आत्मनिर्णय गर

0
1455

चीनको उच्चस्तरीय प्रतिनिधि मण्डल अहिले राजधानी काठमाडौंमा छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा कानूनी रुपमा मात्रै टुक्रिन बाँकी रहेका बेला चीनका उपमन्त्री गुओ येचौ नेतृत्वको नेपाल भ्रमण र भेटघाटलाई आशंकाको दृष्टिले हेरिएको छ । सत्तारुढ दल चीनको सरकारको प्रभावमा छ र त्यसैले नेकपाको आन्तरिक विवादमा उसको दबाव रहन्छ भन्ने घटनाक्रमहरुले देखाइरहेको पनि छ । यसअघि नेकपाभित्रको विवाद र कलह सतहमा पुग्दा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढ्ने गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार काठमाडौं आएको प्रतिनिधि मण्डलले राष्ट्रपति विद्या भण्डारी र काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई तात्तातै भेटेको थियो । सोमबार उक्त प्रतिनिधि मण्डलले टुक्रिएको नेकपाका अध्यक्षहरुसँग भेट ग¥यो । चिनियाँ सरकारको यस्तो सक्रियता नेपालको आन्तरिक मामिलामा विदेशी प्रभावको टीठ लाग्दो उदाहरण हुनसक्छ ।

नेपालले असंलग्न परराष्ट्र नीति अख्तियार गरेको धेरै भयो । यसअघि पनि शक्ति राष्ट्रहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्थे होला, तर त्यस्तो हस्तक्षेप सतहमा प्रकट भएका थिएनन् । वडा महाराजाधिराज पृथ्वीनारायण शाहले ‘दुई ढुंगाबीचको तरुल’ भनेकै थिए हाम्रो भू–धरातलीय वास्तविकताका लागि । उत्तर र दक्षिण दुबैतर्फका सँग समदूरीमा रहन र तटस्थताको व्यवहार गर्न उपदेश दिएकै हुन् उनले । त्यही आधारमा विश्वमा मौलिक पहिचान र अस्तित्व निर्माण गरेको नेपाल पछिल्लो समय छिमेकीहरुको समेत ‘खेल्ने ठाउँ’ हुन थालेको विकसित घटनाक्रमहरुले पुष्टि गर्दै आएका छन् । छिमेकीले आ–आफ्नो स्वार्थ अनुसार हाम्रा आन्तरिक विषय र मामिलामा हस्तक्षेप गर्ने गरेको यो पछिल्लो उदाहरणलाई विश्लेषकहरुले पनि मुलुकको सार्वभौमिकता र आन्तरिक सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै चिन्ता प्रकट गरेका छन् ।

नेकपा जब फुटको संघारमा पुग्छ तब–तब चिनियाँ राजदूत यान्छीको घरदैलो अभियान तीब्र हुन्छ । यसअघि उनकै अग्रसरतामा चोइटिनबाट जोगिएको नेकपा अहिले भने कानूनी रुपले मात्र फुट्न बाँकी छ । यस्तो बेला निर्वाचन आयोग दुई–चार दिन मौन बसिदिँदा ‘फुटेको सिसा’ फेरि जोडिने सम्भावना पनि हुनसक्छ ! दुईतिहाई नजिकको सत्तारुढ दलले शान्ति, स्थिरता र समृद्धि दिने जनअपेक्षा थियो र छ, तर सत्ता स्वादले यी सबैबाट नेतृत्व वर्गलाई निरपेक्ष बनाउँदा अनि सत्ता मोहबाट विमुख हुन नसक्दा जन्मिएको वर्तमानको संकट राष्ट्रको हितमा भने छैन । एकता, सहकार्य, समझदारी नै राष्ट्रको आवश्यकता हो । तर, यसका लागि विदेशीकै आशा गर्नुपर्ने अवस्थाले राष्ट्रिय आवश्यकता पूरा हुन सक्दैन । चिनियाँ प्रतिनिधि मण्डलको यो सक्रियता नेपाल र नेपाली जनताको पक्षमा होइन, छैन र हुँदैन पनि । प्रत्येक समस्याको समाधानका लागि प्रभु गुहार्ने प्रवृत्तिले आफैंलाई हानी गर्छ ।

पछिल्लो समय नेपालमा अमेरिकी चासो पनि बढ्दै गएको छ । मिलीनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी अमेरिकी चासोको उदाहरण हो भने नेकपा त्यही विषयमा समेत विभाजित भइसकेको छ । सरकार एमसीसी लागू गरेरै छाड्ने दृढतामा छ भने सत्ता बाहिर मतैक्य छैन । नेपाललाई आफ्नो प्रभावमा पार्न भारत र चीन दुबै देशको प्रतिष्पर्धा नै छ । नेकपालाई दुई तिहाईको दल बनाउन तत्कालीन माओवादी केन्द्र र एमालेका बीच एकीकरण गर्न चीनको भूमिका थियो । तर, पछिल्लो समय भारतीय सरकारका उच्च तहका प्रतिनिधिहरुको नेपाल भ्रमणलाई भारतीय प्रभाव विस्तारको रुमपा हेरिएको थियो । स्वतन्त्र, स्वाधीन र सार्वभौम राष्ट्रको विशिष्टतालाई नेतृत्व वर्गले गम्भीरतापूर्वक लिएनन् भने त्यो हाम्रो पक्षमा हुँदैन । त्यसउसले आफ्नो समस्याको समाधान आफ्नै बलबुताबाट गर्ने क्षमता तत्कालको आवश्यकता हो । यसतर्फ राजनीतिक दलहरु सचेत होउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here