माओत्सेतुङबाट नेपालीले के सिक्ने ?

0
778

यस वर्षको २६ डिसेम्बरमा १२८औं माओ जयन्ती विश्वभर धुमधामका साथ मनाइयो । यस दिन सिंगो मानवजगत परिवर्तनका लागि माओका योगदानको चर्चाका साथै माओलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रुपमा स्मरण गरिन्छ । माक्र्सवादका सच्चा अनुयायीका रुपमा माओलाई लिने र उनले अघि सारेका विचारलाई सिद्धान्तको रुपमा मानेर माओवादको रुपमा बुझ्नेको पनि संसारभरमा ठूलो संख्या छ । मानिसले मानिस माथि गर्ने सबैखाले अन्याय र उत्पीडनको अन्त्यका लागि माओले पु¥याएका योगदानलाई विश्वभरका श्रमजीवी तथा मजदुरहरुले यस दिनमा स्मरण, मनन् र प्रयोगमा लैजाने प्रण पनि गर्दछन् ।

माओलाई एक सच्चा माक्र्सवादी विचारक, एक दार्शनिक, राजनीतिक तथा क्रान्तिकारी सिद्धान्तकारका रुपमा संसारले स्मरण गर्ने गर्दछ । वास्तवमा माओको जन्मजयन्ती मनाउनु भनेको उनको विचारको रक्षा र विकासको कुरा पनि हो । त्यो मूलतः सर्वहारा वर्गीय विचार हो । माक्र्सवाद–लेनिनवादको थप विकासका क्रममा माओले दर्शनका क्षेत्रमा अन्तरविरोधहरुको नयाँ ब्याख्या, दीर्घकालीन जनयुद्धको सिद्धान्त प्रतिपादन, नयाँ जनवादी सत्ताको निर्माण र गुरिल्ला जनसेना निर्माण तथा त्यसको नयाँ प्रयोग गरे । यसका साथै, मुख्य दुश्मनका विरुद्ध मोर्चा निर्माण र त्यसको कुशलतापूर्वक प्रयोग, वार्ता र लडाइँको द्वन्द्वात्मकताको सही बोध र सफल प्रयोग गरे । जनवादी राज्य व्यवस्थाको समाजवादी राज्य व्यवस्थामा रुपान्तरणका लागि मुख्य गरी नेतृत्व रुपान्तरणको गहिरो ख्याल गर्दै महान सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्त प्रतिपादन गरे । माओले माक्र्सको वर्गसंघर्षको सिद्धान्तलाई चिनियाँ देश, काल र परिस्थितिमा सफलतापूर्वक प्रयोग गरे । प्रयोगका क्रममा माक्र्सवादी विचार सिद्धान्तलाई थप अर्को नयाँ उचाइमा विकसित गरे ।

च्याङ्ग काईशेकको नेतृत्वको अर्धसामन्ती, अर्धपूँजीवादी व्यवस्था र अमेरिकी तथा जापानी साम्राज्यवादको दबदबाविरुद्धमा अढाइ दशक लामो दीर्घकालीन जनयुद्धको बलमा पेकिङ्गको तियनम्यान स्क्वाएरमा हँसिया–हतौडा झण्डा फर्फराउन सफल भए सर्वहारावर्गका नेता माओत्सेतुङ (१८९३–१९७६) । चीन स्वतन्त्र भएदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीमा चलेका घनघोर आन्तरिक संघर्षको क्रममा माओको निधनपछि शक्तिशाली बनेका देंगजियाओपिंगले आधुनिक चीन निर्माण गर्न पुँजीवाद र साम्यवादका खासखास पक्षलाई मिलाएर चिनियाँ मोडलको समाजवादको खाका कोरेर समग्र चीनलाई अलग्गै बाटो दिए । माओ र देंगको योगदानको बलमा संसारकै सबभन्दा शक्तिशाली राष्ट्र बन्ने बाटोमा चीन अघि बढिरहेको परिप्रेक्ष्यमा निकटतम छिमेकी भएर नेपालले आफ्नो प्रगतिका लागि केही न केही सिक्न आवश्यक छ । सिक्नु भनेको अन्धानुकरण होइन, सृजनशीलतासहितको आफ्नो परिवेश अनुसारको हुनु आवश्यक छ । यी सबै कामहरु कसरी सम्भव भए भनेर आज हामी नेपालीले सकारात्मक भावका साथ चिन्तन मनन गर्नु जरुरी छ ।

चीन कल्पनातीत मात्रामा आफ्नो सारा क्षमताका साथ अभूतपूर्व सफलतासहित अगाडि बढिरहेको अवस्थामा नेपाल पनि विश्व परिवेश अनुरुप नयाँनयाँ योजनाका साथ अघि बढ्नु जरुरी छ । प्रश्न नेपाली नेताहरुले चीनबाट के ल्याए वा चीनले नेपाललाई के दियो भन्ने होइन, दुःखको कुरा मगन्ते दृष्टिकोणका आधारमा हामी सोचिरहेका छौं । मूल कुरा के हो भने जनता नै इतिहासका निर्माता हुन् भन्ने भावलाई आत्मसात गर्दै मुक्ति, न्याय र समानताको अभिप्रेरणा प्रदान गर्ने चीन अहिले संसारका साम्यवादी र गैरसाम्यवादी सबै मुलुकका लागि भरोसायोग्य राष्ट्रको रुपमा उभिन सफल भएको छ ।
सात दशकअघि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनको प्रगति सबैका लागि अनुकरणीय रहेको छ आज । १८४० को अफिम युद्ध, १८५१ को ताइपिङ किसान विद्रोह, १८९४ को जापानविरोधी युद्ध, १९०५ को रुसविरोधी युद्धकै क्रममा सन् १९११ मा डा. सन यात्सेनको नेतृत्वमा कुओमिन्ताङले दुई हजार वर्ष पुरानो सामन्ती निरंकुश मञ्चु राजतन्त्रको अन्त गरी गणतन्त्रको स्थापना भयो । सन् १९२१ मा छन् त श्यूको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना गरिएको र स्थापनापछि कम्युनिष्ट पार्टीले राष्ट्रवादी मानिएको कुओमिन्ताङसँग सहकार्य शुरु गरेको थियो, तर कुओमिन्ताङका संस्थापक प्रजातन्त्रवादी नेता सन यात्सेनको सन् १९२५ मा मृत्यु भएपछि कुओमिन्ताङ जमिन्दार, सामन्त, ठूला–ठूला पुँजीपति र प्रतिक्रियावादीहरुको पक्षपोषण गर्ने जनविरोधी प्रतिगामी गुटमा परिणत भयो ।

चिनियाँ कम्युनिष्ट पार्टीले सन् १९२४ देखि १९२७ सम्म पहिलो पटक, सन् १९३१ मा दोस्रो पटक र सन् १९३७ मा तेस्रो पटक पार्टीको लक्ष्य प्राप्त गर्न ठूला अभियान सञ्चालन ग¥यो । माओत्सेतुङले गाउँबाट शहर घेर्ने फौजी कार्यनीतिहरुको सफल ऐतिहासिक प्रयोग गर्दै वर्गसंघर्ष सम्बन्धी माक्र्सवादी प्रस्थापनाहरुलाई चिनियाँ वर्ग अन्तरविरोधपूर्ण समाजमा मौलिक ढंगले माथिल्लो उचाइबाट संश्लेषण गरे । वस्तुगत सामाजिक धरातलमा ऐतिहासिक सम्भावनाको मर्मसहित समग्र कार्यदिशा, कार्यनीति र रणनीतिहरु अख्तियार गरेर मात्र चीनमा क्रान्ति सम्पन्न भएको हो । दक्षिणपन्थी विसर्जनवाद, अवसरवाद, वामपन्थी दुस्साहसवाद, वामपन्थी जडसूत्रीय तथा हुकुमपन्थी प्रवत्ति तथा चिन्तनका विरुद्ध संघर्ष गर्दै सही र वस्तुवादी राजनीतिक कार्यदिशाकै कारण चीनले दासताबाट मुक्ति पाएको हो ।

सन् १९४९ अक्टुबर १ मा नयाँ जनवादी राज्यव्यवस्था स्थापनाको घोषणा गर्दै माओले क्रान्ति सम्पन्न नभएको क्रान्तिको प्रारम्भ भएको बताएका थिए । उनले भ्रष्टाचार, फजुलखर्ची र नोकरशाही ढिलासुस्तीका विरुद्धमा लाग्ने र घुसखोरी, कर भुक्तानीमा धोखाबाजी, राज्यसम्पत्तिको चोरी, सरकारी ठेक्कामा छलकपट, राज्यको सूचनाको चोरी जस्ता अपराधलाई कडाइका साथ नियन्त्रण गरिने बताएका थिए । उनले उत्पादन बढाउने काम जनताको मात्र नभएर पार्टी कार्यकर्ता र सेनाको पनि भएकोमा जोड दिएका थिए । बुर्जुवा उदारवादी र संशोधनवादी धाराविरुद्ध कडा संघर्षकै क्रममा समाजवादी समाज निर्माण गर्ने कि सुधारसहितको पूँजीवादी निर्माण गर्ने सबालमा घनीभूत अन्तर संघर्ष भएको थियो र दोस्रो पञ्चवर्षीय योजना अन्तर्गत १९५८ देखि १९६१ सम्म माओको नेतृत्वमा महान अग्रगामी छलाङ सम्पन्न गरियो र त्यसका लागि मुख्यतः तीव्र औद्योगिकीकरण र ठूला–ठूला कम्यून खेतीको विस्तारलाई जोड दिइएको थियो ।

त्यसैगरी सन् १९६६ देखि १९७६ सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भयो, जसले समाजवाद निर्माणको दिशामा चीनलाई दृढतापूर्वक डो¥यायो । माओले पटक–पटक पार्टीभित्र र बाहिर निम्न पुँजीवादी चिन्तन अनुभववाद, ढुलमुले दक्षिणपन्थी मध्यपन्थी प्रवृत्ति मनोगतवाद, संकीर्णतावाद, तीव्र वा शीघ्र विजय वा परिवर्तनको आशा, क्रान्तिकारी लफ्फाजी, क्षेत्रवाद, आत्मकेन्द्रित व्यक्तिवाद, नोकरशाही कुलीनवाद जस्ता सबै गैरक्रान्तिकारी प्रवृत्तिविरुद्धमा निर्मम संघर्ष गरेका थिए र माओले आजको चीनको आधुनिकीकरणको जग बसाएका थिए । चीनको शिक्षा र अर्थव्यवस्थालाई माओ र झोउ एनलाई जस्ता पहिलो पिँढ़ीका नेताहरुको मृत्युपछि चीनले देंग जियाओपिंग (१९०४–१९९७) को पहलमा राजनीतिक र आर्थिक सुधारको श्रृंखला आरम्भ ग¥यो ।

देंगले चीनको आर्थिक पुनर्संरचनामा सबैभन्दा ठूलो भूमिका खेलेका छन् । उनी दोस्रो पुस्ताका नेतृत्वका लागि एक उदाहरण बने र बजार अर्थतन्त्र र साम्यवादी सोचलाई मिलाएर अघि बढ्न सकिने व्यावहारिक विचारका देंगलाई सुधारका परिकल्पनाकार मानियो । चिनियाँ विशेषतासहितको समाजवादलाई चिनियाँ कम्युनिष्ट पार्टीको आधिकारिक विचारधाराको रुपमा विकास गरियो । सार्वजनिक क्षेत्रलाई प्राथमिकतामा राखेर समाजवादी बजार अर्थतन्त्रलाई विकास गर्न सकिने र शैशव अवस्थामा रहेको समाजवादलाई संस्थागत गरी लैजान चिनियाँ सरकारका उदार तथा लचकदार आर्थिक नीतिहरु अवलम्बन गर्न महत्वपूर्ण भूमिका हुनेमा देङको दृढविश्वास थियो । देङको विचारमा बजार अर्थतन्त्र भनेको पुँजीवादी अर्थतन्त्र होइन र यो शुद्ध समाजवादी अर्थतन्त्र पनि होइन, यो त राज्यको योजनाबद्ध अर्थतन्त्र अन्तर्गतको बजारमुखी ताकतसहितको आर्थिक गतिविधि हो । शास्त्रीय माक्र्सवादका अनुसार पुँजीवादको चरम विकास भएको मुलुकमा मात्र समाजवादी क्रान्ति सम्भव हुन्छ र त्यसले मात्र क्रान्तिको वस्तुगत अवस्था तयार पार्छ ।

यही मान्यतालाई आधार बनाएर चीन अहिले पुँजीवादी अर्थतन्त्रको विकास गर्न चाहन्छ र त्यसलाई समाजवादतर्फ मोड्न चाहन्छ । कम्युनिष्ट पार्टीको सोच माक्र्सवादको नयाँ प्रयोग हो । कतिपयले चीनले अङ्गिगार गरेको माक्र्सवादी बाटो शास्त्रीय माक्र्सवादभन्दा फरक रहेको बताएका छन् । चीनले छोटो समयमा तीव्र आर्थिक विकासको संसारसामु उदाहरण पेश ग¥यो । १९५० को दशकमा माओका मुख्य सहयोगी रहेका देङले शुरु गरेका १९७८ पछिका सुधारका कारण चिनियाँ समाजको मानसिकतामा व्यापक परिवर्तन आएको छ । देशको सामाजिक, राजनीतिक र आर्थिक स्थिरताका लागि सुधारको मुख्य भूमिका रहेको छ । चीनले विकासको क्षेत्रमा आफ्नो गति अर्थशास्त्रका सिद्धान्तले पनि राम्ररी ब्याख्या गर्न सहज नहुने गरी संसारलाई चकित बनाउने गरी बढाइरहेको छ, अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा विकास हुन चाहिरहेको नेपालका लागि यो विशिष्ट उदाहरण हुनसक्छ ।

उद्यमशीलता र दूरदर्शितासहित चीन प्रतिष्पर्धात्मक संसारमा अब्बल साबित हुँदै आफ्नो बजार विस्तारमा लागीरहेको छ । चीनबाट आर्थिक विकासका विविध क्षेत्रमा सहयोगका साथमा हामीले सिक्ने बढी होे । मुलुकमा दिगो र दीर्घकालीन विकास गर्न सक्दा मात्र भविष्यमा मगन्ते अर्थतन्त्रबाट मुक्त संस्कृतिको विकास गर्न सकिन्छ । चिनियाँ विशेषतासहितको समाजवादी राज्यको निर्माणमा वर्तमान राष्ट्रपति सि जिन पिङको नेतृत्वमा चीनअघि बढिरहेको छ । समाजवादी राजनीतिक ढाँचामा लोकतन्त्रको आयामहरु थपेर जनताको सुख र स्वतन्त्रतालाई सँगसँगै लैजाने नितान्त नवीन चिन्तन र प्रयोगको बाटोबाट अघि बढिरहेको चीनबाट आर्थिक, भौतिक, वैचारिक क्षेत्रमा हुन सक्ने सहयोग लिन आवश्यक छ र नेपाललाई भू–परिवेष्ठित मुलुकको रुपमा रहेको भन्दै निराशासहितको कुण्ठाबाट मुक्ति पाउन जरुरी छ । दुबै छिमेकी मुलुकसँग समदूरी, समहैसियत र समभावका साथ मित्रताको डोेरीमा बाँधिन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here