सुरेन्द्र भण्डारी,
झापा।

जाडो महिनामा पारिलो घामको न्यानोसँगै झापाका विभिन्न पर्यटकीय क्षेत्रमा अघिल्ला वर्षहरु प्रकृतिसँग रमाइलो गर्नेको उल्लेख्य भीड हुन्थ्यो । कात्तिक शुरु नहुँदैदेखि बैशाखको अन्तिमसम्म पनि झापाका सबैजसो पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले खचाखच हुन्थे । अझ, झापाको कनकाई नगरपालिकामा पर्ने जामुनखाडी, शिवसताक्षी नगरपालिकाको दोमुखा, अर्जुनधारा नगरपालिकाको सालवारी र मेचीनगर नगरपालिकाको बाँसवारी सिमसार क्षेत्रमा बिदेशी पर्यटकहरुको समेत आवागमन हुने गरेको थियो ।
अझ यो समयमा बनभोज (पिकनिक)का लागि आउने पर्यटकहरुको घुँइचो नै हुने गरेको थियो । कतिपय सिमसार क्षेत्रलाई आएका पर्यटकलाई ‘पिकनिक स्पर्ट’ उपलब्ध गराउन सकस नै हुने गरेको थियो । तर, यो वर्ष झापाका सबै पर्यटकीय क्षेत्र सुनसान छन् । ‘सिमसारबाट धनसार’ बनेका अधिकांश पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरु नजाँदा सबै पर्यटकीय क्षेत्र सुनसान बनेका हुन् ।
कोरोना भाइरसको बढ्दो संक्रमण रोकथामका लागि नेपाल सरकारले गत वर्षको चैत महिनाबाट गरेको लकडाउनका कारण लामो समय पर्यटकीय क्षेत्र पूर्ण रुपमा बन्द रहे । अझ त्यसमाथि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र पर्ने सबै पर्यटकीय क्षेत्रको गतिविधिलाई शून्य राख्न निर्देशन दिएपछि झण्डै नौ महिना बन्द रहेका झापाका पर्यटकीय क्षेत्र भर्खरै मात्र छिटफुट रुपमा सञ्चालनमा आउन थालेका छन् ।
भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै आएका पर्यटकलाई पार्कमा प्रवेश दिए पनि कतिपय सिमसार क्षेत्रले बनभोज स्थललाई खुल्ला गरेका छैनन् । बनभोजस्थल खुल्ला गर्दा भीडभाड बढ्ने र संक्रमणको जोखिम बढ्ने भन्दै झापाका अधिकांश पर्यटकीयस्थलमा बनभोजमा रोक लगाइएको छ । जसका कारण पनि झापामा यो समय पर्यटकीय क्षेत्र सुनसानझैं देखिन्छन् ।
कन्काई नगरपालिकामा पर्ने जामुनखाडी सिमसार क्षेत्रमा अघिल्लो वर्ष यो समय दैनिक औसत एक सय ८६ वटा पिकनिका टोली आउने गरेको थियो । सरदर पाँच सयदेखि हजारको संख्यामा पिकनिक बाहेकका पर्यटकहरु आउने गरेको जामुनखाडी सिमसार क्षेत्र यो वर्ष भने सुनसान रहेको जामुनखाडी बन उपभोक्ता समूहका अध्यक्ष ख्याम सिटौलाले बताए ।
लामो समयको बन्दाबन्दीपछि विस्तारै सिमसार क्षेत्र खुल्दैछन्– अध्यक्ष सिटौलाले भने– हामीले पनि केही समयअघिबाट मात्रै यो सिमसारमा पर्यटकलाई प्रवेश गर्न दिएका हौं । अहिले विस्तारै पर्यटकहरु आउँदैछन् । अघिल्ला–अघिल्ला वर्ष यो बेला आएका पर्यटकलाई थेग्न सक्ने अबस्था रहँदैन थियो । बार्षिक झण्डै २ करोड ५० लाख रुपैयाँको कारोवार गर्दै आएको सिमसार क्षेत्रमा गत वर्षको मंसीरमा मात्रै १८ लाख रुपैयाँको कारोवार भएको थियो– अध्यक्ष सिटौलाले भने – यो वर्ष मुस्किलले दुई लाख रुपैयाँको कारोवार भएको छ ।
पर्यटक घटेका छन्, घुम्न रुचाउँदैनन्– अध्यक्ष सिटौलाले भने– कोभिडको असर यो क्षेत्रमा परेन भन्ने अवस्था नै रहेन, सबै क्षेत्र डामाडोल भयो, पर्यटकीय क्षेत्रको अवस्था पनि त्यसबाट अछुतो रहन सकेन । जामुनखाडी सिमसार क्षेत्रको मात्रै तथ्याङ्क हेर्ने हो भने अघिल्ला अघिल्ला वर्ष यहाँ घुम्न आउने पर्यटकको संख्या दुई लाखको हाराहारी हुने गरेको थियो ।
कोभिडको असरबाट अर्जुनधारा नगरपालिकाको सालवारी पनि अछुतो छैन । यहाँ पनि पर्यटकको आवागमन प्रायः ठप्प नै छ । सुखानी शहीद स्मृति प्रतिष्ठानले सञ्चालन गरेको यो पार्कलाई राजनीतिक दृष्टिकोणले पनि उच्च प्राथमिकतामा राखिएको छ । यहाँ झापा विद्रोहका पाँच जना शहीद नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको पूर्ण कदको शालिक निर्माण गरिएका कारण पनि कम्युनिष्ट पार्टीमा आस्था राख्नेहरु र झापा विद्रोह के हो ? झापा विद्रोहमा के के भयो ? जान्न पनि यो पार्क जाने गरेका छन् । २०२९ फागुन २१ गते इलाम–झापाको सीमावर्ती सुखानी जंगलमा उनीहरुको सामुहिक हत्या गरिएको थियो । उनीहरूलाई झापाबाट इलाम जेल सार्ने बहानामा सुखानीमा पु¥याएर हत्या गरिएको थियो । उनीहरुकै स्मृतिमा यो पार्क तयार गरिएको हो ।
पार्कमा मनोरञ्जनात्मक सामग्री र लोपोन्मुख जीवजन्तुको दृश्यावलोकन समेत गर्न सकिन्छ । जङ्गलभित्र सुन्दर र आकर्षक बाटोको निर्माण, बाल उद्यान, ठूलो पोखरीभित्र बोटिङ, आकर्षक झोलुङ्गे पुल यहाँको विशेषता हो । २२ हेक्टर जमिनभित्र रहेको यहाँ सालको विशाल जंगल रहेको छ । सोही जंगलभित्र पार्क निर्माण गरिएको छ ।
पार्कसँगै रहेको कछुवा उद्धार तथा प्रजनन् केन्द्र पनि यहाँको अर्काे आकर्षणको केन्द्र हो, जहाँ विश्वका दुर्लभ कछुवालाई संरक्षण गरेर राखिएको छ । जैविक विविधताबारे अध्ययन गर्ने थलो भएकाले पनि नेपालका विभिन्न ठाउँबाट बिद्यार्थीहरु आउने गरेका छन् । तर, कोभिडकै कारण यो वर्ष आन्तरिक तथा बाह्य पर्यटकहरु नआएको पार्क व्यवस्थापन समितिका अध्यक्ष टंक बरालले बताए ।
अघिल्ला वर्ष यो समयमा यहाँ बनभोजका लागि आउने पर्यटक मात्रै दिनहुँ ५०÷६० वटा टोली हुन्थे । जसमा दुई हजारभन्दा बढी सहभागी हुने गरेका थिए । वार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्ने यो पार्कका कम्तीमा एक लाख पर्यटकले अध्यनन अवलोकन गर्ने गरेको अध्यक्ष बरालको भनाइ छ ।
कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण पर्यटकीय क्षेत्रमा असर परेको छ नै ती क्षेत्रमा खोलिएका होटल व्यवसायमा समेत असर परेको छ । जिल्लाका विभिन्न स्थानमा रहेका पर्यटकीय क्षेत्रमा दैनिक आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन ठप्प हुँदा त्यसको असर अन्य व्यवसायमा समेत परेको पर्यटन व्यवसायी अर्जुन कार्कीले बताए । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र किच्चकबध, कृष्णथुम्की, अर्जुनधारा जलेश्वरधाम, शिवसताक्षीधाम, कञ्चनगढ गौरीशंकर शिवालय, कनकाई माईमा समेत आन्तरिक तथा वाह्य पर्यटक नआउँदा ती पर्यटकीय क्षेत्र समेत अहिले सुनसान छन् ।
समुद्री सहतबाट ५८ मिटर उचाइमा रहेको नेपालको सबभन्दा होचो ठाउँ मानिने कचनकवल स्तम्भ झापाको अर्काे महत्वपूर्ण पर्यटकीय क्षेत्र भए पनि कोभिडकै कारण नेपाल भारत दुई देशीय सीमा नाका बन्द हुँदा त्यसको असर यहाँको पर्यटन क्षेत्रमा पनि परेको छ ।
झापाको कचनकवल गाउँपालिकामा अवस्थित केचना दक्षिणपूर्व कुनामा र बङ्गालको खाडीबाट सबैभन्दा नजिक छ । केचनामा २०४४ साल पुस १६ गते तत्कालीन राजा वीरेन्द्रको भ्रमणको अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृतिमाथि स्थापना गरिएको थियो । यो स्तम्भ नेपाल–भारत सीमानाको ५ सयमिटर वर रहेको छ । तर, केचना अझैसम्म पनि ओझेलमै छ । यो क्षेत्रमा ४ बिगाह जमिन अत्यन्त होचो भएका कारण वर्षायाममा पानी जमेर दलदलमा परिणत हुने गरेको छ । नेपालकै अल्पसंख्यक आदिवासी गनगार्इँ जातिको समेत बसोबास रहेको केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरी छन् ।
महाभारतकालमा बिराट राजाले राज्य बिस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूका कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ । भीमले किच्चकको वध गरेपछि ती २ पोखरीहरू पुर्न खोजेका थिए भन्ने किम्वदन्ती पनि छ । धार्मिक तथा पर्यटकीयस्थलका रुपमा चिनिएको यो ठाउँमा यस अघिका वर्ष आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरे पनि अहिले यो क्षेत्र सुनसान छ ।
पछिल्लो समय कतिपय पर्यटकीय स्थललाई पालिका आफैंले लगानी गर्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लगेका छन् । निजी क्षेत्रले समेत लगानी गर्दै सञ्चालन गरेका पर्यटकीय क्षेत्र पनि झापामा दर्जनको हाराहारीमा छन् । तर, त्यहाँ पनि पर्यटकीय चहलपहल भने प्रायः शून्य छ ।






























