पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एकजना १६ वर्षपछि प्रक्राउ

0
749

दैलेख,

द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न एक फरार अभियुक्तलाई दैलेख प्रहरीले प्रक्राउ गरेको छ।

थापाको हत्यामा सलंग्न ठहर भएका जिल्लाको नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखबाट फैसला भई २ वर्ष कैद भुक्तानका लागि फैसला भएको थियो।

फरार पुनलाई ईलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत दैलेखमा उपस्थिति गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पछि ५ जनासँगै पुन पनि पुर्पक्षका लागि थुनामा रहेका थिए। उनलाई अदालतले दुई वर्ष कैद तोकेको थियो। पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरी सकेका छन्।

पुनले १ वर्ष सात महिना १ दिन कैद भुक्तान गरेका र बन्दीप्रत्यक्षीकरण परेका कारण अदालतको फैसला ढिला आएपछि उनि फरार रहेका थिए। प्रक्राउ परेका पुनले ४ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।

माओवादीद्वारा हत्या गरीएका पत्रकार थापाकी श्रीमती लक्ष्मी थापाले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते ९ जनाविरुद्ध किटानी जाहेरी दिएपछि तत्कालीन अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो। अन्य ४ जनाले भने जिल्ला अदालत दैलेखबाट भएको फैसलाअनुसार कैद भुक्तान गरिसकेका छन्।

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्वारी पुगेका थापालाई तत्कालीन माओवादीका कार्यकर्ताले अपहरण गरी ४५ दिनसम्म बन्दी बनाएर राखेका थिए। निर्मम तरिकामा हत्या गरिएका थापाको शव २०६५ साउन २७ गते द्वारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

तीन जना अझै फरार

पत्रकार थापाको हत्यामा संलग्न रहेको भन्दै अदालतबाट दोषी ठहर भएका तीन जना अझै फरार छन्। तत्काल चार जनालाई प्रक्राउ परी कैद सजाय दिइए पनि एक जनालाई प्रहरीले एक वर्षअघि प्रक्राउ गरी कारागार चलान गरेको थियो।

नौ जना अभियक्तमध्ये तत्कालै मात्र नौमुले गाउँपालिका–३ द्वारीका हरिलाल पुनसहित ६ जनालाई कानुनी दायरामा ल्याएको भए पनि तीन जना अझै फरार छन्। फरार तीनै जनालाई पनि छिट्टै कानुनी दायरामा ल्याउन दैलेखका पत्रकारले माग गर्दै आएका छन्।

यस्तै, दैलेखका पत्रकारहरुले ढिलो गरी माओवादीबाट मारिएका पत्रकार थापाका हत्यामा संलग्न अभियुक्त प्रक्राउ पर्ने क्रम जारी रहेको भन्दै न्याय पाउने आशा नमरेको बताएका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here