झापा,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिले सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाका लागि देशव्यापी जनप्रदर्शन र संघर्ष गर्ने निर्णय गरेको हो ।
अध्यक्ष कमल थापको अध्यक्षता तथा अध्यक्षद्वय पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीको सहभागितामा बसेको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता र उदासिनताका विरुद्धमा तथा सनातन हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निम्ति पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्षको निर्णय गरेको राप्रपाले जनाएको छ ।
केन्द्रीय सचिवालय प्रमुखद्वय धनबहादुर प्रधान र भास्कर भद्राद्वारा जारी विज्ञिप्तमा पहिलो चरणमा देशव्यापी जनप्रदर्शन र संघर्षअन्तरगत पुस १२ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सरकारसमक्ष ज्ञापनपत्र बुझाउने र पुस १२ देखि २१ गतेसम्म जिल्ला सदरमुकाम र ठूला सहरहरुमा मोटरसाइकल ¥याली गरिने उल्लेख छ ।
यस्तै पुस १५ देखि २५ भित्र जिल्ला सदरमुकामहरुमा जनप्रदर्शन गर्ने र पुसको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ । राप्रपाले दोस्रो चरणमा गरिने विरोध कार्यक्रम भने सार्वजनिक गरेको छैन ।
बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधनसहित पारित गरेको छ । बैठकको निर्णयअनुसार पुस ६ र ७ गते काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नेछ ।





























