दुहागढी ।

झापाको दुहागढीमा विगत ३ साता देखि संचालन भई रहेको निःशुल्क स्वास्थ्य परिक्षण तथा परामर्श शिविर शुक्रबार सम्पन्न भएको छ ।
मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालयको आयोजना तथा केएचडिसी नेपाल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा वडाका ९ सय ७२ जनाले निशुल्क मुटु, मृगौला, मधुमेह, उच्च रक्तचाप र फोक्सोको जाँच गराएका नगरपरिषद सदस्य लाल महमद मियाले बताएका छन् । शिविरमा वरिष्ठ मुटु तथा मृगौला रोग विशेषज्ञ प्रा.डा. संजिव कुमार शर्माको नेतृत्वमा एक दर्जन बढी चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।
शिविर समापन कार्यक्रममा सहयोग गर्ने स्वास्थ्यकर्मीहरु, सहयोगी संस्था र रेडक्रसका स्वयमसेवकहरुलाई मायाको चिनो सहित प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा शिविरका संयोजक सुरेश बुढाथोकी, विश्व थापा, दुर्गा धमला लगायतले मन्तव्य राख्दै कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताएका थिए । मेचीनगर १४ का वडा अध्यक्ष शंकर प्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न समापन कार्यक्रमको संचालन कार्यपालिका सदस्य बिन्दा प्रसाईंले गरेकी थिईन ।































