि गरेको छ । उसले यस विरोधबाट आफू जनताकै बीचमा रहेको पनि देखाउने मौका पाएको छ । यो विरोध प्रदर्शनले कांग्रेसलाई नेपाली जनतामा फेरी एकपटक स्थापित गर्ने अवसर पनि प्रदान गरेको छ ।
छोटो समयमा र कोरोना महमारीमा जनता आफैं पनि त्रसित भइरहेका बेला उनीहरुलाई स्वास्थ्य मापदण्ड पालना गर्दै सडकमा लाखौंको संख्यामा उत्रन प्रेरित गर्नमा कांग्रेसले पाएको सफलताले अझै पनि जनता कांग्रेसबाट आशावादी छन् भन्ने पनि देखाएको छ । यसै परिप्रेक्ष्यमा यस पटकको आलेखमा पंक्तिकारले कांग्रेसको विशाल विरोध प्रदर्शनले दिएका सन्देशलाई सात वटा बुँदामा ब्याख्या गर्ने जमर्को गरेको छ ।
सन्देश १
नेपाली कांग्रेसले यस विरोध प्रदर्शनबाट नेकपाको ओली नेतृत्वको सरकार निकम्मा छ । यसले चुनावमा वाचा गरे अनुसार जनताका काम होइन आफ्नाका काम गरेर झुक्याएको छ । सरकारको कुशासनबाट जनता आजित भएका छन् ।
प्रधानमन्त्री ओलीले ठूला गफ गर्दा तत्काल काम देखाउनु नपर्ने भएकोले ठूला गफ गर्ने र गर्न सक्ने साना काम नगरेर जनतालाई आजित तुल्याए । गरीब र निमुखा जनताको हित गर्छु भनेर नगरेको र धोका दिएको उदाहरण उखु किसानको आन्दोलन र पीडालाई हेरेपछि थाहा हुन्छ भन्न पाएको छ । एकै दिनको देशव्यापी विशाल प्रदर्शन मार्फत यस्तो सन्देश दिन पाउनुले प्रमुख प्रतिपक्षी कांग्रेसलाई बचाउने सञ्जिवनीको काम गरेको छ ।
सन्देश २
सरकार जनताका लागि हो । अझ लोकतान्त्रिक गणतन्त्रमा जनता नै जनार्दन हुन् । तर, कोरोनाको महामारीका बीच जनतालाई राहत दिएर देशको अर्थतन्त्र सबल बनाउनुपर्ने बेलामा उल्टै स्वास्थ्य सामग्री खरिददेखि वितरणमा समेत अनियमितता गरेको र त्यसको विरोध गर्दा छानविन गर्नुको बदला ढाकछोप गर्ने काम गरेको, ट्रान्सपरेन्सी इन्टर नेसनलको सर्वेक्षणमा आफ्ना अनुकूलका कुरा ठीक भन्ने र भ्रष्टाचार अत्यधिक बढेको भन्ने जनताको कुरालाई गलत भन्ने कुरा गरेर स्वार्थप्रेरित भएको कुरा एकै साथ देशव्यापीरुपमा जनतासमक्ष राख्ने मौका पाउनु यस विरोध प्रदर्शनको दोश्रो सन्देश हो । भ्रष्टाचार हुन दिन्न भन्ने ओलीले भ्रष्टाचारको आरोप लागेका माथि छानविन गर्न अबरोध गरेका छन् ।
सन्देश ३
कांग्रेस विरोधको राजनीतिमा सफल छ भन्ने यस विरोध प्रदर्शनमा भएको उपस्थितिले फेरि एकपटक पुष्टि गरेको छ । यत्रो कोरोना महामारीमा पनि कांग्रेसका कार्यकर्ता र शुभेच्छुक मास्क लगाउँदै स्यानिटाइजर दलेर प्रदर्शनमा उत्रिए ।
सन्देश ४
देश र जनतालाई समस्या भयो भने जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि कांग्रेस जनताको पक्षमा सडकमा आउन पछि पर्दैन भन्ने सन्देश पनि यस विरोध प्रदर्शनले देखाएको छ ।
सन्देश ५
आफूभित्र अन्तरद्वन्द्व भए पनि देश र जनतामा समस्या भयो भने त्यस्तो अन्तर द्वन्द्व बिर्सिएर कांग्रेसीहरु एकजुट हुँदै सडकमा आउन सक्छन् भन्ने सन्देश पनि यस प्रदर्शनबाट देखिएको छ ।
सन्देश ६
कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा एउटा पुलको उद्घाटन गर्न सर्वपक्षीय पुल निर्माण समितिको सर्वसम्मत निम्तोमा तनहुँ गएका बखत सरकारले स्थानीय प्रहरी प्रशासन प्रयोग गरी रोक्ने र लछार पछार गर्दै हिरासतमा लिएको घटनाले सरकार स्वेच्छाचारी दिशातिर उन्मुख छ, ऊ अधिनायकबाद लाद्न चाहन्छ भन्ने प्रष्ट भएको घटना आमजनतामा देखाउने मौका पनि कांग्रेसले पाएको छ भने पौडेलमाथि भएको अन्यायमा आम कार्यकर्ता र शुभेच्छुकले साथ दिनुले पौडेल राष्ट्रियस्तरको नेता हुन् भन्ने पनि देखाएको छ ।
सन्देश ७
पार्टी पंक्तिमा देउवा केही गर्न छोडे, ओलीसँग पो मिलेकी भन्ने कार्यकर्तामा भएको आशंका र नेकपाका नेताहरुले अघोषितरुपमा देउवाविरुद्ध गरिरहेको गोयवल्स शैलीको प्रचारलाई देउवाले यस विरोध प्रदर्शनलाई अघि बढाउन देखाएको तत्परताले त्यो आशंका मेटाउने मौका पाएका छन् ।
अन्त्यमा,
कांग्रेसको प्रदर्शन साच्चै नै विशाल थियो । यसबाट नेकपाका नेताहरु र ओली सरकारमाथि खबरदारी भएको छ । जनतामा नेकपा सरकारप्रति आमजनतामा निराशा छ भन्ने पनि देखिएको छ । अब पनि ओली सरकार र उसका नेता नसच्चिने हो भने जनताले आगामी निर्वाचनमा नेकपालाई बढार्छन् भन्ने पनि देखिएको छ ।
त्यसैगरी पौडेलमाथि भएको आक्रमणलाई पंक्तिकारले राजा ज्ञानेन्द्रले गिरिजाप्रसाद कोइरालामाथि काठमाडौंको भूगोलपार्कमा गरिएको दमनसँग दाँजेर हेरेको छ । भूगोलपार्क गिरिजामाथि प्रहरीले लाठी हान्यो । कोइरालाको टाउकोबाट रगत बग्यो । अनि त्यसै बखत गिरिजाले प्रतिज्ञा गरे अब ज्ञानेन्द्रको माब होइन नेपालबाट राजतन्त्रकै आयु सकियो ।
किनकि त्यसबेला गणतन्त्रको पक्षमा लाग्न कांग्रेसलाई दबाब थियो । उसले मानिरहेको थिएन ।
संवैधानिक राजतन्त्रलाई आफ्नो विधानमै राखेको कांग्रेसले विधान संशोधन गर्नुपर्ने थियो । स्थापनाकालको उद्देश्य छोड्नुपर्ने थियो । राजतन्त्रलाई छोड्यो भने कम्युनिष्ट बढ्छन् भन्ने विपीको विश्लेषणविरुद्ध नयाँ विश्लेषण गरेर जानुपर्ने थियो । तर, पनि राजतन्त्रको भारी बोकेर हिँडेको कांग्रेसको एउटा खम्बा गिरिजामाथि राजाले नै लाठी हान्न लगाएपछि त्यही दिन नेपालबाट राजतन्त्र सकिने बिजारोपण भएको थियो । कांग्रेसले राजतन्त्र छोड्ने बित्तिकै नेपालबाट राजतन्त्र सदाका लागि अस्तायो ।
कम्युनिष्टलाई प्रतिष्पर्धी मात्र ठानेर राजनीति गरिरहेका बरिष्ठ नेता पौडेलमाथि ओलीले लाठी हान्न लगाउनुले पौडेलमा नयाँ तरंग पैदा भयो । अनि उनले भोलिपल्ट पुल उद्घाटन गरेपछि भने ओली ज्यान मुद्दामा १४ बर्ष जेल परेका हुन् । म आस्थाका आधारमा जेल भोगेको मान्छे हुँ । स्वतन्त्रताको पक्षमा र स्वेच्छाचारिताको विरोधमा उत्रिएर छ दशकदेखि राजनीति गरिरहेको म अब ज्यान मुद्दामा जेल परेका ओलीको स्वेच्छारिताविरुद्ध लड्ने प्रण लिन्छु ।
त्यसैले सोमबारको काठमाडौंको विरोध सभामा पौडेलले भने संघीय गणतन्त्रको मर्ममाथि पहिलो प्रहार सर्वसत्ताबादी कम्युनिष्ट सरकारले गर्दैछ । थप उनले भने– पञ्चायतकालमा रुख रोप्दा कांग्रेसीका टाउको फुटाइन्थे अहिले पुल बनाउने कांग्रेसमाथि ओली सरकारले करंग भाच्दैछ । कतै अब ओली अर्थात् कम्युनिष्ट शासन नेपालबाट सकिने हो त ?


























